नेपालको सार्वजनिक ऋण २४ खर्बभन्दा बढी, आन्तरिक र बाह्यतर्फ कति ?

७ असार २०८१, शुक्रबार १३:३४

काठमाडौँ। नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब माथि रहेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०।८१ को जेठ मसान्तसम्ममा आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ १२ खर्ब सात अर्ब ८६ करोड बराबर रहेको हो ।

चालु आवको सुरुआत अर्थात २०८० असार मसान्तमा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड बराबर थियो । चालु आवको ११ महिनामा मात्र १ खर्ब ९९ करोड बराबर ऋण थपिएको हो । हालसम्मको कुल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४९.६८ र बाह्य ऋणको हिस्सा ५०.३२ प्रतिशत छ ।

बाह्य ऋणतर्फ बहुपक्षिण ऋणदातालाई १० खर्ब ७१ अर्ब ११ करोड र द्विपक्षीय ऋणदातालाई १ खर्ब ३६ अर्ब ७४ करोड बराबर तिर्न बाँकी छ । त्यस्तै, आन्तरिक ऋणतर्फ विकास बण्डको दायित्व सबैभन्दा बढी ७ खर्ब ६४ अर्ब ९४ करोड बराबर छ । हालसम्मको ट्रेजरी बिलको दायित्व ४ खर्ब १२ अर्ब ६९ करोड, नागरिक बचतपत्रको दायित्व १० अर्ब ७५ करोड, वैदेशिक रोजगारी बचतपत्रको दायित्व १७ करोड र आईएमएफ बण्डको दायित्व ३ अर्ब ९१ करोड बराबर छ ।

चालु आर्थिक वर्षका लागि सरकारले कुल ४ खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको थियो । जसमध्ये आन्तरिक ऋण २ खर्ब ४० अर्ब र बाह्य ऋण २ खर्ब १२ अर्ब ७५ करोड उठाउने लक्ष्य थियो । गत वैशाख मसान्तसम्ममा सरकारले आन्तरिकतर्फ २ खर्ब २५ अर्ब र बाह्यतर्फ ८२ अर्ब ६७ करोड बराबर ऋण उठाइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*