नेको इन्स्योरेन्सको वित्तीय विवरणमा देखिएन उत्साह, व्यवस्थापकीय कमजोरीले घट्यो मुनाफा

२९ बैशाख २०८१, शनिबार १०:३५

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय सूचांकहरुमा खासै उत्साह देखिएको छैन । मुनाफा, खुद बीमा शुल्क आम्दानी, लगानीबाट प्राप्त आम्दानी समेत गुमाउन पुगेकोले कम्पनीमा व्यवस्थापकीय कमजोरी वित्तीय विवरणमा झल्किन पुगेको छ ।

दुई र्ब एक करोड रुपैयाँ कूल चुक्ता पुँजि भएको नेको इन्स्योरेन्स कम्पनीको विशेष कोषमा एक अर्ब ९४ करोड रुपैयाँ संचित रहेको छ । गत वर्ष यस्तो कोषको आकार एक अर्ब ७५ करोड रुपैयाँ रहेको थियो । कम्पनीको बीमा कोषमा तीन अर्ब ६२ करोड रुपैयाँ संचित रहेको छ । गत आवमा यस्तो रकम तीन अर्ब १२ करोड रुपैयाँ रहेको थियो । जगेडा कोषको आकार ५६ प्रतिशत बृद्धि भई ४३ करोड २२ लाख पुगेको छ । समग्रमा कम्पनीको कोषको आकार छ अर्ब नाघेको छ ।

कम्पनीको कूल बीमा शुल्क आम्दानी ५ प्रतिशतले बृद्धि भई एक अर्ब ९३ करोड नाघेको छ । अघिल्लो वर्षको यसै अवधीमा कम्पनीले एक अर्ब ८४ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको थियो । उता, कम्पनीको खुद बीमा शुल्क आम्दानी घटेको पाइएको छ । अघिल्लो वर्ष एक अर्ब आठ करोड रुपैयाँ खुद बीमा शुल्क ग्रहण गरेको कम्पनीले यस वर्ष एक अर्ब सात करोड मात्रै खुद बीमा शुल्क ग्रहण गरेको छ । गत वर्ष ८६ करोड रुपैयाँ पुनर्बीमा कम्पनीसँग साझेदारी गरेकोमा यस वर्ष ७५ करोड रुपैयाँ मात्रै पुनर्बीमा साझेदारी गरेको देखिएको छ ।

उता, कम्पनीको खुद बीमा दावी भुक्तानी घटेको देखिए पनि व्यवस्थापकीय कमजोरी यहीनेर देखिन्छ । गत आवमा ५७ करोड रुपैयाँ खुद दावी भुक्तानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा ५२ करोड १३ लाख १९ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । गत वर्ष ८० करोड रुपैयाँ पुनर्बीमा कम्पनीबाट दावी भुक्तानी ल्याउन सफल भएको कम्पनीले चालु आवमा २५ करोड मात्रै पुनर्बीमा कम्पनीबाट दावी भुक्तानी गराउन सफल भएको छ । बाँकी आफैले व्यहोर्नु परेको देखिएको छ । जसका कारण कम्पनीको मुनाफा घटेको छ भने कम्पनीले व्यवसाय समेत घटाउन बाध्य भएको छ । पछिल्लो समय नेको इन्स्योरेन्स कम्पनीले हाईड्रोपावरमा लगानी घटाइरहेको थियो ।

अर्कोतर्फ कम्पनीको लगानी तथा ऋणबाट प्राप्त ब्याज समेत घटेको देखिएको छ । यसमा समेत कम्पनीको व्यवस्थापकीय कमजोरी देखिएको छ । गत वर्ष ३३ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले यस वर्षको समीक्षा अवधीमा जम्मा ३२ करोड मात्रै आम्दानी गर्न सफल भएको हो । कर्मचारी खर्चमा उच्च बृद्धि भएको नेको इन्स्योरेन्स कम्पनीले कमिशन आम्दानी बढाउन सकेन भने लगानीबाट प्राप्त प्रतिफल समेत बृद्धि गर्न सकेन । यसको अर्थहुन्छ कम्पनीले लगानी सही ठाउँमा हुन नसकेको तथ्य आज प्रकाशित वित्तीय विवरणले औल्याएको छ ।

कम्पनीको बक्यौता दावी भुक्तानी समेत उच्च दरमा बृद्धि भएको छ । त्यसैगरी, कम्पनीमा उद्यारो बीमा बापत लिन बाँकी शुल्क रकम ३१.४ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष १९ करोड ६६ लाख रुपैयाँ रहेको बक्यौता बीमा शुल्क रकम यस वर्ष बृद्धि भई २५ करोड ८४ लाख रुपैयाँ पुगेको छ । सो उद्यारो बीमा शुल्कमा कृषि बीमा शुल्क समेत समावेश रहेको छ । जुन सरकारी अनुदान बापतको रकम हो ।

कम्पनीको जारी बीमा पोलिसी संख्या पनि घटेको छ । अघिल्लो वर्षमा दुई लाख ३२ हजार ६५० वटा बीमा पोलिसी जारी गरेकोमा चालु आवको सोही अवधीमा दुई लाख ३० हजार ४११ वटा बीमा पोलिसी जारी गरेको छ ।

कम्पनीको खुद नाफा समेत सामान्य अंकले घटेर ३८ करोड ३९ लाखबाट झरेर ३७ कराड ७४ लाखमा सीमित हुन पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २५ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी २५ रुपैयाँ नै थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*