सेञ्चुरी बैंंकको खुद नाफा ६ प्रतिशतले गिरावट, वितरणयोग्य मुनाफा ५९ करोड माथि
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा घट्न पुगको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७५ करोड ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६.७७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्ममा बैंकले ८० करोड ४५ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।
साथै बैंकको खुद ब्याज आम्दानी समेत घट्न पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा बैंकले २ अर्ब ६९ करोड ५२ लाख ४३ हजार खुद ब्याज आम्दानी गरेकोमा ३.२९ प्रतिशतले घटेर गत वर्ष यस्तो आम्दानी २ अर्ब ६० करोड ६५ लाख ६९ हजार रुपैयाँमा सिमित भएको छ ।
बैंकको कुल संचालन मुनाफा भने सामान्य बढ्न पुगेकोमो समिक्षा अवधिसम्ममा १४.९० प्रतिशत घटेर १ अर्ब ३ करोड ४५ लाख ४५ हजार रुपैयाँमा सिमित भएको छ भने वितरणयोग्य मुनाफा ४८.६२ प्रतिशत बढेर ५९ करोड ४६ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा बैंकको निक्षेप ४३.१५ प्रतिशत बढेर ९३ अर्ब ४९ करोड ६६ लाख २८ हजार रुपैयाँ र कर्जा ३४.३० प्रतिशत बढेर ७८ अर्ब ९ करोड ६७ लाख ९२ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिसम्मका बैंकको चुक्ता पूँजी ७.३६ प्रतिशत बढेर ९ अर्ब ३ करोड ४४ लाख ३० हजार रुपैयाँ रहेकोमा जगेडा कोष ६.१४ प्रतिशत घटेर २ अर्ब १ करोड ८० लाख २८ हजार रुपैयाँ कायम भएको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि घटेर ८ रुपैयाँ ३० पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३४ पैसा रहेको छ ।