पछिल्लो ९ महिनामा आयात र निर्यात दुबै ओरालोे, साढे १० खर्ब व्यापार घाटा

९ बैशाख २०८१, आईतवार १२:०२

काठमाडौँ । अर्थतन्त्रमा अझै पनि आन्तरिक माग नबढ्दा आयात निर्यात दुबैं ओरालो लागेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक वर्षको ९ महिनामा आयात २.८४ प्रतिशत र निर्यात ३.६६ प्रतिशतले घटेको हो ।

चैत मसान्तसम्म अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख ८ हजार रुपैयाँको वस्तु आयात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३४ अर्ब १३ करोड ९१ लाख रुपैयाँले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा आयात १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालबाट १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३.६६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो ।

चैत मसान्तसम्ममा कुल १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । गत वर्ष सोहि अवधिमा बैदेशिक व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।

यता, नेपालको वैदेशिक व्यापार घाटा भने १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ रहेको छ । जुन गत वर्षको सोहि तुलनामा २.९२ प्रतिशत कमी हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*