सामाजिक सञ्जालमा बैंकको लोगो तथा फोटो दुरुपयोग नगर्न नेपाल बैंकको चेतावनी
काठमाडौं । नेपाल बैंक लिमिटेडले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जालमा नेपाल बैंकको लागो तथा बैंकसँग सम्बन्धित फोटो, इमेल तथा लिङ्कहरु प्रयोग गरी ठगी गरेको घट्ना बढेपछि बैंकले सचेत रहन आग्रह गरेको छ।
विभिन्न व्यक्ति वा समूहले बैंकको लोगोको दुरुपयोग गरी कर्जा स्वीकृत पत्र, चिठ्ठा, उपहार कार्यक्रम आदि जस्ता आर्थिक प्रलोभन देखाई ठगी गर्ने गरेको गुनासो बढ्दै गएपछि बैंकले सतर्क तथा सचेत रहन भनेको हो ।
सामाजिक सञ्जाल फेसबुक, ट्विटर, टिकटक, युट्युव, ह्वाट्सएप, ईमो तथा भाइबर मार्फत बैंकले कुनै पनि कर्जा स्वीकृत पत्र, चिठ्ठा तथा उपहार जस्ता कार्यक्रम घोषणा नगरेको बैंकले जनाएको छ ।
साथै, केवाईसी अपडेट, खातामा पैसा जम्मा गरिदिने वा अन्य कुनै प्रयोजनका लागि ओटीपी, लिङ्क, पिनकोड तथा पासवर्ड जस्ता सूचना बैंकले नमाग्ने भएकाले यस्ता प्रकारका गोप्य सूचना तथा नम्बर उपलब्ध नगराउन बैंकले सूचनामा भनेको छ ।