शेयर बजारमा सङ्कुचन देखिदा राज्यले गुमाउँदै करोडौँ राजस्व, के नीतिगत अस्थिरता नै बाधक हो ?

दिपक विष्ट
५ असार २०८१, बुधबार १२:३५

काठमाडौँ । शेयर बजार नीतिगत अवरोधको चेपुवामा परेको छ । बजारले निरन्तर ओरालो गति लिँदा त्यसको प्रत्यक्ष असर राज्यले प्राप्त गर्ने राजस्वमा गरी रहेको छ । नियामकको नजरमा पुँजी बजार नपर्दा राज्यले नै घाटा व्यहोर्न गरिरहेको हो । लगानीकर्ता लामो समयदेखि केही नीतिगत सुधारको माग गरी रहेका छन् । तर, राष्ट्र बैंकले बेवास्ता गर्दा राजस्व प्राप्ति पनि घटी रहेको छ ।

शेयर बजारमा सबैभन्दा ठुलो भूमिका लगानीकर्ताको मनोबलको हुने गर्दछ । शेयर बजारको शत्रु भनिने बैंकहरुको ब्याजदर निरन्तर ओरालो लाग्दा समेत बजारले गति लिन सकेको छैन । जसको कारण लगानीकर्ताको मनोबल कमजोर हुँदै गइरहेको छ । लगानीकर्तालाई लगानीयोग्य वातावरण सिर्जना नहुँदा लगानी गर्ने डराइ रहेको अवस्था छ । सोही कारण मार्केटबाट राज्यले प्राप्त गर्ने राजस्वमा पनि कमी आएको हो ।

चालु आर्थिक वर्षको ११ महिनासम्ममा सरकारले शेयर कारोबारबाट ४ अर्ब ८५ करोड ७२ लाख ९३ हजार रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ । पुँजी बजारमा आएका अनेकौँ उतार–चढावले बजारले सुधार तिर लम्किन दिएन । जसको प्रत्यक्ष पुँजीगत लाभकरमा परेको हो ।

चैतको तुलनामा वैशाखमा २४.९६ प्रतिशतले घट्यो कर

बजारले गति नलिँदा शेयर बजारबाट उठ्ने करको आकार निरन्तर घट्दै क्रममा रहेको छ । कुनै पुँजीगत लाभकर एक महिनामा नै करिब १ अर्ब रुपैयाँ नजिक पुग्ने अवस्था रहेको थियो । तर, पछिल्लो समय भने कर निरन्तर ओरालो लागि रहेको छ ।

चैतको तुलनामा वैशाखमा पुँजीगत लाभकर २४.९६ प्रतिशतले घटेर वैशाखमा ३६ करोड २७ लाख ४२ हजार सङ्कलन भएको छ । चैतमा भने पुँजीगत लाभकर चैत महिनामा ४८ करोड ३४ लाख ३९ हजार रुपैयाँ सङ्कलन भएको थियो ।

कुन महिना कति आयो राजस्व ?

सिडिएससीका अनुसार सबैभन्दा बढी पुँजीगत लाभकर माघ महिनामा उठेको छ । माघमा ९७ करोड २० लाख ३ हजार रुपैयाँ पाएको छ । यस्तै पुस महिनामा ७४ करोड ३९ लाख १३ हजार, जेठ महिनामा ७० करोड ४२ लाख ५२ हजार रुपैयाँ रहेको रहेको थियो ।

यस्तै फागुनमा ४४ करोड ९ लाख २२ हजार, साउनका ४० करोड ८ लाख ९१ हजार, वैशाखमा ३६ करोड २७ लाख ४२ हजार, मङ्सिर महिनामा ३० करोड ५३ लाख २४ हजार, असोजमा २१ करोड ९५ लाख ७९ हजार, भदौमा १४ करोड ६९ हजार र कात्तिक महिनामा ८ करोड ४१ लाख ५४ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको छ ।

शेयर बजारबाट एक वर्ष वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले राज्यलाई ७।५ प्रतिशत र एक वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको शेयरमा आएको नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।

शेयर बजारको अभिभावक भेटिएन्

नेपालमा धितोपत्रको कारोबारबाट प्राप्त हुने पुँजीगत लाभमा कर लाग्ने प्रचलन २०५८ साल साउन १ गतेदेखि सुरु भएको हो । लगानीकर्ताको मनोवैज्ञानिकले राज्यलाई घाटा हुने इतिहासले केलाउँदा प्रस्ट हुन्छ । कुनै समाचार, राज्यका नीति र सरकार बन्ने कुराले शेयर बजारमा निकै उतार चढाव देखि रहेको छ ।

बजारले लय लिन नसकेको गुनासो लगानीकर्ताहरूको रहँदै आइरहेको छ । शेयर बजार समस्यामा हुँदा नियामक निकायले अभिभावक भूमिका खेल्न नसकेको लगानीकर्ता राधा पोखरेलले बताइन् । उनले शेयर बजारका ६२ लाख लगानीकर्तालाई राज्य भएको अनुभूति नै नभएको तर्क राखिन् । उनले भनिन्, ‘लगानीकर्ताको माग सम्बोधन हुन सकेको छैन । बजेट मार्फत समेत सम्बोधन हुने आस थियो तर भएन । अब हामी मौद्रिक नीतिको प्रतीक्षामा छौँ ।’

शेयर बजारमा ठुलो हिस्सा ओगटेको बैङ्किङ सेक्टरको शेयर मूल्य ओरालो लागि रहेको छ । जसले गर्दा लगानीकर्ताले अर्बौँ रकम गुमाइरहेका छन् । मौद्रिक नीति समीक्षापछि बैंकहरुलाई आफूले लगानी गरेको धितोपत्रहरु एक वर्ष पुगेपछि २० प्रतिशतसम्म बिक्री गर्न दिने नीति लिएको छ । यसअघि १ प्रतिशत मात्र बिक्री गर्न पाइन्थ्यो । यस प्रावधानले बैंकहरुले सेयर खरिद बढाउन सक्ने अनुमान गरिएको थियो । तर, बैङ्किङ सेक्टर अझै माथि उठ्न सकेको छैन । जसले राज्यले मार्केटबाट प्राप्त राजस्व खस्किँदो यात्रामा रहेको छ ।

राज्यले शेयर बजार बारे लिने नीतिले नै शेयर बजार सङ्कुचित भइरहेको लगानीकर्ता छोटलाल रौनियार बताउँछन् । नेपाल राष्ट्र बैंकले लगाएका केहि नीति सुधार गरे शेयर बजार आफ्नै गतिमा अघि बढ्ने उनको तर्क छ । शेयर बजार अर्थतन्त्रको मेरुदण्ड रहेको बताउँदै राज्यले आवश्यक सुधार तिर ध्यान दिनुपर्ने रौनियारले बताए ।

शेयर बजारलाई लयमा ल्याउनको लागि ४ वर्षको भिजन भएको बोर्ड अध्यक्ष चाहिएको लगानीकर्ता तुलसीराम ढकाल बताउँछन् । पुँजी बजारलाई बुझेको र लगानकर्ताको हितमा काम गर्ने सक्ने व्यक्ति धितोपत्र बोर्डमा आए राज्यलाई पनि राजस्वमा ठुलो योगदान हुने उनको भनाइ रहेको छ । अहिले राज्यको केहि नीतिको अन्यौलले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको ढकालले बताए ।

शेयर बजारले गति लिने वातावरण राज्यले तयार गर्नु पर्ने भनाइ लगानीकर्ताको रहँदै आइरहेको छ । अहिले राष्ट्र बैंकको आश्वासनले लगानीकर्ताको घाउमा थोरै भए पनि मलम लागेको छ । गभर्नर महाप्रसाद अधिकारीले अबको मौद्रिक नीति खुकुलो आउने तर्क सार्वजनिक कार्यक्रममा नै बताउँदै आए पनि पछिल्लो समय शेयर बजार केहि लयमा फर्किएको छ । अबको बजारको यात्रा साउन पहिलो साता तिर आउने मौद्रिक नीतिले तय गर्ने देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*