राष्ट्रिय वाणिज्य बैंकको क्रेडिट कार्ड शुभारम्भ, ५ लाख सम्मको क्रेडिड लिमिट सुविधा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आज क्रेडिट कार्ड सेवा सुरु गरेको छ । बैंकले नगद कारोबारमा रहेको जोखिमलाई न्यूनीकरण गर्न उक्त सेवा सुरु गरेको हो ।
आज एक कार्यक्रमकाबीच बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपकुमार श्रेष्ठलाई उक्त कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन् । पुडासैनीले उक्त सेवाले ग्राहकको आर्थिक कारोबारमा सहजता हुने विश्वास बैंकले लिएको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठका अनुसार उक्त क्रेडिट कार्ड नेपाल, भारत र भुटानमा चल्ने र विभिन्न शाखा कार्यालयबाट पनि माग गर्न सकिने छ ।
प्रतिस्पर्धी बजारमा सस्तो ब्याजदरमा दिइने क्रेडिट कार्ड ग्राहकको आयश्रोत एवं भुक्तानी क्षमताको आधारमा ग्राहकलाई २० हजारदेखि ५ लाखसम्मको क्रेडिट लिमिट दिन सकिने बैंकले जनाएको छ ।
साथै उक्त कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन सपिङ्ग, तोकिएको सीमाभित्र रहेर नगदसमेत झिक्न मिल्ने सुविधा रहेको छ ।