निर्देशिकाको धज्जी उडाउँदै शिखर नगरपालिका, एक वर्षमा खाना खाजामा ३३ लाख रुपैयाँ स्वाहा

दिपक विष्ट
३१ जेष्ठ २०८१, बिहीबार १७:२३

काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिकाले एक वर्षको अवधिमा खाना खाजामा करिब ३३ लाख रुपैयाँ खर्च गरेको छ । महालेखा परीक्षकको प्रतिवेदन २०८० अनुसार नगरपालिकाले खाना र खाजा लगायतमा ३२ लाख ९५ हजार ११४ रुपैयाँ स्वाहा पारेको हो ।

महालेखाले खाना र खाजामा नगरपालिकाले अत्याधिक खर्च गरेको निष्कर्ष निकालेको छ । उक्त खर्चले पालिकाको पूँजीगत खर्चमा असर पर्ने हुँदा यस्ता खर्च नियन्त्रण गर्ने तर्फ पालिकाले ध्यान दिनुपर्ने महालेखाले जनाएको छ । यता, सभा संञ्चालन तर्फ १ लाख १३ हजार २२० रुपैयाँ नगरपालिकाले खर्च गरेको देखिएको छ ।

प्रत्येक वर्ष खाना खाजामा ठुलो खर्च भइरहेको आरोपकाबीच नगरपालिकाले गत वर्ष भन्दा कम गरे पनि खर्च नियन्त्रण गर्ने अझै सकेको छैन । महालेखा परीक्षकको प्रतिवेदन २०७९ अनुसार नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ अनुसार नगरपालिकाले खाना खाजा तथा विविध खर्चमा ४७ लाख ३५ हजार ५५७ रुपैयाँ खर्च गरेको थियो । आजै पनि उक्त खर्च नियन्त्रणमा आउन सकेको छैन ।

कांग्रेस निकट पत्रकारहरुको भवनमा निर्माणमा करिब तीन लाख खर्च

नीति नियमको धज्जी उडाउँदै शिखर नगरपालिकाले नेपाली कांग्रेस निकट पत्रकार संगठन प्रेश युनियनको भवन निर्माणमा २ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ । स्थानिय सरकार सञ्चालन ऐन, २०७४ मा प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत बजेट खर्च गर्दा नियमितता, मितव्यिता, प्रभावकारीता र कार्यदक्षता र औचित्यताका आधारमा गर्नुपर्ने हुन्छ । तर, नगरपालिको ऐनको धै धज्जी उठाउँदै उक्त खर्च गरेको पाइएको हो ।

शिखर नगरपालिकाको प्रमुख र उपप्रमुख कांग्रेसबाट निर्वाचित भएको फाइदा उठाउँदै उक्त खर्च आफु निकट पत्रकार संगठनलाई भवन निर्माणमा दिएको देखिएको हो । महालेखाले पालिकाले गरेको खर्च मनासिव मान्न नसकिने बताएको छ । पालिकाले यस्ता खर्च रोजगारी सृजना गरी पालिका भित्रका बासिन्दाको आर्थिक स्तर बृद्धि गर्न सहयोग पुराउने प्रकृतिका कार्यमा गर्नुपर्ने महालेखाको भनाइ रहेको छ ।

सवारी मर्मत खर्च हास्यास्पद

नगरपालिकाले सवारी मर्मतमा गरेको खर्च हास्यास्पद रहेको छ । पालिकाले पटक पटक एउटै सवारी खरिद मर्मत गरेको भन्दै साढे ३६ लाख रुपैयाँ खर्च गरेको छ । जुन मुल्यमा मर्मत गर्नुभन्दा नयाँ गाडि नै किन्न सकिथ्यो । यसमा अनमितता भएको प्रष्ट देखिन्छ ।

सवारी मर्मत सवारी साधनको मर्मत गर्दा म ले प फाराम नं ४१४ वमोजिमको मर्मत आदेश कार्यालय प्रमुखबाट स्वीकृत गराई मर्मत सम्वन्धी कार्य गर्ने र मर्मत गरिएका सामान सम्बन्धी अभिलेख म. ले. प फाराम ४१५ बमोजिम राखी मर्मतको खर्च लेख्नु गर्ने ब्यवस्था रहेको छ । पालिकाले वर्षभरिमा मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च, र सवारी साधन मर्मत खर्च शिर्षकबाट एम्बुलेन्स, ट्रिपर, बस मोटरसाईकल लगायतका सवारी मर्मत गरी जम्मा ३६ लाख ५३ हजार १०८ रुपैयाँ खर्च गरेको छ ।

पटक पटक एउटै सवारी साधन मर्मत गरेकोमा मर्मत गर्नुपर्ने स्पष्ट कारण समेत नगरपालिकाले खुलाएको छैन । साथै मर्मत गर्दा केही मर्मत आदेश स्वीकृत गरेतापनी पूर्णरुपमा मर्मत आदेश स्वीकृत नगरी मर्मतका विलमात्र संलग्न राखि भुक्तानी दिएको पाईयो भने मर्मत अभिलेख पनी अद्यावधिक गरेको नदिएको महालेखाले उल्लेख गरेको छ ।

भ्रमण खर्चमा नगरपालिकाको मनपरी

अधिकांश भ्रमणको उद्देश्य र प्रयोजन कार्यालयकै कामका लागि भएको हो भनी सुनिश्चित हुने विश्वसनीय र स्पष्ट आधार नदेखिइ नगरपालिकाले मनपरी हिसाबले खर्च गरेको छ । भ्रमण खर्च मार्फत नगरपालिकाले २६ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ ।

सुदूरपश्चिम प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७५ तथा भ्रमण खर्च नियमावली, २०६४ बमोजिम पालिकाले कर्मचारी तथा पदाधिकारीलाई भ्रमण खर्च वापत अनुगमन तथा मूल्याङ्कन शिर्षकबाट १७ लाख ६५ हजार ५६६ रुपैयाँ र भ्रमण खर्च शिर्षकबाट ७ लाख ९५ लाख ६७५ रुपैयाँ र अन्य भ्रमण खर्च शिर्षकबाट १ लाख १३ हजार ९४८ रुपैयाँ गरी जम्मा २६ लाख ७५ हजार १८९ रुपैयाँ खर्च गरेको छ ।

भ्रमण पश्चात तोकिए बमोजिम भ्रमण प्रतिवेदन पेश नभएको र केही पेश भएको भ्रमण प्रतिवेदनमा पनि भ्रमणको उद्देश्य प्रष्ट नगरी अधिकांश भ्रमणको भ्रमण खर्च भुक्तानी गर्ने गरेको पाइएको छ । स्पष्ट प्रयोजन र उद्देश्य बेगर अधिकांश ७ दिनको समयावधी राखी भ्रमण खर्च भुक्तानी गरेको अवस्थाबाट भ्रमण खर्चको उच्चतम सदुपयोग भएको भन्ने अबस्था नदेखिएको महालेखाको भनाइ रहेको छ ।

त्यसैले तोकिएको कानुनी व्यवस्थाको पूर्ण पालना गर्दै भ्रमण खर्चमा मितव्ययीता र प्रभावकारी हुने गरी खर्च गर्नेतर्फ भ्रमण आदेश स्वीकृत गर्ने पदाधिकारीले ध्यान दिन महालेखाले भनेको छ ।

यता, निर्देशिका मिच्दै नगरपालिकाले यातायात खर्च २०० रुपैयाँ भुक्तानी गर्नुपर्नेमा ६०० रुपैयाँ गरेको पाइएको छ । अर्थ मन्त्रालयको कार्य सञ्चालन निर्देशिका, २०७७ को परिच्छेद नं. ७.१.१५ अनुसार सवै प्रकारका तालिम तथा गोष्ठिमा उपस्थित सहभागीलाई यातायात खर्च दिँदा सार्वजनिक यातायात नचल्ने स्थानमा आतेजाते गरी दुई दिनसम्मको लागि एकमुष्ट २०० र सो भन्दा वढी जतिसुकै दिन भए पनि ५०० एकमुष्ट पाउने व्यवस्था छ ।

पालिकाले २०७९ पुष २९ मा सञ्चालन गरेको १ दिने अपाङ्गता भएका अनाथ बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रममा १ लाख २० हजार खर्च गरेकोमा उक्त कार्यक्रममा ६० जना सहभागिलाई यातायात खर्च भुक्तानी गर्दा २०० का दरले गर्नु पर्नेमा ६०० का दरले नर्म्स भन्दा बढी हुने गरी २४ हजार रुपैयाँ भुक्तानी गरेकोले कार्यक्रम निर्देशिका विपरित खर्च गरेको महालेखाले जनाएको छ । उक्त रकम असुल गर्ने नगरपालिकालाई महालेखाले निर्देशन दिएको छ ।

के भन्छ नगरपालिका ?

नगरपालिका प्रमुख दिर्घ बलायरलाई खाना खाजामा अन्य शिर्षकको पनि खर्च भएको बताउँछन् । उनले आफु अनिमितता हुन नदिने प्रतिबद्ध रहेको बताउँदै पहिलाको खाना खाजाको खर्चमा १० लाख रुपैयाँ कम रहेको बताए । उनले यस खर्चमा पाहुनाहरुको स्वागत समेत रहेको उनको तर्क छ । उनले भने, ‘यो नगरपालिकाका कर्मचारीले मात्र खाजा खानाको विषय जोडिएको हैन । पुरै पाहुनको स्वागत र खानपानमा समेत खर्च भएको हो । खाना खानासहित अन्य खर्च समेत यसमा जोडिएको छ ।’

प्रेश युनियनलाई योजना अनुरुप नै रकम दियो बलायरको भनाइ रहेको छ । बलायरले आफु ब्यक्तिवादी योजना दिने ब्यक्ति नभएको भन्दै जनताको सेवामा कहिल्यै कमी हुन नदिने उनको बताए ।

नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरिश्चन्द्र शाहसँग भने यसबारे प्रष्ट उत्तर छैन । उनले प्रेश युनियनमा भएको खर्च नहुनु पर्ने कुरा प्रष्ट पारे । उनले भने, ‘चन्दाको रुपमा उक्त सहयोग भएको हो । तर, उक्त सहयोग नियमसंगत छैन । नहुनु पर्न हो भएछ ।’

खाना खाजामा भएको खर्चमा भने मेयर बलायर र शाहले बचावट गरे । उनी उक्त खर्चमा अन्य कुरा पनि जोडिएको बताउँछन् । महालेखाको रिपोर्टले प्रष्ट खाना खाजामा भएको खर्च भनेर उल्लेख गरेको छ । करिब ३३ लाख खर्च खाना खाजामा भएको देखिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*