२०५१ सालदेखि बीमा नियमनको भूमिका निभाएर विदा भइन् सहायक निर्देशक सुनिता कार्की

२ असार २०८१, आईतवार १२:१९

नेपालले २०५१ सालमा लिएको आर्थिक उदारिकरण सँगै बीमा व्यवसायमा समेत नीजि क्षेत्रले चहलपहल सुरु गर्दा सुनिता कार्की तत्कालिन बीमा समितिमा प्रवेश गरेकी थिइन् । २०५१ सालमा पहिलो लटमा कर्मचारी भर्ना हुनेको सूचिमा थिइन् सुनिता कार्की ।

नेपालमा भर्खरै निजि क्षेत्र अघि बढेको र सो वेला बीमा क्षेत्र बामे सर्दै गरेको  अवस्थामा थियो । बीमा क्षेत्र विस्तारको पहिलो चरणमा कार्कीले करिअर सुरुवात गरेर आजको अत्याधुनिक बीमा सेवामा समेत प्रभावकारी नियमन गरेर ३० वर्षे सेवा अवधी पुरा गरेर विदा भएकी छिन् ।

सर्वप्रथम त नियुक्ति लिएपछि बीमा बुझ्न धेरै नै समय लागेको उनी बताँउछिन् । काम गर्दै सिक्दै आज यो स्थानसम्म आइपुग्दा आफूलाई र बीमा प्राधिकरणलाई आकाश जमिनको फरक रहेको वृतान्त उनी सुनाँउछिन् ।

सहायक पदबाट बीमा समितिमा प्रवेश गरेर सहायक प्रथम हुँदै आजको सहायक निर्देशकसम्म बीमा प्राधिकरणमा तय गरेको यात्रालाई अविस्मरणीय रुपमा उनी सम्झन चाहन्छिन् । यो यात्रामा बिट मार्दै नयाँ पींढिलाई जिम्मेवारी हस्तान्तरण गरेर जान पाउदा निकै खुसी भएको उनी सुनाउछिन् । खासमा उनी उप निर्देशकसम्म हुनुपर्ने थियो । तर, उनको यात्रा सहायक निर्देशकबाटै टुंगिएको छ ।

कार्कीले २०५१ साल असार १ गते तत्कालिन बीमा समितिमा नियुक्ती पत्र लिएर काम सुरु गरेकी थिइन् । सो समय सरकारी जागिरमा प्रवेश गर्न त्यत्ति सजिलो भने थिएन । बीमा समिति आफैले विज्ञापन खुलाई परिक्षा लिने गर्दथ्यो । लिखित परिक्षा र अन्तर्वार्ता दुवै समितिले नै लिने गरेको कार्कीले बताइन् । २०५१ सालमा उनी सहित ५ जनाले समितिमा प्रवेश गरेका थिए ।

उनले समितिमा प्रवेश गरेको समयमा कर्मचारी एकदमै थोरै थिए । खासमा नियमन गर्नुपर्ने कम्पनीको संख्या पनि थोरै थियो । यसले गर्दा हरेक कर्मचारीले २÷३ वटा विभागको काम सम्हाल्नु पर्दथ्यो । उक्त समय महिला कर्मचारीको संख्या नगन्य नै थियो । महिला कर्मचारी नै भएको कारण विभेदपूर्ण वातावरण भने उनले कहिल्यै महसुस गर्नु परेन ।

उनले जागिर सुरु गरेदेखि अवकाश लिने बेलासम्ममा करिब ५ जना अध्यक्षले कार्यभार सम्हाले । सबै अध्यक्षको कार्यकालमा काम गर्ने वातावरणमा खासै फरक नभएको सुनिताको अनुभव रहेको छ ।

तत्कालिन समयमा समितिको आकार सानो थियो, कर्मचारी पनि थोरै थिए भने चूनौती पनि थोरै नै थियो भने आज बीमा प्राधिकरणको रुपमा एक विशाल र देशकै सशक्त नियामक निकायको रुपमा सयौं कर्मचारीहरुसहित स्थापित भइसकेको छ । बीमाको जोखिम र दायरा साँघुरो बेलादेखि आजसम्म आइपुग्दा बीमा क्षेत्रमा आफूले धेरै कुराहरु सिक्ने मौका पाएको सुनिता कार्कीको अनुभव छ ।

सरकारीस्तरबाट सञ्चालन भएतापनि सुरुवाती अवस्थामा प्राधिकरण भाडाको भवनमा बसेको थियो । कपनको कार्यालयमा केही सहज भएपनि अहिले अहिले प्राधिकरणको आफ्नै भवन निर्माण भइरहेकोले यसलाई उपलब्धिको रुपमा लिन्छिन् उनी । साथै समिति प्राधिकरणमा परिणत हुनु र यसको कार्यक्षेत्र थप फराकिलो हुनुलाई पनि उपलब्धिको रुपमा हेर्छिन् ।

बीमा समिति हुँदै प्राधिकरणको सहायक निर्देशकसम्मको यात्रामा आइपुग्दा सहयोग गर्नुहुने, पूर्व अध्यक्षहरु, पूर्व कार्यकारी निर्देशकहरु, निर्देशकहरु, उप निर्देशकहरु सबैमा धन्यावाद तथा आभार व्यक्त गरेकी छन् । साथै आगामी दिनमा बीमा क्षेत्रमा अझै केही गर्ने सोचका साथ अझै उत्साह नहराएको भूतपूर्व सहायक निर्देशक सुनिता कार्की आफ्नो अनुभव सुनाउँछिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*