तेस्रो त्रैमाससम्ममा मेट लाइफको उल्लेख्य प्रगती, साढे २६ अर्बको बीमा कोष, नाफा २७ %ले वृद्धि
काठमाडौं । मेट लाइफ (अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी)ले चालु आर्थिक वर्ष २०८०।८१ को तस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीका विभिन्न प्रमुख वित्तीय सूचकमा वृद्धि हुनुका साथै जीवन बीमा कोष पनि ९ प्रतिशतले बढेर २६ अर्ब १७ करोड रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ वृद्धि भई २७ करोड ४ लाख रुपैयाँ पुगेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा २१ करोड ३४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
यस अवधिसम्ममा कम्पनी महाविपत्ति कोषमा ४७ करोड २८ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा २ अर्ब १८ करोड ३० लाख रुपैयाँ संचिती रहेको छ । दुवैको संचितीको आकार गत आर्थिक वर्षको तुलनामा वृद्धि भएको छ ।
चैत मसान्तसम्म कम्पनीले ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ८७ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ६.७७ प्रतिशतले बढेको छ ।
त्यस्तै, खुद बीमा शुल्क आर्जन पनि ६ प्रतिशतले बढाउन कम्पनी सफल भएको छ । यस अवधिमा कम्पनीको यस्तो आम्दानी ३ अर्ब ९७ करोड ५९ लाख रुपैयाँ रहको छ ।
समीक्षा अवधिसम्म कम्पनीले कमिसन मार्फत ३६ करोड ७ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३५ करोड २४ लाख रुपैयाँ खर्चिएको थियो ।
कम्पनीको व्यवस्थापकीय पक्ष र कर्मचारीहरुको कार्यक्षमताका कारण नेपाली बीमा क्षेत्रमा मेट लाइफले आफ्नो व्यवसाय वृद्धि गर्दै लगेको अवस्था रहेको छ ।