काठमाडौं महानगरमा २४२ सहकारीविरुद्ध उजुरी
६ बैशाख २०८१, बिहीबार १०:४७
काठमाडौँ । काठमाडौं महानगरपालिकामा २४२ सहकारीविरुद्ध उजुरी दर्ता भएका छन् । यी सहकारीले बचतकर्ताको करिब एक खर्ब रकम फिर्ता गर्न बाँकी रहेको भन्दै ६ हजार उजुरी परेका हुन् ।
उजुरी सहकारी सञ्चालकले बचतकर्ता र ऋणीविरुद्ध पनि दर्ता गरेका छन् । बचतकर्ताले धम्क्याएको, ऋणीले ऋण नतिरेको, ऋणीबाट पैसा असुलउपर नहुन्जेल घरजग्गा रोक्का राखिदिनुपर्नेलगायत उजुरी परेको हुन् ।
महानगरले पहिलो चरणमा ४० सहकारीको अनुगमन गर्ने सूची तयार पारेको छ । त्यसपछि दोस्रो चरणको काम थाल्नेछ । नियमअनुसार सञ्चालन नभएका सहकारीविरुद्ध प्रहरीमा उजुरीसमेत गर्दै जाने महानगरले जनाएको छ ।