विद्युत् प्राधिकरणले सुदूरपश्चिमले महसुल नबुझाउने ३ हजार बढीको लाइन काट्यो
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा महसुल बुझाउन अटेर गर्ने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको हो ।
प्राधिकरणले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सुदूरपश्चिमका नौवटै जिल्लाका ३ हजार ७ सयभन्दा १२ जना ग्राहकको लाइन विच्छेद गरेको जनाएको छ । सुदूरपश्चिमका नौवटै जिल्लाका महसुल नबुझाउने ग्राहकका कारण करोडौँ रकम बक्यौता रहेपछि प्राधिकरणले लाइन विच्छेद गर्न थालेको नेपाल विद्युत् प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जङ्गबहादुर चन्दले बताए।
उनका अनुसार चालु आर्थिक वर्षको सो अवधिमा ६ करोड ३५ लाख रुपैयाँ बक्यौता रकममध्ये लाइन विच्छेद गरेर ४ करोड ५० लाख रुपैयाँ महसुल असुल गरिएको छ । लामो समयदेखि महसुल तिर्न अटेरी गर्दै आएका ग्राहकलाई महसुल तिर्न पटकपटक ताकेता गर्दा पनि तिर्न आनाकानी गरेपछि बाध्य भएर लाइन विच्छेद गर्नुपरेको निर्देशक चन्दले बताए ।