सूर्यज्योति लाइफको शेयर बेचेर बाहिरिँदै एनआईसी एशिया बैंक
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले कम्पनीको तीन लाख कित्ता शेयर बिक्रीमा राखेको हो । सुर्य ज्योति लाइफमा ठूलो रकम संस्थापक शेयरधनी रहेको बैंकले सो बीमा कम्पनीको गतिविधि शंकास्पद लागेको भन्दै शेयर बिक्री गरेर बाहिरिन लागेको हो । बैंकका अनुसार सुर्यज्योतिको शेयर यसअघि नै बिक्री गर्ने प्रयास गर्दा पनि नसकेपछि पुनः बिक्री गर्न लागिएको हो ।
यो शेयर संस्थापक शेयरधनी, सर्वसाधारण, कम्पनी तथा संघसंस्थाहरूले किन्न पाउनेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ । यो शेयर खरिदका लागि आवेदन दिँदा घटीमा पाँच हजार र बढीमा उल्लेखित सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
शेयर खरिद गर्न चाहनेले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालयका साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।
बोलपत्र आज असार ४ गते देखि ११ गते कार्यालय समयसम्म खरिद गर्न सकिनेछ ।