बढ्यो मोबाइल बैंकिङ्ग र क्युआर कोड मार्फत हुने भुक्तानी, बैशाख महिनामा तीन खर्ब ७२ अर्बको कारोबार

३१ जेष्ठ २०८१, बिहीबार १२:००

काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा विद्युतीय भुक्तानीमा आकर्षण बढ्दो क्रममा रहेको छ । मोबाइल बैंकिङ्ग र क्युआर मार्फत हुने कारोबार बढेको निरन्तर बढी रहेको हो ।

बैशाख महिनामा ३ खर्ब ७२ अर्ब ९४ करोड ७० लाख रुपैयाँ बढीको कारोबार मोबाइल बैंकिङ्ग र क्युआर कोड मार्फत भएको छ । नगदरहित कारोबारका लागि उपयुक्त माध्यम मानिने मोबाइल बैंकिङ्ग र क्युआर कोड पेमेन्ट व्यापक रूपमा विस्तार भएको हो ।

नेपाल राष्ट्र बैङ्कका अनुसार बैशाख महिनामा मात्र मोबाइल बैंकिङ्ग मार्फत ३ खर्ब २० अर्ब १९ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, क्युआर कोड मार्फत ५२ अर्ब ७५ करोड ७० लाख बढीको भुक्तानी भएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ । पछिल्लो समय सानातिना किनमेललाई क्युआर कोडमार्फत डिजिटल भुक्तानीको दायरामा ल्याउने विषयमा उल्लेख्य प्रगति भएको राष्ट्र बैङ्कले जनाएको छ। राष्ट्र बैङ्कका अनुसार डिजिटल कारोबार र भुक्तानी दुवै उल्लेख्य रूपमा अघि बढेको हो ।

गत वर्षको बैशाख महिनामा मोबाइल बैंकिङ्ग मार्फत जम्मा २ खर्ब १० अर्ब १ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । गत वर्षको बैशाखको तुलनामा मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबार ५२.४६ प्रतिशतले बढेको हो । यता, क्युआर कोड मार्फत गत बैशाखमा २६ अर्ब ५ करोढ १० लाख रुपैयाँ कारोबार भएको थियो । क्युआर कोड मार्फत हुने कारोबार भने गत वर्षको बैशाखको तुलनामा १०२.५१ प्रतिशतले वृद्धि भएको हो ।

बैशाखमा ४ करोड ६ लाख २९ हजार २२१ पटक मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी भएको छ भने क्युआर कोडबाट हुने १ करोड ७६ लाख ३९ हजार ५६५ पटक भुक्तानी भएको छ । हाल नेपालमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या २ करोड ३७ लाख ९७ हजार ६८० पुगेको छ । गत वर्षको बैशाखसम्ममा भने मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या २ करोड ७ लाख ६३ हजार ३४६ रहेको थियो ।

मोबाइल बैंकिङ्ग मार्फत एकबाट अर्को बैङ्क खातामा रकम जम्मा गर्ने, पानी/बिजुली/इन्टरनेटको बिल भुक्तानी गर्ने, रिचार्ज गर्न सजिलै सकिन्छ । यसका साथै हवाई टिकट काट्ने, बीमाशुल्क भुक्तानी, क्युआर कोडमार्फत पनि भुक्तानी गर्ने लगायत थुप्रै सुविधा हुन्छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*