‘सुस्ताएको अर्थतन्त्रको रोग पहिचान नगर्दा समस्या बल्झियो’
म लगायत नयाँ कार्यकारिणी समितिले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको छ । म र यो कार्यसमिति मुलुकको निजी क्षेत्रेको यो छाता संस्थाको नेतृत्वमा आइरहँदा मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा थियो । मैले महासंघको नेतृत्व गर्नुपूर्व म एक्लै, अरु एकदुई जना साथीभाइ र परिवारबाट सुरु भएको मेरो व्यवसायमा करिब २० हजारको परिवार बनेको छ । महासंघमा जोडिएसँगै करिब ६ लाख व्यवसायीसहितको परिवार बन्यो। हामीसँग विविध कारणले सदस्य नभएका वा हुन नपाएका व्यवसायी पनि यो परिवारका सदस्य हुन् । यसको अर्थ महासंघ परिवार सम्पूर्ण निजी क्षेत्रका सदस्यहरूको हो ।
हाम्रो बृहत् परिवार यो सिंगो मुलुक हो । निजी क्षेत्र यो वृहत् परिवारको आयआर्जन गर्ने सदस्यहरू हुन् । हामी निजी क्षेत्र र सर्वसाधारणलाई आवश्यक सेवा र सुरक्षा दिन निर्माण भएको संरचना सरकार हो। सरकारले दिने सेवा र सुरक्षाविना हामी काम गर्न सक्दैनौं । हामीलाई सेवा र सुरक्षा दिएवापत हामी राज्यलाई कर बुझाउँछौं । अहिले परिवारमा आम्दानी र खर्चबीच तालमेल मिलेको छैन । मुलुकको खर्च धान्ने निजी क्षेत्र पखेटा फिंजाएर थप आर्जन गर्न खोजिरहेको छ । तर त्यसका लागि आवश्यक सेवा र सुरक्षा पाउन सकेको छैन । यो क्षेत्रले अहिले सरकारबाट थोरै मात्र भए पनि प्रोत्साहन चाहेको छ ।
म युवाहरूको सपनाको बारेमा कुरा गर्न चाहन्छु । म उद्यमशीलताको कुरा गर्न चाहन्छु । उद्यमशीलता एउटा कठिन तपस्या हो । कुनै पनि नयाँ काम गर्न नवीन सोच र आइडिया चाहिन्छ । त्यसलाई कार्यान्वयन गर्न रकम चाहिन्छ । यस्तो रकमको जोहो घरबार धितो राखेर नै गर्नुपर्छ । अब त्यो आइडियालाई समाजले स्वीकार गर्ने गरी तयार पार्नुपर्यो । राजनीतिक तहबाट त्यसलाई अपनत्व ग्रहण गरिदिनुपर्यो । कानुनी अड्चन हुन भएन र वातावरणीय रुपमा दिगो हुनुपर्यो । यी सबै आधारभूत विषय पूरा गरेपछि मात्रै एउटा परियोजना वा व्यवसाय बन्छ । यति मिहिनेत गरेर तयार पारेको व्यवसाय वा परियोजना एउटा सरकारी नीति, एउटा अधिकारीको लहड अनि भीडले एकैछिनमा भताभुंग पारिदिन सक्छ ।
तर, यति हुँदाहुँदै पनि म आज यहाँ निराशा मात्र व्यक्त गर्न चाहन्नँ। म यो सम्भावना नै सम्भावना भएको मुलुकका रूपमा देख्छु । यी सम्भावनालाई यथार्थमा परिणत गर्न राजनीतिक नेतृत्वको भूमिकाबारे पनि कुरा गर्छु । सम्भावना पहिल्याउन अहिलेको वास्तविक चित्रण आवश्यक छ । अहिले विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च छ । अर्थात् करिब साढे १२ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त छ । बैंकहरूमा पनि तत्काल कर्जाका रुपमा दिन सकिने करिव ६ खर्ब रुपैयाँ छ । उद्यमी व्यवसायीले व्यवसाय विस्तार गर्न नसक्दा कर्जाको माग न्यून छ ।
भुक्तानी सन्तुलन र चालु खातासमेत बचतमा हुँदा सकारात्मक सन्देश जान्छ । तर यस अवधिमा एक खर्ब रुपैयाँको निर्यात हुँदा ८० अर्ब रुपैयाँ त विद्यार्थीहरू विदेश जाँदा बाहिरिएको छ । नेपाल विश्व व्यापार संगठनको सदस्य बनेयता निर्यात तीन गुणासम्म बढेको छ भने आयात १० गुणा बढेको छ । वैदेशिक लगानी कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव २ प्रतिशत हाराहारी मात्रै छ । वैदेशिक अनुदान निरन्तर घट्दो छ वित्तीय व्यवस्थापन खर्च पुँजीगत खर्चभन्दा झन्डै दोब्बर भएको छ । आन्तरिक स्रोतबढाउन सकिएन भने नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदै जाने क्रममा ऋणको भार थप बढ्ने सम्भावना देखिएको छ । निर्यात लगानी, सहायता सबै कम हुँदा पनि बाह्य क्षेत्र सबल हुनुको कारण रेमिट्यान्स हो। रेमिट्यान्स मात्रै मुलुक धान्न आधार बनेको दशकौ भइसकेको त हामीलाई विदितै छ ।
रेमिट्यान्सले मात्रै निरन्तर अर्थतन्त्र धान्न सक्ने सम्भावना न्यून हुन्छ । विगतमा बढ्दो रेमिट्यान्सले माग बढाउँदा सरकारको राजस्व पनि बढेको थियो। राजस्व अपेक्षित रूपमा बढ्न सकेको छैन । न्यून पुँजीगत खर्च हुँदा पनि सरकार घाटामा रहनुले आगामी दिन थप जटिल हुने देखिन्छ ।
सम्माननीय प्रधानमन्त्रीज्यू, पूर्वप्रधानमन्त्रीज्यूहरू, यी माथिका तथ्यांक मैले हाम्रो अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारीका लागि प्रस्तुत गरेको हुँ । किनभने अर्थतन्त्रमा अझै समस्या छ भन्ने तथ्यलाई स्विकारेर मात्र यसको निकास खोज्न सजिलो हुन्छ भन्ने मलाई लाग्छ । करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा समस्या झन् बल्झिदै गएको हो । निजी क्षेत्रले त रोगको पहिचान गरेरै बारम्बार औषधि सिफारिस गरेकै हो । यसमा राज्यको सम्बद्ध पक्षले ध्यान दिन नसक्दा हामी आज यो मोडमा आइपुगेका छौं । यस पटकको बजेट र मौद्रिक नीतिमा निजी क्षेत्रको साझा सुझाव पेश हुँदा पनि सुधारका उपाय अवलम्बन हुन सकेनन् ।
श्रीलंका बन्न सक्ने भयले यहाँ नियन्त्रणमुखी नीतिगत व्यवस्था गरिए । यसबाट हाम्रो आर्थिक वृद्धि ६ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ भने यसै अवधिमा श्रीलंकाको आर्थिक वृद्धि माइनस ७.८ प्रतिशतबाट करिब दुई प्रतिशत सकारात्मक भएको छ । नेपालको अर्थतन्त्र कमजोर हुनुमा बाह्यभन्दा आन्तरिक कारण नै प्रमुख हुन् । किनभने यस अवधिमा भारत, बंगलादेशलगायतका मुलुकको वृद्धिदर उच्च छ । विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालु वर्षमा ३.३ प्रतिशत मात्र हुने अनुमान सार्वजनिक गरेको छ । जब कि बंगालादेशको ५.६ प्रतिशत र भारतको ७.५ प्रतिशत वृद्धि हुने प्रक्षेपण छ । गत वर्ष पनि नेपालको वृद्धि दुई प्रतिशतभन्दा कम हुँदा भारत र बंगलादेशको अर्थतन्त्र ६ प्रतिशतभन्दा बढिले विस्तार भएको थियो ।
भारत मात्रै होइन हाल निकै उच्च दरमा वृद्धि हासिल गरिरहेका बंगलादेश, कम्बोडिया, लाओस, रुवान्डा र इथियोपिया जस्ता मुलुकको विकासको मुख्य आधार निजी क्षेत्रले डोऱ्याएको वृद्धि नै हो । कुनै समयका द्वन्द्वग्रस्त र निकै गरिब मुलुकहरूको पछिल्लो एक दशकको औसत वृद्धिदर ६ प्रतिशतभन्दा माथि छ । नेपालको भने औसत ४ प्रतिशत छ । भारतमा निजी क्षेत्रको विकास र त्यसले अर्थतन्त्रमा पारेको प्रभावबारे आजका हाम्रा अतिथि सीआईआईका प्रेजिडेन्ट डेजिग्नेट श्री सञ्जीव पुरीजीबाट सुन्ने नै छौं ।, श्री पुरीजी हाम्रो यस साधारणसभामा उपस्थित हुन आउनुभएको छ सीआईआई र महासंघको गहिरो सम्बन्ध अनि नेपाल–भारत आर्थिक सम्बन्ध विस्तारमा यी दुई संस्थाको भूमिका महत्वपूर्ण छ । सबै छिमेकीको तीव्र विकास भइरहँदा, पछिल्लो दुई वर्षमा न्यून आर्थिक वृद्धि हुनुको कारण निजी क्षेत्रले काम गर्न नपाउँदा हो । यस वर्ष पनि उत्पादनमूलक क्षेत्रको वृद्धिदर शून्य दशमलव ४ प्रतिशतले ऋणात्मक छ ।
सम्माननीय प्रधानमन्त्री, दलका प्रमुखज्यूलगायत उच्च नेतृत्ववर्ग, म व्यक्तिगत रूपमा हरेक क्षेत्र र प्रयासलाई सकारात्मक रूपमा हेर्ने व्यक्ति हुँ। मैले सकेसम्म होइन, छैन र हुँदैन भन्ने शब्द प्रयोग पनि गर्दिनँ । हामी आफैमा सम्पन्न र सक्षम छौं । हाम्रो अर्थतन्त्र सानो भएकाले रिकभर हुन सजिलो पनि छ । त्यसैले हाम्रा रणनीतिहरू कुनै बाहिरी प्रभावभन्दा पनि हाम्रो माटो र हाम्रो स्थिति परिस्थिति सुहाउँदो हुनुपर्छ भन्ने मेरो धारणा हो । त्यसैले आज पनि म भन्छु( हामीले लिने साना तर सकारात्मक प्रयासहरूले पनि हामीलाई ठूलो प्रतिफल दिनेछन् । यसका लागि सबैको सकारात्मक सोच र सत्प्रयास आवश्यक छ।
सानो बचत कम्पनीमा लगानी गर्न मिल्ने गरी महासंघको पहलमा लगानी कम्पनी स्थापना गर्ने तयारी छ । यो महासंघको आफ्नो कम्पनी होइन । महासंघले सबै व्यवसायीलाई जोडेर सुरुमा सहजीकरण गर्ने हो । उक्त कम्पनी स्वतन्त्र रूपमा सञ्चालन हुन्छ । हाम्रा युवाहरूका सपना खाडीमा खेर जान नदिऔं । उद्यमीको मोहरलाई रुपैयाँ बनाउने अवसर दिऔं । रित्तिएका पहाड र बस्तीको माटो हराभरा बन्न सक्छ । यसका लागि पनि नेपालको निजी क्षेत्रलाई थप हौसला प्रदान गर्नुपर्छ । हामी भूकम्पपछि कसरी उठ्यौ रु अनि कोभिडपछि कसरी तंग्रियौं रु यी दुःखबाट पनि हामीले प्रेरणा लिन सक्छौं । मुलुकको निजी क्षेत्र विकास र समृद्धिको नेतृत्व लिन तयार छ, मात्र वातावरणको खाँचो छ ।
सबै मिलेर यही वातावरण निर्माण गरौं र आजैदेखि अर्थतन्त्रलाई सबल बनाऔं भनेर हामीले आजको यस गरिमामय सभामा यहाँहरूसामु पाँचबुँदे प्रतिबद्धतापत्र पेस गरेका छौं । यसमा हामी यहाँहरूको प्रतिबद्धताको अपेक्षा गरेका छौं । अहिले निराशा र अविछश्वास बढेका बेला यहाँहरूले यी प्रतिबद्धता जनाइदिनुभए मात्रै पनि सकारात्मक सन्देश जाने मैले अपेक्षा गरेको छु। यहाँहरूसमक्ष यसका लागि हार्दिक अनुरोध गर्दछु । नेपाल उद्योग बाणिज्य महासंघले राख्दै आएको द्विपक्षीय लगानी सम्झौता बीआईएको खाका मन्त्रिपरिषद्बाट पारित भएको छ । मयसका लागि सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु । अब छिट्टै हामीले सुधारका लागि तयार पारेको १२ कानुन एवं नियमावली पनि पारित हुने अपेक्षा गरेका छौं ।
आजको यस कार्यक्रममा मुलुकभरबाट एक हजारभन्दा बढी उद्यमी व्यवसायी भेला भएका छौं । व्यवसायी र आम सर्वसाधारणको मुहारमा मुस्कान छर्न राजनीतिक नेतृत्व र हामीले धेरै काम गर्नु छ । यो निराशालाई आशामा परिणत गर्नु छ । अबको दुई दिनपछि नयाँ वर्ष २०८१ सुरु हुँदै छ । सम्माननीय प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, नेतृत्ववर्ग नयाँ वर्षमा हामी व्यवसायीहरूले यहाँहरूबाट के सन्देश लिएर जाने, अब यो यहाँहरूको हातमा छ । नयाँ वर्ष २०८१ को शुभकामना !