धितोपत्र बोर्ड अध्यक्ष सिफारिसबारे गठित समितिले लिखित सुझाव माग्ने
काठमाडौं । पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्ष सिफारिसबारे गठित समितिले महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव माग गर्ने निर्णय भएको छ ।
समितिको बैठकले महान्यायाधिवक्ता कार्यालयबाट अध्यक्ष सिफारिसबारे लिखित सुझाव माग गर्ने निर्णय गरेको हो । प्रक्रिया नै रद्द गरेर नयाँ थाल्ने वा दुई जनाको नाम सिफारिस गर्ने वा अंकका आधारमा तीन जनाको नाम सिफारिस गर्नेबारे महान्यायाधिवक्ताको कार्यालयले दिएको सुझावअनुसार समितिले निर्णय गर्ने तयारी भएको छ।
बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्नैपर्ने धितोपत्र सम्बन्धी ऐनमा उल्लेख छ । तीन जना उपस्थित नभएको कारण उक्त निर्णय गर्न परेको हो । ऐनको दफा ७ को उपदफा ४ मा भनिएको छ, ‘समितिले नाम सिफारिस गर्दा यस ऐनबमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्नेछ ।’
सर्टलिस्टमा परेका अध्यक्षका उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले आइतबार कार्यायोजना प्रस्तुती तथा अन्तर्वार्ता दिए पनि बाँकी तीन जना बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित भए । दोस्रोपटक पनि बोलाईएको अन्तवार्तामा नआएपछि यो कदम चाल्न लागिएको हो ।