बिस्का जात्रामा भैरवनाथको रथ भाँचिनु के नयाँ वर्षका लागि अनिष्टको संकेत हो ?
काठमाडौं । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको बिस्का जात्राको पहिलो दिन मै प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएपछि विभिन्न संशय उत्पन्न भएका छन् । मंगलबार दिउँसो ३ बजेदेखि हजारौं जात्रालुले तान्न सुरु गरेको रथ निरन्तर १३ घण्टासम्म तानेर माथिल्लो क्षेत्रको दत्तात्रयसम्म लगिएकामा रथको मेरुदण्ड मानिएको थामहरु भाँचिएपछि रथ सुकुलढोकामै थन्किन पुग्यो । जात्राको विधि तथा चलनअनुसार रथलाई दिउँसो ३ बजेसम्म गःपिहटी लान नसकिएपछि वाधा उत्पन्न हुन पुगेको भैरव नाइकेहरुले बताए ।
रथ तान्ने क्रममा बढी बलमिच्याइँ भएपछि मुख्य तीनवटा थाम भाँचिन पुगेको बताइएको छ । रथ पूरै मर्मत गर्न एक हप्ता लाग्ने बताइए पनि चैत ३० गते जसरी पनि ल्यासिंखेलमा लिंगो उठाउनु अगाडि पुर्याउनै पर्ने बाध्यताका कारण आंशिक मर्मत मात्रै गरिएको छ ।
नियमानुसार चैत ३० गते भैरव र भद्रकालीको रथलाई गःहिटीबाट तानेर ल्यासिंखेल पुर्याएपछि मात्रै लिंगो उठाउने कार्य सुरु हुन्छ । चैत्र मसान्तका दिन कुनै व्यवधान लिंगो उठाइए र वैशाख १ गते विना व्यवधान लिंगो ढालिएको वर्ष राज्य र जनता दुबैका लागि उन्नतिको वर्ष हुने जनविश्वास छ । तर, यो पल्ट रथ तानेको पहिलो दिन मै भैरवनाथको ठूलो रथका तीन मुख्य थाम अर्थात् मेरुदण्ड नै भाँचिएपछि जात्रामा खिन्नता उत्पन्न भएको र धेरैको मनका अनिष्ट वा ध्वंशको आशंका उब्जिएको संस्कृतिविद् एवं जात्रा सम्बन्धका जानकार ओम धौभडेलले बताए ।
उनले बीमापोष्टसँग भने, ‘यो पल्ट मानव सिर्जित घटना भएका कारण बढी नै शंका गर्नु आवश्यक छैन । तर, रथको मेरुदण्ड मै चोट लागेका कारण भित्रिचोटको गहनता अर्कै हुन्छ । त्यसकारण यसलाई सम्बन्धित सबैले गम्भीर रुपमा लिनुपर्छ । जात्राबाहेक पनि एक्लाएक्लै राती १–२ बजेसम्म रथ तानिएको कुरा आएको छ । यस्तो अमर्यादित क्रियाकलाप बन्द गरिनुपर्छ । जसमा भैरव नाइके, सिकर्मी नाइके र स्थानीय सरकार गम्भीर बन्नैपर्छ ।’
संस्कृतिविद् धौभडेलका अनुसार विस्का जात्रा भनेको वर्षभरीको शुभ, अशुभ पञ्चाङ्गसँग जोडिएको जात्रा हो । वर्ष भरीको समग्र पञ्चाङ्गसँग जोडिएको जात्रा भएका कारण यो जात्रामा कुनै व्यवधान वा झै झगडा भए त्यो वर्ष पीडादायी वा कष्टकर हुन्छ भन्ने मान्यता छ ।
मल्लकालमा विस्का जात्राको रथ पल्टिदाँ काठमाडौंका राजा प्रताप मल्लले भक्तपुरमा आक्रमण गरेकोसम्मका तथ्यहरु जात्रासँग जोडिएको धौभडेलले बताए । जुन वर्ष सौहार्दता वा विनाव्यवधान जात्रा समापन भएको छ, त्यो वर्ष हर्ष तथा प्रगतिको वर्ष हुने गर्दछ, उनी अगाडि भन्छन्, ‘जस्तो २०४६ सालमा एउटा इटाको टुक्रा वा झिंगटी कतै नखसेर जात्रा समापन हुँदा बहुदल आएको, २०६२-०६३ मा त्यसरी नै जात्रा समापन हुँदा जनआन्दोलन सफल भएको तथ्य हाम्रैसामु छ ।’
त्यसरी ५८ सालमा लिंगो भाँचिदा दरबार हत्याकाण्ड मच्चिएको लगायतका कयौं उदाहरण पनि रहेको उनले बताए । पहिले-पहिले रथको पाङ्ग्राको बिडमा क्षति पुग्ने गरेको थियो । तर, रथको मेरुदण्ड अर्थात् थाम मै क्षति पुगेको थिएन । यस्तो क्षति गरिएको यो नै पहिलो पटक हो । त्यसरी एउटा रथ रोकिंदा अर्को सानो रथ पनि रोकियो । समयमा रथ पुग्नु पर्ने ठाउँमा पुगेन भने तन्त्रविद्याबाट गरिने पूजा तोकिएको समयमा नहुन सक्छ । पछि त्यो पूजा गर्नुको अर्थ हुँदैन, सस्कृतिविद् धौभडेलले भने ।
जात्राका क्रममा अमर्यादित रुपमा जथाभावी रथ तान्दा ४ वटा थाम मध्ये तीन वटा भाँचिएको र रथ तान्ने डोरीसमेत चोरी भएको बताइएको छ । विगतमा अकस्मात भएका घटनालाई लिएर क्षमा वा स्वस्ति, शान्ति पूजा गर्ने चलन भएपनि यो पल्ट मानव सिर्जित घटना भएका कारण त्यस्तो पूजा गर्नु नपरेको धौभडेलले बताएका छन् ।