बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावलीको मस्यौदामा के छ नयाँ व्यवस्था ?

२ जेष्ठ २०८१, बुधबार १४:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्ति र संस्थाको नौर्सगिक अधिकारलाई मध्यनजर गर्दै खाता रोक्का सम्बन्धी नयाँ व्यवस्था ल्याएको छ।

यस विनियमावली मार्फत राष्ट्र बैंकले बैंक खाता कसले, कसरी र किन रोक्का तथा फुकुवा गर्न सक्ने भन्ने व्यवस्था गर्न खोजेको छ। कुनै निश्चित खाता मात्र रोक्का राख्नुपर्ने अवस्थामा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर र खाता रहेको बैंकको विवरण र आशिंक खाता रोक्का राख्नुपर्ने भएमा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर, रोक्का राख्नुपर्ने रकम (अक्षर र अंकमा) र खाता रहेको बैंकको विवरण लिनुपर्ने व्यवस्था मस्यौदामा गरिएको छ।

विभिन्न कारणले खाता रोक्का गर्नुपर्ने स्थितिमा रहेको अस्पष्टतालाई नेपाल राष्ट्र बैंकले यो पटक सहज बनाइदिएको छ। केन्द्रीय बैंकले बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धि विनियमावली, २०८१ जारी गर्दै बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्ने सम्बन्धि व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउने भएको हो ।

केन्द्रीय बैंकले विनियमावली जारी गर्न मस्यौदा तयार पारिसकेको छ । यसैगरी मस्यौदामा सुझाव दिन सरोकारवालालाई आग्रह गरेका छन् ।राष्ट्र बैंकका सुपरिवेक्षण विभाग प्रमुख गुरु प्रसाद पौडेलले पछिल्लो समय खाता रोक्काका लागि वडा कार्यालय देखि केही उजुरी दिने संस्थाले नै निवेदन दिन थालेपछि राष्ट्र बैंकले यो निर्देशिका जारी गरेर सपष्ट व्यवस्था लागू गरेको जानकारी दिएका छन् ।

प्रस्तावित व्यवस्थाअनुसार कसुर व्यक्तिको खाता ३ प्रकारले रोक्का हुन सक्नेछ ।प्रचलित कानून बमोजिम नेपाल सरकार वादी हुने फौजदारी कसूर गरेको व्यक्ति वा संस्थाको सम्पूर्ण खाता वा निश्चित खाता वा खातामा रहेको निश्चित रकममात्र रोक्का गर्न सकिने प्रस्ताव केन्द्रीय बैंकले गरेको छ ।

खाता रोक्का गर्न व्यहोरा खुलाई राष्ट्र बैंक समक्ष लिखित अनुरोध गरेको स्थितिमा केन्द्रीय बैंकले सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई खाता रोक्का वा फुकुवा गर्न निर्देशन दिने व्यवस्था प्रस्ताव गरिएको छ ।यस्तो निवेदन तोकिएको, अधिकारप्राप्त अनुसन्धानकर्ता वा कानुन बमोजिम नियुक्त भएको व्यक्तिले दिन सक्नेछ । निवेदन दिँदा कारणसहित परिचय खुल्ने आधिकारिक विवरणसमेत सामेल गर्नुपर्नेछ भने निश्चित खाता रोक्का गर्नुपर्ने हुँदा खाता नम्बर र बैंकको विवरण तथा आंशिक खाता रोक्का गर्न रकमसमेत उल्लेख गर्नुपर्छ ।

फुकुवा गर्न भने तोकिएको, अधिकारप्राप्त अनुसन्धानकर्ता वा कानुन बमोजिम नियुक्त भएको व्यक्तिले दिएको निवेदन वा अदातलको आदेश बमोजिम हुनेछ ।

खाता रोक्का गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुनेछ । विभाग प्रमुखले तोकेको कर्मचारीले सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई खाता रोक्का गर्न निर्देशन दिनुपर्छ । र, सोही निर्देशनबमोजिम बैंकले प्राकृतिक व्यक्ति वा कम्पनीको बैंक खाता रोक्का गर्नुपर्नेछ ।

प्रस्तावित व्यवस्थामा १५ दिनभित्र राय सुझाव दिनुपर्नेछ । प्राप्त सुझावउपर छलफल गरी संशोधन आवश्यक रहे त्यसो गरेर यथासक्य चाँडो विनियमावली जारी गरिने केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले प्रस्ताव गरेअनुसार ३ प्रकारको खाता रोक्काः

१. सम्पूर्ण खाता रोक्का :बैंक तथा वित्तीय संस्थाहरुमा खोलिएका जुनसुकै खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन नसक्ने गरी गरिएको खाता रोक्का

२. निश्चित खाता रोक्काः बैंक तथा वित्तीय संस्थामा खोलिएका निश्चित खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन नसक्ने गरी गरिएको खाता रोक्का

३. आंशिक खाता रोक्काः बैंक तथा वित्तीयमा रहेको खातामा रहेको रकममध्ये निश्चित रकममात्र रोक्का रहने र खातावालाले बाँकी रकम यथावतरुपमा प्रयोग गर्न सक्ने गरी गरिएको खाता रोक्का को व्यवस्था गरिएको छ।

Account-Freezing-and-Unfreezing-For-consultation-1

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*