श्रमिकका समस्या, गुनासा र जिज्ञासाको समाधानका लागि ‘श्रमाधान’ सेवा शुरु
काठमाडौँ । श्रमिकका समस्या, गुनासा र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले ‘श्रमाधान’ सेवा शुरु गरेको छ । बुधवार १३५ औँ विश्व मजदुर दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालले श्रमाधान सेवाको शुरुवात गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान सेवाको शुरुवात गरेका हुन् । सेवाको शुरुवात गर्दै मन्त्री अर्यालले स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधानका लागि मन्त्रालयको कल सेन्टरले मात्रै नपुग्ने भएकाले श्रमाधान सेवाको शुरुवात गरेको बताए । श्रमाधानले श्रम र रोजगारसम्बन्धी बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको उनले जानकारी दिए ।
मन्त्री अर्यालले श्रमाधानमा सात वटा क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरू समावेश गरिएको जानकारी गराए । उनले विदेशबाट फर्किसकेपछि श्रमिकले सिकेको सीप, पुँजी र ज्ञानलाई सम्बोधन गर्ने कार्यक्रम पनि समावेश गरिएको बताए ।
सरकारले श्रमिकका समस्या, गुनासो वा जिज्ञासा समाधान गर्न श्रमाधान कल सेन्टरमा फोन गर्दा पैसा नलाग्ने ११४१ फोन नम्बर समेत सार्वजनिक गरिएको छ ।