बंगलादेशसँग नेपाल पराजित

३ असार २०८१, सोमबार ०८:५२

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ मा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ ।

सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङ पाएको बंगलादेशले १९.३ ओभरमा अल आउट हुँदै १०७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्यलाई पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको हो । जितसँगै बंगलादेश भने सुपर ८ मा पुगेको छ ।

नेपालका लागि कुशल मल्लले ४० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २ चौका र १ छक्कासहित २५ रनमा आउट भए । बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसनले नेपालको प्रमु्ख ब्याटरहरूलाई धराशायी पारेपछि नेपाल दबाबमा परेको थियो ।

ओपनर आसिफ शेखले १४ बलमा ४ चौकासहित १७ रन, कुशल भुर्तेलले ४ रन, अनिल साह शून्य, रोहित पौडेल र सन्दीप जोराले १–१ रन मात्र जोड्न सफल भए । प्रमुख ब्याटर धराशायी हुँदा ७ ओभरमा २६–५ को अवस्थामा पुगेको नेपाल दीपेन्द्र र कुशल मल्लले छैटौं विकेटका लागि ५८ बलमा ५२ रनको महत्वपूर्ण साझेदारी गरेपछि लयमा फर्किएको थियो ।

गुलशन झा, सोमपाल कामी र अभिनाश बोहरा शून्य रनमा आउट भए । योसँगै नेपाल जारी टी२० २०२४ विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*