औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न आवश्यक छ : प्रधानमन्त्री

४ असार २०८१, मंगलवार ११:२०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशका विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गरेका छन्। काठमाडौंमा आजदेखि सुरु भएको विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडा) को परिपूरण बैठक (आइडा–२१) बैठकको उद्घाटन गर्दै उनले विकासमा चुनौती खेपिरहेका देशहरुलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउनु पर्दछ भने ।

“स्रोत, प्रविधि र लगानीको न्यायसङ्गत पहुँच प्रदान गरेर विकासको गतिमा चुनौतीहरु सामना गरिरहेका देशहरुलाई सहयोग गर्नुपर्छ, विद्यमान असमानताहरु सम्बोधन गर्नुपर्छ, अनिमात्र समावेशी आर्थिक अवस्थाको प्रवर्द्धधन गर्न सकिन्छ”, प्रधानमन्त्री दाहालले भने, “ती राष्ट्रहरुलाई माथि उठाउनेमात्र नभई विश्वव्यापी स्थिरता र आर्थिक सहनशीलतामा योगदान पुर्याउनका लागि पनि ती देशहरुको दिगो विकासका पहलहरुलाई समर्थन गर्नुपर्छ, सहयोग गर्नुपर्छ ।”

समावेशी आर्थिक विकासका लागि गरिएका एकीकृत प्रयास गर्दागर्दै पनि राजस्वका सीमा, व्यापारघाटा एवं बढ्दो ऋणको दायित्वहरूको सामना गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले दिगो विकासका लक्ष्य (एसडिजी), राष्ट्रिय रुपमा निर्धारण गरिएका लक्ष्य (एनडिसी) र दिगो पूर्वाधार विकासमा वित्तीय स्रोत अपुग रहेको बताए ।

उनले अतिरिक्त रोजगारका अवसरहरु सिर्जना गर्न, आर्थिक गतिविधि तीव्र रूपमा अगाडि बढाएर अतिकमविकसित मुलुकबाट स्तरोन्नति हुनका पनि सहुलियतपूर्ण सहायता आवश्यक रहेको उल्लेख गरे ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*