अत्याधिक गर्मी !
काठमाडौं। हिजो अपराह्न यो समाचार तयार पार्दासम्ममा नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस पुगेको थियो। नेपालगञ्ज नेपालकै तातो ठाउँका रुपमा जानिन्छ। त्यस्तै धनगढीको तापक्रम ४२ डिग्री पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको थियो।
यता काठमाडौंको अधिकतम तापक्रम भने ३१ डिग्री सिल्सियस मात्र पुग्दा तराईभन्दा बढी अत्तालिएका देखिन्छन् राजधानीवासी। गर्मीको तात्तातो चर्चा काठमाडौँमै बढी देखिन्छ। ‘उफ् गर्मी पनि कति साह्रै बढेकोरु पहिलेपहिले त यस्तो उल्का गर्मीको महसुसै भएको थिएन’ काठमाडौँ उपत्यकाका नागरिकको वार्तालापको पहिलो बाक्य अहिले यही हुने गरेको छ।
ललितपुरस्थित गोदावारी नगरपालिकाकी राधा घिमिरे भन्छिन्, ‘गर्मी पनि कति साह्रै बढेको होरु यसो बाहिरै नै निस्कन सकिँदैन। घरमा मात्रै बस्दाबस्दा अत्यास नै लाग्ने। पहिले त चितवनतिर जाँदा मात्र यस्तो अनुभव हुन्थ्यो, यहाँ यस्तो गर्मी भएजस्तै लाग्दैनथ्यो।’
काठमाडौं बूढानीलकण्डकी शोभा सापकोटालाई पनि पहिलाभन्दा यसपटक धेरै गर्मी भएको अनुभव भएको छ। ‘४० वर्ष भइसक्यो काठमाडौँ बसेको, यस्तो गर्मीको अनुभव त छँदै थिएन,’ उनी भन्छिन् , ‘अत्यार नै लाग्दो गर्मी पनि। अझै तराईमा कस्तो होलारु’ उनहरु मात्रै होइन। सिन्धुली घर भई भक्तपुर लोकन्थली बस्ने दुर्गा तिमल्सिनालाई पनि गर्मीले निकै अत्याएको छ। “अहिलेको जस्तो गर्मी पहिले कहिल्यै अनुभव भएन, गर्मीले रिङ्गटा नै लाग्छ,” उनी भन्छिन्, “पहिलापहिला त काठमाडौँ आउँदा पङ्खा नै नलगाई बस्न सकिन्थ्यो, यो पटक त पङ्खाले पनि गर्मी छेक्नै सक्दैन।”
धनगढी, नेपालगञ्जलगायत तराईका क्षेत्रको जस्तो गर्मी उपत्यकामा छैन, तर अझै यहाँका मानिसहरुलाई गर्मीले अत्याएको छ। त्यो ४० डिग्री सेल्सियस आसपासको तापक्रममा बस्नेहरुलाई गर्मीले कति अत्याएको होलारु घाम भनेर काम छलेर बस्न पनि सबैलाई कहाँ पुग्ला ररु घामको प्रवाह नगरी काम गर्नेहरुलाई कति गाह्रो भएको होलारु तराईमा बसोबास गर्ने केही पात्रसँग राससले टेलिफोनमार्फत गर्मीले पारेको प्रभावको विषयमा कुराकानी गर्ने क्रममा बढी गर्मीका कारण कामकाजमा समेत बाधा पुगेको अनुभव सुनाएका थिए।
चितवन क्षेत्रपुरकी मीरा धिताललाई पनि पहिला पहिलाको भन्दा यसपटक गर्मी अलि बढेको अनुभव भएको छ। “गर्मीका कारण आएको पसिनाले लुगा नै निथु्रक्कै भिजाउँछ, एकदमै गाह्रो बनाएको छ,” उनी भन्छिन्, “दिउँसोको समयमा त बाहिर निस्कन र काम पर्दा समेत हिँड्डुल गर्न नै मुस्किल पर्छ। बच्चाहरु समेत गर्मीले गर्दा टाउको दुख्यो भनेर पढ्नै सक्दैनन्।”
गर्मीले साल्लाघारीको जङ्गल पनि उत्तिकै तात्छ। अन्य बोटबिरुवाले जस्तो सालको बिरुवाले शीतलता दिँदैन। त्यसमाथि ४२ डिग्री सेल्सियससम्मको तापक्रमले तातिएको मौसम। तर तातो मौसम भनेर काममा नगई बस्ने छुट हुँदैन, सुदूरपश्चिम, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईलाई। तातो मौसममा फिल्ड हिँड्दा निकै गाह्रो हुने र तातोले टाउको दुख्ने समस्या हुने बताउँछन् उनी। ‘तातो छ भनेर मन्त्रालयभित्र मात्रै बस्ने छुट कहाँ छ र रु फिल्ड हिँड्नु पनि पर्छ। फिल्ड खटाउँदा कर्मचारीहरु बिरामी पर्नुहुन्छ। नखटाएर पनि भएन,’ राससले गरेको टेलिफोन वार्तामा उनी भन्छन्, “सरकारी सेवामा खटिने शपथ खाएर आएको हौँ गर्मी भयो भनेर बस्न पनि भएन नि।”
जल तथा मौसम विज्ञान विभागअन्तर्गत जलवायु शाखाकी मौसमविद् विभूति पोखरेलले जलवायु परिवर्तनको असरका कारण तापक्रम बढेसँगै गर्मी समेत बढेको जानकारी दिएका छन्। “नेपालमा मनसुन भित्रिए पनि वर्षा हुन सकिरहेको छैन, यसले तापक्रम पनि बढाएको छ,” उनले भने, “जलवायु परिवर्तनको असरले गर्दा पृथ्वी तात्दै जाने र यसले गर्दा नेपालको समेत तापक्रम बढ्ने तथा यसले गर्दा तातो हावाको लहर ९लू० को जोखिम, सुक्खा बढ्ने, खडेरीका कारण कृषि उब्जनीमा ह्रास आउने, पानीको मुहान सुक्नेलगायतका समस्या उत्पन्न हुनेछ।”
रासस