एलआईसी नेपालको मुनाफा भारी बृद्धि, एक खर्ब १७ अर्बको जीवन बीमा कोष, अधिकांश सूचांकमा प्रगति
काठमाडौं । एलआईसी नेपालले चालु आवको नौ महिनाको वित्तीय विवरणमा अधिकांश सूचांकमा प्रगति गर्न सफल भएको छ । आज प्रकाशित कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार मुनाफा ७७ प्रतिशतले बृद्धि भएको छ भने जीवन बीमा कोषको आकार विशाल बन्न पुगेको छ ।
कूल दुई अर्ब ६५ करोड ३२ लाख चुक्ता पुँजि भएको एलआईसी नेपालको जीवन बीमा कोषमा एक खर्ब १७ अर्ब ३७ करोड ५१ लाख १६ हजार पुगेको छ । गत आवको यसै अवधीमा यस्तो कोषको आकार एक खर्ब चार अर्ब रुपैयाँ रहेको थियो । त्यस्तै जगेडा कोष ६१ करोडबाट बृद्धि भई दुई अर्ब सात करोड पुगेको छ ।
कम्पनीले कूल ९७ अर्ब ४९ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै २२ अर्ब रुपैयाँ बीमितलाई ऋण लगानी गरेको छ । कम्पनीको लगानी १५.७० प्रतिशतले बृद्धि भएको छ भने जीवन बीमा कोष ११.९० प्रतिशतले बृद्धि भएको छ ।
कम्पनीले नौ महिनाको अवधीमा १२ अर्ब ८९ करोड ९७ लाख कूल बीमा शुल्क संकलन गर्न सफल भएको छ । अघिल्लो वर्ष पनि कम्पनीले १२ अर्ब ९४ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको थियो । खुद बीमा शुल्क भने १२ अर्ब ८६ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, खुद दावी भुक्तानी १८ प्रतिशतले बृद्धि भई ६ अर्ब ५३ करोडबाट बढेर ७ अर्ब ७१ करोड पुगेको छ । कम्पनीको बक्यौता दावी भुक्तानी चार करोड ७७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, कम्पनीले लगानी तथा कर्जाबाट प्राप्त आम्दानी १४.१५ प्रतिशतले बृद्धि भई छ अर्ब दुई करोडबाट बढेर छ अर्ब ८८ करोड नाघेको छ । त्यस्तै कमिशन खर्च भने एक अर्ब पाँच करोडबाट घटेर ९३ करोडमा सीमित हुन पुगेको छ।
आम्दानी बृद्धि तथा खर्च कटौति गरेका कारण एलआईसी नेपालको खुद मुनाफा ७५.२६ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवको यसै अवधीमा १० करोड खुद नाफा कमाएको कम्पनीले चालु आवको समीक्षा अवधीमा १९ करोड २४ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि बीमाङ्कीय मूल्याङ्कनको क्रममा मुनाफा हेरफेर हुनसक्नेछ ।
समीक्षा अवधीमा एलआईसी नेपालको प्रतिशेयर आम्दानी ९.६७ रुपैयाँ रहेको छ । समग्रतामा कम्पनीले व्यापक सुधार गर्न सफल भएको छ ।