देशको मुख्य सचिव नै भ्रष्टाचारी ! अर्बौ घोटालामा अख्तियारले मुद्दा दर्ता गर्दै
काठमाडौं । देशका मुख्य सचिव नै भ्रष्टाचारी भएपछि अरु कर्मचारीहरुको हालत के होला ? त्यसो त मुख्य सचिव भ्रष्टाचारी भएकै कारण अन्य सबै सरकारी कर्मचारीहरुलाई भ्रष्टाचारीको आरोप लगाउन पनि हुँदैन । लामो समयको प्रतिक्षापछि अन्ततः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य सचिव बैकुण्ठ अर्याललाई टेरामक्स काण्डमा घोटाला गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गर्ने निर्णय गरेको छ ।
आयोगले तत्कालिन सञ्चार सचिव र हालका मुख्य सचिव बैकुण्ठ अर्यालले भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गर्ने निर्णय गरेको हो । अख्तियारले मुद्दा दर्ता गरे लगत्तै निलम्वनमा पर्नेछन् ।
प्राधिकरणले ‘कल बाइपास’ रोक्न र राजस्व चुहावट नियन्त्रण गर्न टेरामक्स खरिद गर्दा डेढ अर्ब अनियमितता भएको उजुरी परेको थियो । सो काण्डमा तत्कालिन सञ्चार मन्त्रीहरु मोहन बहादुर बस्नेत, ज्ञानेन्द्र बहादुर कार्कीहरुमाथि पनि मुद्दा लाग्नेछ । टेरामक्समाथि लामो समयदेखि अख्तियारले अनुसन्धान गरिरहेको थियो । उक्त अनुसन्धान केही महिना अघि नै सकिएको भएपनि अहिले आएर मुद्दा दर्ता गर्न लागिएको हो ।
स्रोतका अनुसार कर्मचारीहरुको सर्वोच्च निकाय मुख्य सचिव पदमा बहाल रहेको बेलामा मुद्दा दर्ता गर्दा गलत सन्देश जाने भन्दै केही समय मुद्दा दर्ता गर्न रोकिएको थियो । तर, अहिले एकाएक मुद्दा दर्ता गरिनुलाई सेबोनको अध्यक्ष नियुक्ती प्रक्रियासँग जोडेर हेर्न थालिएको छ ।