उत्पादनमूलक उद्योगको योगदान ५.१ प्रतिशत मात्र हुनुले अर्थतन्त्रको आधार कमजोर देखियो :अर्थमन्त्री शर्मा

२६ श्रावण २०७८, मंगलवार १६:४३

काठमाडौं । सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका छन्।

आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा रहेको औद्योगिक क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादनमा न्यून रहनु र त्यसमा पनि उत्पादनमूलक उद्योगको योगदान हाल ५.१ प्रतिशत मात्र हुनुले अर्थतन्त्रको आधार कमजोर रहेको सरकारले जनाएको छ ।

उनले आर्थिक वर्ष २०७३/७४ मा ८.६ प्रतिशत र २०७४/७५ मा ७.४ प्रतिशतको उच्च आर्थिक वृद्धिदर हासिल भएको पृष्ठभूमिमा अत्यन्त सुविधाजनक बहुमतमा बनेको विगतको सरकारले आर्थिक वर्ष २०७५/७६ मा ८.० प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेकोमा वृद्धिदर ६.४ प्रतिशतमा सीमित हुन पुगेको उल्लेख गरेका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएकोमा यथार्थमा आर्थिक वृद्धिदर २.१ प्रतिशतले ऋणात्मक हुन पुगेको उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ मा पनि अर्थतन्त्रमा उल्लेख्य सुधार हुन नसकेको र बजेट मार्फत आर्थिक वृद्धिदर ७.० प्रतिशत रहने अनुमान गरिएकोमा कोभिड–१९ महामारीको दोस्रो लहरले अर्थतन्त्रमा गम्भीर प्रभाव पारेका कारण उक्त वृद्धिदर हासिल नहुने अवस्था देखिएको मत्री शर्माले बताएका छन् ।

आर्थिक वर्ष २०७३/७४ को कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २६.८ प्रतिशत, उद्योग क्षेत्रका १४.६ प्रतिशत र सेवा क्षेत्रको योगदान ५८.६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा उक्त क्षेत्रहरुको योगदान क्रमशः २५.८ प्रतिशत, १३.१ प्रतिशत र ६१.१ प्रतिशत रहने अनुमान गरिएको छ । यसबाट अर्थतन्त्रको संरचनामा उल्लेखनीय परिवर्तन आएको देखिदैन । उत्पादनशील क्षेत्रमा आन्तरिक तथा बाह्य लगानीको अपर्याप्तता, उत्पादनमुखी भन्दा व्यापार केन्द्रित लगानी, उच्च उत्पादन लागत, सरकारको पुँजीगत खर्च गर्ने क्षमतामा कमी, आर्थिक वृद्धि र रोजगारी सिर्जनाबीचको कमजोर सम्बन्ध, आर्थिक वृद्धिको लाभका असमान वितरण, अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको हिस्सा नघट्नु जस्ता समस्या अर्थतन्त्रमा लामो समयदेखि रहँदै आएको उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*