जीवन बीमा कम्पनीहरुको मुनाफा ४३ प्रतिशतले बढ्यो, वृद्धिदरमा कुन कम्पनीको अवस्था कस्तो ? (तथ्याङ्क सहित)
काठमाडौं । चालु आर्थिक वर्ष २०८०।०८१ को चैत मसान्तसम्मका जीवन बीमा कम्पनीहरुले करिव ५ अर्ब मुनाफा आर्जन गर्न सफल भएका छन् । चर्को आर्थिक मन्दीका बीचमा पनि जीवन बीमा कम्पनीहरु मुनाफामा उच्च बृद्धि गर्न सफल भएका कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरणले देखाएको छ ।
चालु आवको नौ महिनामा हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले ४ अर्ब ९१ करोड ८६ लाख रुपैयाँ बराबरको मुनाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको मुनाफा ४३ दशमलव २१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कुल तीन अर्ब ४३ करोड ४६ लाख रुपैयाँ मुनाफा आर्जन गरेका थिए ।
समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुमध्ये मुनाफा आर्जर र वृद्धिको तुलनामा एशियन लाइफ नम्बर १ मा रहेको छ । कम्पनीले यस अवधिमा आफ्नो मुनाफा २५४ प्रतिशतले वृद्धि गरी ६९ करोड ११ लाख रुपैयाँ पुर्याएको छ ।
त्यस्तै, नेपाली बीमा क्षेत्रको अब्बल कम्पनी नेपाल लाइफले ६० करोड तीन लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीको मुनाफा २२ दशमलव २१ प्रतिशतले बढेको छ । साथै, सन नेपाल लाइफले ४९ करोड ३६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आफ्नो मुनाफा ११ दशमलव ०६ प्रतिशतले बढेको छ ।
हिमालयन लाइफले समीक्षा अवधिमा ४३ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीको मुनाफा विविध कारणले यस अवधिसम्ममा झिनो अंकले घट्न पुगेको छ । त्यस्तै, नेशनल लाइफको मुनाफा ३० प्रतिशतले बढेर २९ करोड ८० लाख रुपैयाँबाट ३८ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, रिलायबल नेपाल लाइफको मुनाफा १९ प्रतिशतले बढेर ३४ करोड ०२ लाख रुपैयाँ, आइएमई लाइफको मुनाफा ७५ प्रतिशतले बढेर ३३ करोड ४ लाख रुपैयाँ पुगेको छ । साथै, सानिमा रिलायन्स लाइफले ३० करोड ४८ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २९ करोड ५४ लाख रुपैयाँ, सिटिजन लाइफले २८ करोड १३ लाख रुपैयाँ र मेट लाइफले २७ करोड ४ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।
सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको मुनाफा २ करोड ४५ लाख रुपैयाँ, एलआईसी नेपालको १९ करोड २४ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले २६ करोड ८९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
नेपाली बीमा कम्पनीहरुकाबीच व्यवसाय वृद्धिको सन्दर्भमो प्रतिस्प्रर्धा रहेको छ । यस अवधिमा बीमा कम्पनीहरुले आफ्नो व्यवसाय वृद्धि गर्नको लागि विभिन्न रणनिती अपनाउनुका साथै अभिकर्ताहरुलाई क्षमता अभिवृद्धि लगायतका तालिम पनि प्रदान गर्दै आएका छन् ।