बजेटअपेक्षा अनुरुप नआएको प्रधानमन्त्री प्रचण्डको स्वीकार
काठमाडौँ । संसदमा पछिल्ला केहि दिन यता आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट माथि सांसदहरुले चर्को विरोध गरिरहेका छन् । प्रतिपक्षसँगै सत्ता पक्षका सांसदहरुले बजेट माथि विरोध गरी रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत बजेटअपेक्षा अनुरुप रुपान्तरण गर्न नसकिने बताएका हुन् ।
प्रतिनिधि सभाको प्रश्न उत्तरमा जवाफ दिदै प्रचण्डले आगामी आर्थिक वर्षको बजेट आफूले अपेक्षा गरेअनुरुप रुपान्तरण गर्न नसकेको बताएका हुन् । कांग्रेस सांसद तेजुलाल चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले संसदको काम, कारबाही नियमित रूपमा सुचारु हुन नसक्दा नीति तथा कार्यक्रममा पर्याप्त छलफल हुन नसकेको बताएका हुन् । उनले पर्याप्त छलफल हुन नसक्दा आफूले अघिल्लो वर्ष नै घोषणा गरेअनुरुप बजेट तर्जुमा प्रक्रियालाई रुपान्तरण गर्न नसकेको बताए ।
प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा समेटिएका विषयलाई बजेटमा तालमेल कायम गर्ने कोसिस गरिएको बताए । उनले थारूलगायत आर्थिक र सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्न सरकार गम्भीर रहेको बताए ।
अहिले आगामी आर्थिक वर्षको बजेट माथि सडकदेखि सदनमा विरोध हुँदै आइरहेको छ । अर्थमन्त्री वर्षमान पुनले राखेका सल्लाकार, प्रेस सल्लाकार र स्वकिय सचिवका कारण बजेट राम्रो आउन नसकेको भन्दै आलोचना भइरहेको छ ।