नेपाल बीमा प्राधिकरणको दोश्रो रणनैतिक योजना

पुनम ज्ञवाली श्रेष्ठ
७ जेष्ठ २०८१, सोमबार १०:३२

वित्तीय प्रणालीको एक प्रमुख अंगको रूपमा रहेको बीमाले मुलुकको आर्थिक विकासमा ठूलो भूमिका खेल्दै आइरहेको छ । बीमाले विभिन्न किसिमको प्राकृतिक तथा भौतिक जोखिमबाट हुने क्षति विरुद्ध आर्थिक सुरुक्षण प्रदान गर्दछ । बीमा नियमनकारी निकायको रुपमा नेपाल बीमा प्राधिकरणले विगत आठ दशकदेखि बीमा क्षेत्रको विकासको लागि अनवरत रुपमा आफ्नो भुमिका निभाउदै आइरहेको छ । प्राधिकरणले नियमनकारी निकायको रुपमा बीमा सम्बन्धी सरकारलाई सल्लाह दिने, बजारलाई विश्वसनीय, प्रतिस्पर्धी तथा बीमाको बिकास, प्रबर्द्धन तथा विस्तार गर्ने, बीमा सम्बन्धी नीति नियम बनाउने, बीमक, मध्यस्थकर्तालाई इजाजतपत्र दर्ता, नवीकरण तथा खारेजी सम्बन्धी कार्य गर्ने, बीमा कम्पनीहरूको लगानी, पूँजी, कोष निर्धारण गर्ने, बीमा विवाद निरुपण गर्ने, बीमित हित संरक्षण गर्ने तथा बीमा क्षेत्रसंग सम्बद्ध अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने लगायतका कार्यहरु गर्दै आइरहेको छ ।

विगतमा बीमाको महत्व र आवश्यकता बढ्दै जाँदा राज्यमा आफ्नै बीमा कम्पनी आवश्यक भएको महसुस गरियो जसले गर्दा वि.सं. २०२४ सालमा राष्ट्रिय बीमा संस्थानको स्थापना भयो । सो कम्पनीलाई बि.सं. २०२५ सालमा राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ जारी गरी सरकारी कम्पनीका रूपमा राष्ट्रिय बीमा संस्थानका रूपमा परिवर्तन गरियो । तत्पश्चात बीमा बजारको बढ्दो आवश्यकतालाई महसुस गरी नेपाल सरकारले बीमा क्षेत्रको बिकास र विस्तारका लागि प्रभावकारी रूपमा कानूनी व्यवस्था गर्न बि.स. २०२५ सालमा बीमा ऐन, २०२५ जारी गरी सोहि ऐन अन्तर्गत नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति) को स्थापना गरिएको हो । बि.सं. २०४६ सालको जनआन्दोलन पश्चात सरकारद्वारा अपनाइएको आर्थिक उदारीकरणको नीतिले गर्दा बीमा क्षेत्रमा थुप्रै निजी बीमा कम्पनीहरुको प्रवेश भयो । जसले गर्दा नियमनकारी निकायको भूमिकालाई अझ बढी परिष्कृत गर्ने उद्देश्य अनुसार कार्यान्वयनमा रहेको बीमा ऐन, २०२५ लाई प्रतिस्थापित गर्दै बीमा क्षेत्रलाई व्यवस्थित, नियमित, नियन्त्रित तथा बिकसित गर्ने उद्देश्य सहित बीमा ऐन, २०४९ लागू गरियो । बि.सं. २०७९ सम्म आइपुग्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बीमा क्षेत्रको बिकासले धेरै फड्को मार्न सफल भएको र बीमा क्षेत्रमा नयाँ नयाँ आयामहरु तथा चुनौतिहरु थपिदै गएको हुँदा प्रचलनमा रहेको बीमा ऐन, २०४९ ले समग्र बीमा क्षेत्रमा बिकास भएको नविनतम आयामहरुलाई समेट्न नसकेको हुँदा धेरै प्रयास अनुरूप बीमा ऐन २०४९ लाई समय सापेक्ष परिमार्जन गर्दै मिति २०७९ साल कार्तिक २२ गते देखि लागू हुने गरी नयाँ बीमा ऐन, २०७९ प्रचलनमा ल्याइयो । बीमा ऐन, २०७९ लागू भए सँगै तत्कालीन बीमा समिति नेपाल बीमा प्राधिकरणको रुपमा रुपान्तरण भयो ।

प्राधिकरण अन्तर्राष्ट्रिय बीमा नियमनकारी निकायहरूको छाता संगठन (आईएआईएस) को संस्थापक सदस्य रहि आएको छ र आईएआईएसद्वारा प्रतिपादित बीमाका मूलभूत सिद्धान्तहरुलाई बीमा क्षेत्रको बिकासका लागि मार्गदर्शनको रूपमा अनुसरण गर्दै अन्तर्राष्ट्रिय अभ्यासहरूलाई निरन्तर रूपमा अपनाउदै आइरहेको छ ।

नेपाल बीमा प्राधिकरणले आफ्नो दोश्रो रणनैतिक योजना २०२३ २०२७ जारी गरेको छ । बीमा ऐन, २०७२ अनुरुप बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाई त्यसको विकास गर्न, बीमा व्यवसायको स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवा उपलब्ध गराउन एवं बीमा व्यवसायको प्रभावकारी रुपमा नियमन गरी बीमित हक हित संरक्षण गर्ने जस्ता विषयहरुमा केन्द्रित रहेर दोश्रो रणनैतिक योजना तयार गरिएको छ । बीमा क्षेत्रको विकासमा चुनौतीहरु रहेका छन् मुख्य चुनौतीहरुमा प्रति व्यक्ति न्यून आय, बेरोजगारी समस्या, सभा प्रति जनचेतनाको अभाव, अस्वस्थ प्रतिस्पर्धा, बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव, पुनर्बीमा बजारमा न्यून पहुँच, बीमा व्यवसाय शहरमा मात्र केन्द्रित जस्ता कारणहरुले गर्दा बीमाको अपेक्षित उथमा विकास हुन सकेको छैन । प्राधिकरणले यस योजनामा बीमा क्षेत्रमा भएका देखिएका भित्री तथा बाह्य बातावरणीय विश्लेषण मार्फत स्वट विश्लेषण मार्फत बीमा क्षेत्रको सबलता, कमजोरी, अवसर र चुनौती जस्ता विषयहरु स्पष्ट रूपमा उल्लेख गरी त्यससंग जुझ्दै आगामी पाँच वर्षमा बीमा क्षेत्रले हासिल गर्ने उपलब्धि तथा योजनाहरुलाई विस्तृत चित्रण गरिएको छ ।

यस योजना अनुसार प्राधिकरणको दुरदृष्टि, लक्ष्य, मोटो तथा मूल मान्यता निम्न बमोजिम रहेको पाइन्छ ।

१) दुरदृष्टि

२) लक्ष्य

३) मोटो

४) मूल मान्यता

पहिलो रणनैतिक योजना (२०१४–२०१९)

वित्तीय क्षेत्रको बिकास रणनीतिको अवधारणा स्वरूप प्राधिकरणबाट पहिलो रणनैतिक योजना २०१४ देखि २०१९ सम्म अवधिको लागि जारी गरिएको थियो । पहिलो रणनैतिक योजना अनुरुप ६ वटा रणनैतिक उद्देश्यहरु र त्यसका कार्यनीति उल्लेख गरिएको थियो । पहिलो रणनैतिक योजनामा बीमाको पहुँच तथा समावेश, बीमा क्षेत्रको बिकास, बीमा क्षेत्रको स्थायित्व, बीमा पूर्वाधार, गभरनेन्स तथा क्षमता बिकास जस्ता उद्देश्यहरु रहेका थिए भने जस अन्तर्गत बीमा क्षेत्रको प्रबर्द्धन, बीमामा बैकल्पिक वितरण प्रणालीको बिकास, बीमा कम्पनीको मर्जर र एक्वेजिसनलाई प्रोत्साहन गर्ने, पुनर्बीमा क्षेत्रको बिकास गर्ने, जोखिममा आधारित सुपरिवेक्षण प्रणाली अवलम्वन गर्ने, दावी भुक्तानीलाई सहज गर्न कानूनी सरचनाको बिकास, गुनासो व्यवस्थापनलाई सुधार गर्ने, बीमित हित संरक्षण कोषको बिकास, बीमा उद्योगमा जवाफदेहिता तथा पारदर्शितालाई बढावा दिने, मानवीय पूँजीको बिकास, बीमा प्राधिकरणको शाखा स्थापना, सूचना प्रणालीलाई बिस्तार गर्ने, बीमा बिषयलाई पाठ्यक्रममा समावेश गर्ने र बीमा प्रतिष्ठानको स्थापना गर्ने जस्ता कार्यनीतिहरु तय गरिएको थियो । यी कार्यनीतिहरु प्राप्तिका लागि थुप्रै कार्यहरु भएको पाइन्छ । जस अनुरुप लघुबीमा व्यवसायको सुरुवातका लागि लघुबीमा निर्देशिका जारी गरियो, आकस्मिक बीमा कोषलाई नेपाल पुनर्बीमा कम्पनीमा परिणत गरियो, बीमा क्षेत्रको पहँच तथा समावेशिताका लागि छलफल, अन्तरक्रिया लगायत कृषि तथा पशुपन्छी बीमाको सुरुवात गरियो ।

बीमा क्षेत्रको विकासको लागि जोखिममा आधारित पूँजी तथा जोखिममा आधारित सुपरिवेक्षण प्रणाली जस्ता कार्यको सुरुवात गरियो । बीमा क्षेत्रको पूर्वाधार सम्बन्धमा बीमा दावी भुक्तानीलाई दावी भुक्तानी मार्गदर्शन जारी गरियो, बीमामा जवाफदेहिता तथा पारदर्शिता सम्बन्धमा एनएफआरएस जस्ता अवधारणाको विकास गरियो भने बीमा क्षेत्रमा संस्थागत सुशासनलाई सशक्त ढंगले अगाडि बढाइयो, कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि स्वदेश तथा विदेशमा तालिम, सेमिनार, गोष्ठि आयोजना गरियो, यसका साथै, बीमा प्रतिष्ठानको रूपमा इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको स्थापना गरियो । समग्रमा हेर्ने हो भने प्राधिकरणको पहिलो रणनैतिक योजनाका उद्देश्यहरु धेरै मात्रामा भएका छन् । प्राधिकरणले पहिलो रणनैतिक योजनामा सुरुवात गरिएका तर सम्पन्न हुन नसकेक मुख्य उद्देश्यहरुलाई आफ्नो दोश्रो रणनैतिक योजनामा समावेश गरेर कार्यक्रम अगाडि बढाएको छ ।

दोश्रो रणनैतिक योजना (२०२३–२०२७)

प्राधिकरणबाट जारी दोश्रो रणनैतिक योजना २०२३–२०२७ सम्मको लागि तयार गरिएको छ । यस अन्तर्गत आठवटा मुख्य रणनैतिक पिलरहरु उल्लेख गरिएका छन् भने प्रत्येक रणनैतिक पिलरहरुको छुट्टा छुट्टा उद्देश्यहरु परिभाषित गरी त्यसको सूचकहरु समेत स्पष्ट रूपमा उल्लेख गरिएको छ । आठवटा मुख्य रणनैतिक पिलरहरु, त्यसका उद्देश्य र त्यसका कार्य सम्पादक सूचकहरू सम्बन्धमा छोट जानकारी यस प्रकार रहेका छन् ।

१ बीमा क्षेत्रको बिकासः–

बीमा ऐन, २०७९ बमोजिम प्राधिकरणले केवल नियमनकारी निकायको रूपमा मात्र भूमिका निर्वाह नगरी समग्र बीमा क्षेत्रको बिकासको लागि कार्य गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । प्राधिकरणबाट बीमा क्षेत्रको बिकासका लागि विगत देखिनै निरन्तर रूपमा बिभिन्न किसिमका कार्यहरु सञ्चालन गर्दै अघि बढि रहेको छ । बीमा क्षेत्रको बिकासका लागि बीमा ऐन, २०७९ द्वारा निर्देशित बीमित हित संरक्षण कोष तथा बीमा बिकास कोषको स्थापना जस्ता विषयहरु यसमा समावेश गरिएका छन् भने पुनर्बीमा कम्पनीको क्षमता अभिबृद्धि गर्ने, मध्यस्थकर्ता बीमा सेवा प्रदायकहरुको क्षमता अभिबृद्धि गर्ने, अन्तर्राष्ट्रिय उत्तम अभ्यासहरु आत्मसात गरी विद्यमान नियमनकारी फ्रेमवर्कहरुलाई परिमार्जन गर्ने, प्रत्येक स्थानीय तहमा बीमा कम्पनीको शाखा सञ्चालन गर्ने, बीमा कम्पनीहरु गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा प्रभावकारी कार्यान्वयन गर्ने लगायत बीमा क्षेत्रसंग सम्बन्धित बिषयमा अध्ययन, अनुसन्धान तथा बिकास गर्ने जस्ता कार्यक्रमहरु यस रणनीतिको प्रथम योजनाको उद्देश्यहरू उल्लेख गरिएको छ ।

२. जोखिममा आधारित सुपरिवेक्षण तथा सोल्भेन्सी अवलम्बन

बीमा क्षेत्रमा उत्पन्न हुन सक्ने बित्तीय जोखिमलाई पहिचान गरी त्यस्ता जोखिमको मूल्याङ्गनको आधारमा सुपरिवेक्षण पद्दति अवलम्बन गर्ने प्राधिकरणको रणनीति रहेको छ । प्राधिकरण पहिलो रणनैतिक योजनामा उल्लेख भए बमोजिम बीमा क्षेत्रमा परिचालनमा आधारित सुपरिवेक्षण प्रणालीबाट जोखिममा आधारित सुपरिवेक्षण तथा जोखिममा आधारित पूँजीलाई बीमा क्षेत्रमा लागू गर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरु विश्व बैंक, टोरोन्टो सेन्टर तथा एशियाली विकास बैंक लगायत अन्य संघ संस्थाहरुसंग सम्झौता गरी कार्य प्रारम्भ गरिसकेको अवस्था छ । पहिलो रणनैतिक योजना मार्फत यसको सुरुवात गरि जोखिममा आधारित सुपरिवेक्षण तथा जोखिममा आधारित पूँजीलाई बीमा क्षेत्रमा लागू गर्नका यस कार्यलाई निरन्तरता दिदै प्राधिकरणले आफ्नो दोश्रो योजनामा यसलाई प्राथमिकताका साथ राखेको छ भने यस पद्दती अवलम्बनका लागि बीमा कम्पनीहरुमा अध्ययन तथा अनुगमनको कार्य समेत प्रारम्भ गरिएको अवस्था छ ।

३. नियमनकारी निकायको क्षमता अभिवृद्धि

अन्तर्राष्ट्रिय बीमा जगतमा बीमा सम्बन्धी विभिन्न किसिमका नविनतम योजनाहरु भित्रिएको अवस्था छ । यसता नविनतम योजनाहरुलाई नेपाली बीमा बजारमा समेत अवलम्बन गर्दै अगाडि बढ्नुपर्ने अहिलेको चुनौती रहेको देखिन्छ । तसर्थ, अन्तर्राष्ट्रिय बीमा जगतमा प्रयोग भएका सुपरभाईजरी उपकरणहरुलाई विकास गरी नियमनकारी क्षमता अभिवृद्धि गर्ने योजना प्राधिकरणको रहेको छ । बीमामा सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोगलाई प्राथमिकतामा राखिएको छ जस अनुसार प्राधिकरणको मोबाइल एप तयार गर्ने, बीमा क्षेत्रमा सुपटेक, इन्स्योरटेक, च्याटबोट, मसिन लर्निङ्ग आदि जस्ता कुराहरुको विकास गर्ने प्राधिकरणको दोश्रो रणनैतिक योजनामा उल्लेख गरिएको छ ।

४. बीमा उद्योगमा जवाफदेहिता तथा पारदर्शिता

बीमा क्षेत्रमा जवाफदेहिता, पारदर्शिता, प्रभावकारिता सहभागिता तथा जिम्मेवारीलाई कार्यान्वयन गर्नका लागि प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकालाई प्रभावकारी कार्यान्वयन गर्दै आइरहेको छ भने समय समयमा आवश्यकता अनुसार संस्थागत सुशासन सम्बन्धी निर्देशिकालाई समयानुकुल परिमार्जन वा संशोधन समेत गर्दै आइरहेको छ । बीमा कम्पनीका हिसाब बिवरण विश्वव्यापी रूपमा बुझ्न सकियोस, पारदर्शी तथा जवाफदेहिता होस भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदनमान बमोजिम नेपाल बित्तीय प्रतिवेदनमान अनुसार वित्तीय विवरण तयार गर्न जीवन, निर्जीवन लगायत पुनर्बीमा कम्पनीहरुलाई निर्देशन दिइसकेको अवस्था छ । नेपाल बित्तीय प्रतिवेदनमानद्वारा जारी गरिएको एनएफआरएस १७ ले इन्स्योरेन्स कन्ट्र्याक्टको बिषयलाई समेटेको हुँदा प्राधिकरणले आगामी रणनीतिमा एनएफआरएस १७ लागू गर्ने व्यवस्था समेत उद्देश्यमा उल्लेख गरेको छ । एनएफआरएस १७ लागू गर्ने सन्दर्भमा नेपाल बीमा प्राधिकरण, आईक्यान र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु सम्मिलित उच्चस्तरीय एनएफआरएस इम्प्लेमेन्सन कमिटी गठन भई बीमा क्षेत्रको ग्याप एनालाईसीस सम्बन्धी अध्ययन भईसकेको अवस्था छ ।

५. बीमाको पहुँच र समावेशिता

देशव्यापी रूपमा बीमाको पहुँच अभिवृद्धि गर्नका लागि प्राधिकरणले निरन्तर बिभिन्न कार्यहरु गर्दै आइरहेको छ । विभिन्न प्रदेश स्थानीय तह तथा पालिकाहरुमा अन्तरक्रिया तथा बीमाप्रति सचेतना कार्यक्रमहरु सञ्चालन भईरहेको अवस्था छ । प्राधिकरणको कार्यालय केन्द्रमा मात्र सीमित नभई हालीगण्डकी, लुम्बिनी कर्णाली र सुदूर पश्चिम प्रदेशमा आफ्नो प्रादेशिक कार्यलयहरु सञ्चालन गरी बीमाको पहुँच वृद्धिका लागि विभिन्न कार्यक्रमहरु सम्पादन भईरहेको अवस्था छ भने प्रकरणले आगामी दिनमा समेत जनचेतना अभिबृद्धि तथा बीमामा समावेशिताका लागि प्रदेश कार स्थानीय तह, जनप्रतिनिधि, कृषक, महिला वर्ग तथा विद्यार्थी वर्गहरु माझ बीमाको चेतना अभिवृद्धि कार्यक्रमलाई निरन्तरता प्रदान गरेको छ । कृषि, पशुपन्छी तथा जडिबुटि सम्बन्धी बीमालेखहरु जारी गर्न, रेडियो, टि.भि. युट्यूब लगायतका सामाजिक सन्जाल मार्फत बीमाको बुकलेट, पम्पलेट, सोभनियर प्रकाशित गरी बीमाको प्रचार प्रसार गर्ने, बीमा साक्षरता सम्बन्धमा एफएम, रेडियो मार्फत तथा विभिन्न विद्यालय तथा क्याम्पसहरुमा विद्यार्थीहरुसँग बीमा साक्षरता कार्यक्रम गर्ने, प्रदेश स्तरमा लघुबीमा कम्पनीको स्थापना, लघुबीमालेख निर्माण, बीमा विषयलाई पाठ्यक्रममा समावेश गर्ने तथा बीमामा बैकल्पिक वितरण प्रणालीको विकास गर्ने जस्ता कार्यक्रमहरु यस रणनैतिक योजनामा उल्लेख गरिएको छ ।

६ बीमा प्रति जनविश्वास बढाउनु

बीमा प्रतिको विश्वास बीमा कम्पनीहरूले गर्ने बीमाको दावी भुक्तानीसंग सम्बन्धित हुने हुन्छ । बीमा क्षेत्रमा हाल देखिएको एउटा समस्या भनेको बीमा दावी भुक्तानी समयमै नहुने हो अर्कोतिर बीमा दावीमा देखिएको नैतिक जोखिम पनि हो । प्राधिकरण यस्ता समस्याहरूलाई समाधान गर्नका लागि बीमाको दावी भुक्तानी प्रक्रियालाई बलियो तथा व्यवस्थित बनाउन बीमा कम्पनीमा क्लेम वेव पोर्टलको बिकास, बीमा उद्योगमा गुनासो व्यवस्थापन प्रणालीको बिकासका लागि बीमा सूचना केन्द्र स्थापना लगायत बीमामा देखिएका जालसाजी तथा धोखाधडीलाई न्यूनिकरण गर्ने उपयुक्त प्रणालीको बिकास गर्ने जस्ता कुराहरु यस योजनामा उल्लेख गरिएको छ ।

७. मानविय श्रोत तथा पूर्वाधारको बिकास

मानव संसाधन विकासले कर्मचारीहरुलाई मनोवृत्ति, सीपहरू र ज्ञानको विकास गरी भविष्यका लागि नेतृत्वको पदमा पुग्नका लागि मद्दत गरी संस्थालाई एउटा उचाईमा पुर्याउन मद्दत गर्दछ । प्राधिकरणले कर्मचारीको वृत्ति विकास, क्षमता अभिवृद्धि तथा उत्तराधिकार योजना लगायतका विषयहरु पहिलो रणनैतिक योजना देखि नै यसलाई समावेश गर्दै आगामी दोश्रो रणनैतिक योजनामा समेत महत्वपूर्ण स्थान प्रदान गरेको छ । हाल प्राधिकरणको कुपण्डोलस्थित जग्गामा नयाँ भवनको निर्माण कार्यको थालनी भईसकेको छ भने उक्त भवन निर्माण सम्पन्न भए पश्चात कर्मचारीहरुका लागि प्रभावकारी कार्य वातावरण श्रृजना हुने कुरा उल्लेख गरिएको छ । यसका साथै, बीमामा दक्ष जनशक्ति उत्पादन गर्नका लागि बीमा ऐन, २०७९ मा उल्लेख भए बमोजिम बीमा प्रतिष्ठान स्थापना गर्ने, बीमासंग सम्बन्धित प्राविधिक विषय अध्ययन गर्न चाहनेका लागि छात्रवृत्ति तथा तालिमको व्यवस्थालाई समेत दोश्रो रणनैतिक योजनामा उल्लेख गरिएको छ ।

८. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई बलियो बनाउने

नेपाल बीमा प्राधिकरण अन्तर्राष्ट्रिय बीमा नियमनकारी निकाय (आइएआईएस) को संस्थापक सदस्य रहदै आएको र आइएआईएसले जारी गरेको बीमाका प्रतिपादित मूलभूत सिद्धान्त अनुरुप बीमा व्यवसायलाई नियमन गर्दै आइरहेको छ । बीमा क्षेत्रको विकासका लागि प्राधिकरणले आवश्यकता अनुसार अन्य क्षेत्रका नियमनकारी निकायहरु तथा संघसंस्थाहरु (आईएआईएस), (एएफआईआर), (एडीबी), विश्व बैंक आदिसंग सहकार्य गर्दै आइरहेको छ भने भविष्यमा समेत यस्ता सहकार्यलाई निरन्तरता प्रदान गर्दै जानेछ । प्राधिकरणबाट जारी दोश्रो रणनैतिक योजनामा बीमाका अन्तर्राष्ट्रिय नियमनकारी निकायसंगको सम्बन्धलाई अझ प्रगाढ बनाउने, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग सहकार्य गरी तालिम, कार्यशाला, सम्मेलनहरु आयोजना गर्ने कार्यक्रमहरुलाई प्राथमिकताका अगाडि बढाएको छ । यसै सिलसिलामा सन् अक्टुबर २०२४ मा नेपाल बीमा प्राधिकरणद्वारा बीमा सम्बन्धी दुईवटा अन्तराष्ट्रिय सम्मलेन नेपालमा आयोजना गर्ने तयारी भईरहेको छ ।

उल्लेखित दोश्रो रणनैतिक योजनाको उद्देश्यहरुलाई सफलतापूर्वक कार्यान्वयनका लागि तोकिएको समय सीमा भित्र कार्य सम्पादन गर्नका लागि सूचकहरु समेत तोकिएको छ । प्राधिकरणले योजनामा उल्लेख गरिएका उद्देश्यहरु तोकिएको समय सीमा भित्र सम्पादन गर्नका लागि प्रत्येक वर्ष आफ्नो बार्षिक कार्यक्रममा योजनामा उल्लेख भएका विषयहरुलाई कार्यान्वयन गर्नका लागि उपयुक्त बजेट व्यवस्थापन गर्ने समेत कुरा योजनामा उल्लेख गरिएको छ । यसका साथै यसको अनुगमन, मूल्याङ्कन तथा रिपोर्टिङ्ग सम्बन्धमा सम्बन्धित माहाशाखा, शाखाहरुलाई रणनैतिक योजनामा उल्लेख गरिएका उद्देश्यहरु तोकिएका समयमा सम्पन्न गर्न कार्य विभाजन गर्ने र प्रत्येक त्रैमासिक रुपमा योजनाको समिक्षा गर्ने र प्रत्येक त्रैमासिक रूपमा र वार्षिक रुपमा समिक्षा प्राधिकरणको सञ्चालक समिति समक्ष पेश गर्ने कुरा समेत उल्लेख गरिएको छ ।

अतः प्राधिकरणबाट जारी दोश्रो रणनैतिक योजनामा उल्लेख भएका उद्देश्यहरु मध्ये कतिपय उद्देश्यहरु पहिलो रणनैतिक योजनामा सुरुवात भएका तर सम्पन्न हुन नसकेका उद्देयहरु पनि रहेका छन् । यस दोश्रो रणनैतिक योजना २०२३–२०२७ सम्म उल्लेख गरिएका उद्देश्यहरूलाई तोकिएका समय सीमा भित्र सम्पन्न गरी बीमा क्षेत्रको बिकास गर्न बीमा क्षेत्रसंग सम्बन्धीत सबै सरोकारवालाहरु, बीमा कम्पनीहरु, प्राधिकरणका प्रादेशिक कार्यलयहरु लगायत सम्पूर्ण कर्मचारीहरुले आ–आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

(नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सव, विशेषाङ्क, २०८१ बाट साभार गरिएको, पुनम ज्ञवाली श्रेष्ठ  नेपाल बीमा प्राधिकरणकी उप निर्देशक हुन् । )

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*