कृषि बीमा शुल्क अनुदान कटौति तत्काल फिर्ता गर्न चार किसान संघको माग
काठमाडौं । विभिन्न पार्टी सम्बन्ध चार वटा किसान संघले कृषि बीमा शुल्कमा दिइदै आएको ७५ प्रतिशत अनुदान ५० प्रतिशतमा झार्ने केपी ओली सरकारको निर्णय नयाँ सरकारले फिर्ता लिनुपर्ने माग गर्दै बिज्ञप्ति निकालेका हुन् ।
ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले गत जेठ १५ गते अध्यादेश मार्फत जारी गरेको बजेटमा देशैभरिका किसानले पाउँदै आएको कृषि बीमा शुल्क अनुदान ७५ प्रतिशतबाट ५० प्रतिशतमा झारेको थियो ।
सो निर्णयका विरुद्धमा मोहन विक्रम सिंह सम्बद्ध नेकपा मशाल, बिप्लव नेतृत्वका अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशिल किसान युनियनले बुधबार संयुक्त बक्तव्यमार्फत कृषि बीमा शुल्क अनुदान कटौती सम्बन्धमा सरकारको ध्यानाकर्षण गर्दै तत्काल फिर्ता लिन माग गरिएको हो ।
संयुक्त रुपमा जारी बक्तव्यमा कृषि क्षेत्र उपेक्षित भइरहेको र किसानको लागत उठ्न नसक्ने स्थितिबाट गुज्रिरहेको बेला किसानलाई खेतीपाती र पुशपालनमा थप प्रोत्साहन र राहत दिनुपर्नेमा उल्टो विगत ८ वर्षदेखि दिइदै आएको सुविधा समेत कटौति गरेर सरकारले किसाना मारा नीति लिएको उल्लेख गर्दै उक्त निर्णय तत्काल सच्याउन माग गरिएको हो ।
सरकारको नेतृत्व गरिरहेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्र बहादुर श्रेष्ठले पनि कृषि बीमा शुल्क कटौतिको विरोध गर्दै उक्त निर्णय नयाँ सरकारले सच्याउनुपर्ने बताएका छन् । उनले पूर्ववर्ती सरकारको किसानामारा नीति वर्तमान सरकारले संशोधन गर्न आवश्यक कदम चाल्न कृषि मन्त्रालय र अर्थमन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।