शेयर बजारमा अर्थमन्त्रीको अग्नि परीक्षा, हटाउलान् त नीतिगत बाधाहरु ?
काठमाडौँ । गत साता निराश भएका लगानीकर्ता साताको सुरु कारोबार दिन आइतबार भने उत्साहित बने । गएको साता पाँचवटै कारोबार दिन शेयर बजार राताम्य हुँदा लगानीकर्ता निराश बनेका थिए ।
लामो समयसम्म खुम्चिएको बजारमा सुधार आउँदा आइतबार १९० कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । पछिल्लो दिनमा शेयर बजारमा कारोबारको प्रकृति हेर्दा लगानीकर्ताले लगानी बढाएको देखिन्छ । तर, लामो समयदेखि घटिरहेको बजारमा लगानीकर्ताले सकारात्मक आशाको संकेत भने अझै देखेका छैनन् ।
सत्ता गठबन्धन परिवर्तन भई सरकार फेरिंदा समेत पूँजी बजारप्रति राष्ट्र बैंकको नीति परिमार्जन हुन सकेको छैन भने सरकारका तर्फबाट बजारलक्षित कुनै पनि नीतिगत सुधारको पहल हुन सकेको छैन । अब लगानीकर्ताको ध्यान मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षातर्फ केन्द्रीत भएको छ ।
तेस्रो समीक्षामार्फत राष्ट्र बैंकले शेयर बजारका लागि केही खुकुलो नीतिगत व्यवस्था गर्ने लगानीकर्ताको अपेक्षा छ । त्यसैको आशामा अहिलेसम्म बजार जसोतसो सास फेरिरहेको छ ।
नीतिगत अस्थिरताले थिचियो बजार
लगानीकर्ताको मुख्य माग नै नीतिगत अवरोध फुकुवा रहेको छ । लामो समयदेखि लगानीकर्ताले उठाइरहेका मागमा नियामक निकाय आश्वासनभन्दा माथि उठ्न सकेको छैन । लगानीकर्ताले काम भन्दा परिणम खोजेको छन् ।
निक्षेपको ब्याज घटे पनि कर्जाको ब्याज खासै नघटेकाप्रति लगानीकर्ताको गुनासो छ । लगानीकर्ता छोटेलाल रौनियारका अनुसार लगानीकर्ताले व्यक्तिगततर्फको १५ करोड र संस्थागततर्फको २० करोडको कर्जा सीमा हटाउनुपर्ने, सेयर धितोको जोखिमभार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झार्नुपर्ने, पुँजीगत लाभकर संस्थागतलाई ४ प्रतिशत र व्यक्तिलाई २.५ प्रतिशत कायम गनर्नुपर्ने, एक वर्षभन्दा बढी समय होल्ड गर्नेलाई पुँजीगत लाभकर १ प्रतिशत मात्रै लिनुपर्ने, धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कमिसन घटाउनुपर्ने, नेप्सेको पुनसर्रंचनावा नयाँ स्टक एक्सचेन्ज अनुमति दिनुपर्ने माग गरिरहेका छन् ।
अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेसँगै पूँजी बजारका लगानीकर्तालाई झिनो आशा दिलाएका थिए । त्यो आशा समेत हालसम्म आश्वासनमा सिमित हुँदा लगानीकर्ता खिन्न छन् । नियामकको सक्रियता भन्दापनि लगानीकर्ताले नीतिगत अवरोध सुधारको अपेक्षा राखेका छन् । राष्ट्र बैंकले लिएको कसिलो नीतिलाई खुकुलो बनाउनु पर्नेमा लगानीकर्ताले रटान छोडेका छैनन् । र, पनि केन्द्रीय बैंकले सुनेको छैन ।
नीतिगतका कारण थिचिएको शेयर बजार सुधार नभएसम्म माथि उठ्न नसक्ने लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । यो बजार नीतिगत प्रहार भएको छ । राष्ट्र बैंकले लगाएका शेयर बजारलाई बाधा गर्न सिमा सुधार हुनु पर्छ । सो कुरामा सुधार आउन सकेन भने पूँजी बजार माथि आउने कुनै संकेत नै देखिदैन ।
अर्थमन्त्रीबाट सकारात्मक आश गर्दै लगानीकर्ता
अर्थमन्त्री वर्षमान पुन अर्थमन्त्रालयको जिम्मेवारीमा नियुक्त भएसँगै लगानीकर्ताको पूँजी बजारमा आशा थपिएको थियो । अर्थमन्त्री पुनले गरेको प्रतिवद्दताले हौसिएका लगानीकर्ता अब भने परिणम खाजि रहेका छन् ।
अबको केही साताभित्र धितोपत्र बोर्डले समेत अध्यक्ष पाउने अवस्था छ । बोर्डको अध्यक्ष बन्नका लागि परेका १९ आवेदनबाट पाँच जनाको नाम सिफारिस समितिले अन्तर्वार्ताका लागि प्रकाशित गरिसकेको छ । धितोपत्र बोर्डका कार्यकारी निर्दशक डा नबराज अधिकारी, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, तत्कालिन बीमा समिति अध्यक्ष चिरिन्जीवी चापागाई र सन्तोष नारायण श्रेष्ठ अन्तर्वार्ताको लिष्टमा परेका छन् ।
अर्थमन्त्रालयले चयन गर्ने बोर्ड अध्यक्ष को होलान् ? कस्तो आउलान् भन्ने उत्सुकतामा लगानीकर्ता रहेका छन् । पूँजी बजारलाई बुझेको र बजार चलयमान बनाउन सक्ने अध्यक्ष खोजिरहेकाछन्, लगानीकर्ता ।
अर्थमन्त्रालयप्रति लगानीकर्ताको पहिलो अपेक्षा ब्रोकर कमिसश घटाउनु हो । धितोपत्र बोर्डबाट ब्रोकर कमिशन घटाउन दिएको फाइल अर्थमन्त्रालयको दराजमा थन्किएको छ । आफुहरुले अब सुरुमा उक्त फाइलको प्रक्रियाअघि बढेको हेर्ने चाहेको लगानकर्ता रौनियारले बताए । उनले भने, ‘लामो समयदेखि ब्रोकर कमिशन घटाउने फाइल अर्थमन्त्रालय मै रोकिएको छ । तत्काल अर्थन्त्रालयबाट लगानीकर्ताले सोही आश गरेका छन् ।’
अर्थमन्त्री वर्षमान पुनले नियामक निकाय नेपाल राष्ट्र बैंकसँग शेयर बजार सुधारका लागि आवश्यक समन्वय गर्न आवश्यक रहेको लगानीकर्ता तुलसीराम ढकालले बताए । ‘राष्ट्र बैंकले लगाएका केही सीमा खुकुलो गर्नु पर्छ । नीतिगत अस्थिरताले थचिएको बजारमा अर्थमन्त्रालयले राष्ट्र बैंकसँग समन्वय नगरी पूँजी बजारअघि बढ्न सक्दैन’ ढकालले भने ।
अर्थमन्त्री पुनको बोली केवल बोलीमा मात्र सिमित भएको लगानीकर्ता राधा पोखरेलको गुनासो छ । उनले भनिन्, ‘अर्थमन्त्री आउँदा लगानीकर्तामा एक खालको उत्साह आएको थियो । उनी आउँदा लगानीकर्तालाई बजारमैत्री अर्थमन्त्री पाएको आश पलाएको थियोे । तर, उनले दिएको आश्वासन अहिलेसम्म बोलीमा मात्र सिमित भएको छ । लगाीकर्ताले बोली भन्दा पनि परिणाममुखि काम खोजिरहेका छन् ।’