नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असार २ गते अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असार ४ गते बुक क्लोज गर्दैछ । भोलि सोमबार सरकारले सार्वजनिक बिदाको घोषणा गरेकाले नेप्से बन्द रहने छ । जसकारण आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउने भएका हुन् ।
कम्पनीले २३औं र २४औं वार्षिक साधारणसभा असार १८ गते गर्ने भएको छ । कम्पनीको जेठ २८ गते बसेको संचालक समितिको बैठकले सभा वीरगञ्जस्थित होटल भिष्वामा बिहानको ९ बजेदेखि बस्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष (आव) को लागि संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत (कर प्रयोजन सहित) को नगद लाभांश वितरण गर्न स्वीकृत गर्नेछ ।
आव २०७८।७९ र २०७९।८० को वार्षिक कार्य प्रगति र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै आव २०७९।८० को लागि लेखापरीक्षकलाई गरिएको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित पारित गर्नेछ । कम्पनीको संचालक समितिमा संस्थापक समूह ‘क’ बाट ३ जना, समूह ‘ख’ बाट ३ जना र १ जना स्वतन्त्र संचालक नियुक्ति गर्ने र संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।