बन्दीपुर केबलकार जेठ ३१ गतेदेखि व्यावसायिक सञ्चालनमा आउने

३० जेष्ठ २०८१, बुधबार ११:५५

काठमाडौँ। बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार जेठ ३१ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । वैशाख १ गतेबाट आंशिक रूपमा सञ्चालन हुँदै आएको केबलकार ३१ गते बिहिबारदेखि कमर्शियल अपरेसनमा ल्याइने भएको हो ।

कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएसँगै अब केबलकार व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरिवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको हो । करिब १ वर्ष अघि नै केबलकारको सम्पूर्ण मेकानिकल सामाग्रीहरूको जडान गरी लोड परीक्षण भइरहेको थियो ।

तीन चरणमा परिक्षणकाल सकिए पछि कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएको शर्माले जानकारी दिए । लोड परीक्षण तथा केबलकार अपग्रेड गरी सम्पूर्ण हिसाबले सुरक्षाको प्रत्याभूति गराएपछि अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र, प्राप्त भएको शर्माले जानकारी दिए । शर्माले भने,“कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी पुरा गरी पूर्ण सुरक्षित वातावरण बनेपछि मात्र सर्वसाधारणका लागि केबलकार सञ्चालन गर्न लागेका हौँ।” केबलकारमा सवार गरी बन्दीपुरको प्रसिद्ध खड्गदेवी मन्दिर दर्शन गर्न सकिनेछ । उक्त मन्दिर सर्वसाधारणका लागि पनि खुल्ला गर्ने तयारी भइरहेको छ । यसअघि वर्षको एक दिन महाअष्टमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला हुने उक्त मन्दिर अब हरेक दिन दर्शन गर्न सकिने कम्पनीले जनाएको छ ।

केबलकारबाट ९० डिग्रीको उकालो जस्तो देखिने चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने बताइएको छ । केबलकार चोक देखि मन्दिरसम्म एक हजार ७ सय मिटर दुरी ७ मिनेटमा पार गर्न सकिनेछ । यसअघि नै केबलकारको बटम स्टेसनमा अत्याधुनिक सुविधा सहितको रेस्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा आइसकेको छ । विदेशी तथा स्वदेशी पर्यटकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सरहको सुविधा प्रदान गर्ने उद्देश्यले वैशाख १ गते देखि रेस्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा आएको हो ।

त्यस्तै २ वर्षभित्र स्काइ वाक, ८५ मिटर लामो क्यान्टी लिभर ग्लास वाक थ्रु, संसारकै अग्लो दाबी गरिएको २ सय ९३ मिटर अग्लो बन्जी जम्प, सेभेन आकारको २८ सय मिटर लामो जिप लाइन, बन्दीपुरदेखि सिद्ध गुफासम्मको चियर लिफ्ट केबलकार लगायतका संरचना सम्पन्न हुने कम्पनीले जनाएको छ । केबलकारको ३१ गोण्डला मध्ये २१ वटा यात्रु बोक्ने गोण्डला रहेका छन् । प्रति घण्टा ५ सय जना यात्री बोक्न सक्ने क्षमता रहेको सो केबलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजे देखि राती ११ बजे सम्म चल्नेछ ।

‘केबलकारले साँझ ५ बजे देखि राति ११ बजे सम्म ६ वटा रेस्ट्रो क्याबिन रेस्टुरेन्ट एवं आराम कक्ष समेत सञ्चालन गरेर नयाँ स्वाद पस्किने तयारी समेत छ । तर केबलकारको सो सेवा लिन भने एक वर्षसम्मको समय लाग्नेछ । बाँकी २ वटा पारदर्शी एडभेन्चर गोण्डला हुने छन् भने २ वटा ढुवानीका लागि प्रयोग गरिनेछ ‘अध्यक्ष शर्माले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*