प्रधानमन्त्री र अर्थमन्त्रीद्वारा बीमा नीति कार्यन्वयन र दावी भुक्तानी प्रणाली सहज बनाउन निर्देशन
प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय सहितको समावेशी विकास मार्फत बीमा सेवाको माध्यमबाट जोखिम न्यूनीकरण गर्दै समुन्नत समाज र समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिने बताएका छन् ।
नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिक उत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको आर्थिक तथा सामाजिक विकासको महत्त्वपूर्ण आधारका रूपमा रहेको बीमा सेवालाई हरेक नागरिकसम्म पुग्ने गरी विश्वसनीय र सर्वसुलभ बनाउन अपरिहार्य रहेको बताएका हुन् ।
नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिक उत्सवमा प्रधानमन्त्री ‘प्रचण्ड’ले दिनुभएको शुभकामना
नेपाल बीमा प्राधिकरण आफ्नो स्थापनाको ५६औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा प्राधिकरण सञ्चालक समिति, अध्यक्ष, कार्यकारी निर्देशक, कर्मचारीहरू तथा बीमा क्षेत्रमा आबद्ध सबैमा शुभकामना व्यक्त गर्दछु । प्राकृतिक तथा मानव सिर्जित जोखिमबाट मानव जीवन, व्यवसाय, सम्पत्ति र दायित्वको सम्भावित आर्थिक क्षतिको रक्षावरण गरी आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्न बीमा क्षेत्र वैज्ञानिक एवं प्रभावकारी उपकरणका रूपमा स्थापित भएको छ । सामाजिक न्याय सहितको समावेशी विकास मार्फत बीमा सेवाको माध्यमबाट जोखिम न्यूनीकरण गर्दै समुन्नत समाज र समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिन्छ । मुलुकको आर्थिक तथा सामाजिक विकासको महत्त्वपूर्ण आधारका रूपमा रहेको बीमा सेवालाई हरेक नागरिकसम्म पुग्ने गरी विश्वसनीय र सर्वसुलभ बनाउन अपरिहार्य छ ।
नेपालको संविधान, बीमा ऐन तथा प्रचलित कानूनको दायरामा रही बीमा क्षेत्रलाई थप सुदृढ तथा समावेशी बनाउँदै सार्वजनिक सम्पत्ति र दायित्वको बीमा गर्ने व्यवस्था कार्यान्वयन गर्न नेपाल सरकार सदैव प्रतिबद्ध रहेको छ । अन्तर्राष्ट्रिय प्रचलन र अभ्यास अनुरूप बीमा सेवाको विकास एवं विस्तारद्वारा आर्थिक, प्राकृतिक, सामाजिक तथा अन्य कारणबाट उत्पन्न हुने जोखिमलाई बीमाको दायरामा ल्याई वित्तीय जोखिम न्यूनीकरण गर्न आवश्यक छ। बीमा क्षेत्रलाई व्यवस्थित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाई बीमा व्यवसायको स्वस्थ प्रतिस्पर्धा मार्फत सर्वसाधारणलाई गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउँदै बीमितको हकहितको सरक्षण गर्न प्राधिकरणले खेलेको भूमिकाको प्रशंसा गर्दछु । साथै, समग्र बीमा क्षेत्रको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी नियमन तथा व्यवस्थापनका लागि प्राधिकरण आगामी दिनमा थप रचनात्मक र सिर्जनात्मक तवरले लागिपर्नेछ भन्ने विश्वास लिएको छ ।
अन्त्यमा, लैङ्गिक, जातीय, भौगोलिक तथा आर्थिक रूपमा सीमान्तकृत, निम्न आय भएका वर्ग, विपन्न तथा गरिब समुदायमा बीमाको पहुँच वृद्धि गर्न, छिटोछरितो ढङ्गबाट सहज रूपमा दाबी भुक्तानी पाउने व्यवस्था गर्न र बीमा क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा एवं संस्थागत सुशासन कायम गर्न सम्बद्ध सबैले आ–आफ्नो ठाउँबाट पहलकदमी लिनुहुनेछ भन्ने अपेक्षा गरेको छु । विश्व बजारका आधुनिक उपकरणहरूको आन्तरिकीकरण गर्दै बीमा मार्फत सरकारको आर्थिक दायित्व न्यूनीकरण गर्न सम्बद्ध सबैको साथ र सहयोगको अपेक्षा सहित प्राधिकरणको ५६औँ वार्षिकोत्सवको उपलक्ष्यमा पुनः शुभकामना व्यक्त गर्दछु ।
त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले सरकारले बीमा क्षेत्रको समग्र विकासका लागि राष्ट्रिय बीमा नीति कार्यान्वयनमा ल्याएको बताएका छन् । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिक उत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय बीमा नीति प्रभावकारी कार्यान्वयनका लागि प्राधिकरणको महत्त्वपूर्ण भूमिका रहने बताएका हुन् ।
नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिक उत्सवमा अर्थमन्त्री वर्षमान पुनले दिनुभएको शुभकामना
नेपाल बीमा प्राधिकरणको ५६औँ वार्षिकोत्सवका अवसरमा प्राधिकरणका अध्यक्ष, संञ्चालक समितिका पदाधिकारीहरू, कर्मचारीहरू लगायत बीमा क्षेत्रसँग सम्बद्ध सबै सरोकारवालाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
बीमा सामाजिक सुरक्षाको भरपर्दो र विश्वसनीय माध्यम हुनुका साथै जोखिम व्यवस्थापनको एक महत्त्वपूर्ण आधुनिक वित्तीय औजार पनि हो । बीमाका सिद्धान्त तथा प्रचलित ऐन, कानूनको मर्म अनुरूप आम नागरिकहरूमा सरल र सहज बीमा सेवा प्रवाह मार्फत जोखिम व्यवस्थापन गर्दै आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्नु अत्यन्त आवश्यक छ। वित्तीय प्रणालीको एक महत्वपूर्ण स्तम्भका रूपमा रहेको बीमा क्षेत्रको विकास र प्रवर्द्धनद्वारा उन्नत समाज र दरिलो अर्थतन्त्र निर्माण गर्न सकिन्छ ।
नेपालको बीमा व्यवसायलाई व्यवस्थित. नियमित प्रतिस्पर्धी तथा विश्वसनीय बनाई बीमा क्षेत्रको विकास गर्ने, बीमा व्यवसायको स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवा उपलब्ध गराउने एवं बीमा व्यवसायको प्रभावकारी रूपमा नियमन गरी बीमितको हकहित संरक्षण गर्ने जिम्मेवारी पाएको नेपाल बीमा प्राधिकरणले ग्रामीण क्षेत्र तथा कमजोर आर्थिक अवस्था भएका आम नागरिकहरूसम्म बीमा शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गरी बीमा सेवाको पहुँच बढाउन गरेको प्रयास प्रशंसनीय रहेको छ । नेपाल सरकारले बीमा क्षेत्रको समग्र विकासका लागि राष्ट्रिय बीमा नीति कार्यान्वयनमा ल्याएको छ। उक्त नीति प्रभावकारी कार्यान्वयनका लागि प्राधिकरणको महत्त्वपूर्ण भूमिका रहनेछ। समग्र बीमा क्षेत्रको विकासका लागि सरकार सधैँ प्रतिबद्ध रहँदै आएको छ । ’नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा बीमा क्षेत्रलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्दै प्राधिकरणको ५६औं वार्षिक उत्सवका अवसरमा प्रकाशन हुन लागेको ’बीमा समाचार र विचार विशेषाङ्क’बाट मुलुकको बीमा क्षेत्रको वर्तमान अवस्था एवं भविष्यमा खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी प्राप्त हुने विश्वास लिएको छु ।
अन्तमा, अन्तर्राष्ट्रिय रूपमा प्रतिपादित बीमाका नवीनतम् सिद्धान्तहरूलाई अवलम्बन गर्दै राष्ट्रिय आवश्यकता अनुरूप बीमा गर्ने व्यवस्था मिलाउन, सरल र शीघ्र रूपमा दावी फस्र्यौट हुने व्यवस्था मिलाउन, बीमा क्षेत्रमा सुशासन कायम गर्न, अस्वस्थ प्रतिस्पर्धा हटाउन, बीमा कम्पनीहरूको क्षमता अभिवृद्धि गर्न र बीमा क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादनमा प्राधिकरणले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वासका साथ प्राधिकरणको ५६औं वार्षिकोत्सवको अवसरमा पुनः शुभकामना व्यक्त गर्न चाहन्छु ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रको विकाससँगै स्थानीय तहसम्म बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न, न्यून आय भएका विपन्न वर्गसम्म बीमाको पहुँच पुर्याउन, समयमै बीमा दाबी भुक्तानी गर्ने व्यवस्था गरी बीमा प्रतिको विश्वास अभिवृद्धि गर्न, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी घर लगायतका सम्पत्तिको बीमालाई प्रभावकारी बनाउन र लघुबीमा प्रवर्द्धन गर्न प्राधिकरण निरन्तर लागिरहेको बताएका छन् ।
नियमनकारी निकाय बीमा प्राधिकरणको ५६औं वार्षिक उत्सवको अवसरमा प्रतिवद्धता जनाउदै अध्यक्ष सिलवालले बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाउन तथा व्यवसायको स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय र भरपर्दो बीमा सेवा उपलब्ध गराउन एवं बीमा व्यवसायको प्रभावकारी नियमन गरी बीमितको हकहित संरक्षण गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले ५६औं वार्षिक उत्सवाको अवसरमा गर्नुभएको प्रतिबद्धता
नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण मिति २०८१ साल जेठ १ गतेदेखि आफ्नो कार्यकारी स्थापनको ५५ औं वर्ष पूरा गरी ५६ औं वर्षमा प्रवेश गरेको सुखद अवसरमा प्राधिकरणका सञ्चालकज्यूहरू, कार्यकारी निर्देशक, निर्देशक लगायत कर्मचारीहरू, बीमित, बीमक, बीमा मध्यस्थकर्ता, अन्य बीमा सेवा प्रदायक संस्थाहरू तथा बीमा क्षेत्रसँग सम्बद्ध सबै सरोकारवालाहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
मानव जीवन, सम्पत्ति एवं दायित्वमा आउनसक्ने जोखिम विरुद्ध आर्थिक सुरक्षा प्रदान गर्ने सबल एवं विश्वासिलो वित्तीय उपकरणका रूपमा रहेको बीमालाई अन्तर्राष्ट्रिय अभ्यास समेतका आधारमा स्वच्छ, पारदर्शी, भरपर्दो र विश्वासिलो बनाउँदै विपन्न एवं न्यून आय तथा सीमान्तकृत वर्गसम्म पुरÞ्याउन प्राधिकरणले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको व्यहोरा सर्वविदितै छ । नेपाल सरकार, नेपाल बीमा प्राधिकरण, बीमा कम्पनीहरू एवं सम्पूर्ण सरोकारवालाहरूको संयुक्त प्रयासबाट आर्थिक वर्ष २०८०।०८१ को तेस्रो त्रैमासिक सम्ममा बीमाको पहुँच ४३ प्रतिशतभन्दा बढी जनतामा पुग्न सफल भएको छ भने आगामी दिनमा यो प्रतिशत अझै बढ्दै जाने प्राधिकरणको विश्वास रहेको छ ।
बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशबाट सिर्जित चुनौतीको सामना गर्दै प्राप्त अवसरहरूबाट उच्चतम लाभ हासिल गर्न, गुणस्तरीय बीमा सेवा मार्फत बीमा क्षेत्रप्रति आम नागरिकको विश्वसनीयता अभिवृद्धि गर्न, बीमा क्षेत्रका विद्यमान समस्या तथा चुनौतीलाई सम्बोधन गर्दै राष्ट्रिय अर्थतन्त्रमा बीमा क्षेत्रको योगदानमा अभिवृद्धि गर्न हालै मात्र राष्ट्रिय बीमा नीति स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको छ । बीमा नीतिले परिकल्पना गरेको सहज, पहुँचयुक्त, विश्वसनीय, सुदृढ र गुणस्तरीय बीमा सेवाको विकास गर्न सरोकारवालाहरूको साथ र सहयोगको अपेक्षा गर्दछु ।
बीमकहरूको जोखिम बहन क्षमता बढाउन, पुँजीगत आधार बलियो बनाउन, संस्थागत सुशासन कायम गरी बीमा व्यवसायलाई स्वच्छ, पारदर्शी एवं प्रतिस्पर्धी बनाउन र बीमितको जीवन तथा सम्पत्तिको आर्थिक सुरक्षालाई प्रभावकारी बनाउन चुक्ता पुँजी वृद्धि गर्ने प्राधिकरणको निर्णयले बीमा कम्पनीहरू गाभ्ने तथा प्राप्ति हुने अभियानले बीमकहरूलाई थप सशक्त बनाएको छ । साथै, बीमा क्षेत्रको लगानी योग्य रकम मुलुकको सर्वपक्षीय विकासका कामहरूमा लगानी गर्न, विदेशी मुद्राको बहिर्गमन रोक्न तथा पुनर्बीमकहरूको पुँजीगत आधार बलियो बनाई वित्तीय अवस्थालाई सशक्त तुल्याउन पुनर्बीमकहरूको समेत पुँजी वृद्धि गर्ने नीति अख्तियार गरिएको छ ।
बीमा क्षेत्रको विकाससँगै स्थानीय तहसम्म बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न, न्यून आय भएका विपन्न वर्गसम्म बीमाको पहुँच पुर्याउन , समयमै बीमा दाबी भुक्तानी गर्ने व्यवस्था गरी बीमा प्रतिको विश्वास अभिवृद्धि गर्न, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी घर लगायतका सम्पत्तिको बीमालाई प्रभावकारी बनाउन र लघुबीमा प्रवर्द्धन गर्न प्राधिकरण निरन्तर लागिरहेको छ ।
अन्त्यमा, बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाउन तथा व्यवसायको स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय र भरपर्दो बीमा सेवा उपलब्ध गराउन एवं बीमा व्यवसायको प्रभावकारी नियमन गरी बीमितको हकहित संरक्षण गर्ने उद्देश्यले स्थापित प्राधिकरणको ५६औँ वार्षिकोत्सवका अवसरमा बीमा क्षेत्रको समग्र विकास एवं विस्तार मार्फत आगामी दिनहरूमा वित्तीय क्षेत्रमा बीमा क्षेत्रलाई अग्रस्थानमा पुरÞ्याउने गरी आ–आफ्ना क्षेत्रबाट योगदान पुर्याउन सरोकारवाला सबैमा आग्रह गर्दै समग्र बीमा क्षेत्रमा सुशासन कायम गर्दै अर्थतन्त्रको विकास र समृद्धिमा प्राधिकरणको भूमिका निरन्तर रहिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।
सूर्य प्रसाद सिलवाल