वित्तीय विवरणमा शिखर इन्स्योरेन्सको प्रगति कायमै, मुनाफा, खुद बीमा शुल्कसहितका सबै सूचांकमा प्रगति

३१ श्रावण २०७८, आईतवार ०७:५९

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अपरिष्कृत बार्षिक वित्तीय आज विवरण सार्वजनिक गरेको छ । नेपालकै सबैभन्दा ठूलो निर्जिवन बीमा कम्पनीको रुपमा शिखर इन्स्योरेन्स कम्पनीको सबै सूचांकहरुमा सकारात्मक प्रगति देखिएको छ ।

आव २०७७।०७८ को बार्षिक वित्तीय विवरण अनुसार शिखर इन्स्योरेन्सको मुनाफा ५.६८ प्रतिशतले बृद्धि भई ४७ करोड ५७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको खुद नाफा ४५ करोड थियो ।

कम्पनीले गत आर्थिक वर्षमा कूल बीमा शुल्क र खुद बीमा शुल्क आम्दानी बृद्धि गरी बीमा व्यवसाय अझै फराकिलो बनाएका कारण मुनाफा समेत बृद्धि भएको हो । कम्पनीको खुद बीमाशुल्क ९.४६ प्रतिशत बढेर १ अर्ब २९ करोड ७६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीले जम्मा एक अर्ब १८ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो ।

कम्पनीले गत आर्थिक वर्षमा कूल बीमा शुल्क तीन अर्ब ९७ करोड २३ लाख ८९ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले तीन अर्ब ५२ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको थियो । कूल बीमा शुल्क भनेको पुनर्बीमा कम्पनीलाई बुझाएको बीमा शुल्क समेत कम्पनीको नाममा संकलन भएको कूल बीमा शुल्क हो । कूल बीमा शुल्कले बीमा व्यवसायमा कम्पनीको पहुँच कति छ भन्ने प्रष्ट्याउँछ । निर्जिवन बीमा कम्पनीले सबै बीमा शुल्क आफूले मात्रै राख्न सक्दैनन् ।

गत आर्थिक वर्षमा इन्स्योरेन्स कम्पनीले १९ हजार १८१ दाबी मार्फत एक अर्ब ९८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने १२ हजार ९६५ दाबी बापत दुई अर्ब एक करोड २ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

गत आवमा कम्पनीले जारी गरेको हकप्रद शेयरका कारण गत आवको वित्तीय विवरणमा शेयरधनीहरुले पाउने लाभांश भने खुम्चिएको छ । कम्पनीको मुनाफा बृद्धि भएको भएपनि हकप्रद र बोनस शेयरका कारण गत आवमा चुक्ता पुँजि ६६.३२ प्रतिशतले बृद्धि भएका कारण प्रतिशेयर आम्दानी घटेको छ । कम्पनीको चुक्ता पुँजि एक अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ रहेको छ । गत आवमा कम्पनीको चुक्ता पुँजि जम्मा एक अर्ब पाँच करोड ७३ लाख १० हजार मात्रै थियो । कम्पनीको प्रतिशेयर आम्दानी ४२.५८ रुपैयाँबाट २७.०५ मा कायम हुन आएको छ । त्यस्तै पिई रेसियो ७१.१५ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ २१९.१५ रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*