निजि क्षेत्रलाई उत्साहित बनाउने अर्थमन्त्री पुनको प्रयास
काठमाडौं । लगानी सम्मेलनको सम्मुखमा आइरहेको सन्दर्भमा अर्थमन्त्री वर्षमान पुनले निजि क्षेत्रलाई विश्वासमा लिएर जनतामा उत्साह भर्ने प्रयास गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघको ५८ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वर्षमान पुनले भने, ‘म अन्य अर्थमन्त्रीहरुको आलोचना मात्रै गर्दिन, तर विगतमा हामीले जे गर्यौं, त्यसैको परिणाम आज गम्भिर अवस्थामा पुगिसकेको छ ।’
अर्थमन्त्री पुनले निजि क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने पटक पटक दोहोर्याए । अर्थमन्त्री पुनले विगतका अर्थमन्त्रीहरुले जथाभावी गरेको स्वीकार गर्दै उद्योगी व्यवसायीहरुलाई एकताबद्ध भएर देशको लागि काम गर्न आह्वान गरेका छन् । अर्थमन्त्री पुनले यस वर्षको बजेटमा कही कतै दाया बाया हुन नदिने प्रतिबद्धता जनाएका छन् । उनले नेपालको विगतको इतिहासमा राजश्व दरमा उच्च बृद्धि सम्भव नभएको बताउँदै योजना बनाउँदा नै समस्या रहेकोले अहिले कार्यान्वयनमा समस्या आएको बताए ।
अर्थमन्त्री पुनले पछिल्लो एक महिनामा मात्रै ७० अर्ब रुपैयाँ निर्माण व्यवसायीहरुको निकासा गरिएको बताउँदै भुक्तानी दिने कार्य फटाफट गर्ने नीति लिइएको बताए ।
अर्थमन्त्री पुनले उद्योग व्यवसायीहरुको छाता संगठनलाई सामूहिक एजेण्डा लिएर आउन समेत आह्वान गरेका छन् । अर्थमन्त्री पुनले उद्योगी व्यवसायीहरुले व्यक्तिगत एजेण्डा लिएर नआउन समेत आग्रह गरेका छन् । अर्थमन्त्री पुनले उद्योगी व्यवसायीहरुको बीचमा उभिएर उनीहरुको मत जित्न र आत्मविश्वास बढाउने प्रयास गरे ।
अर्थमन्त्री पुनले आफ्नो कार्यकालमा नतिजा देखिनेगरी काम गर्ने प्रतिबद्धता जनाए । मन्त्री पुनले निजि क्षेत्रलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।