शेयर धितो कर्जाको सीमा बढिरहेपनि किन बढ्न सकेन शेयर बजार ?
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा मात्र बैंक तथा वित्तीय संस्थाले ९ अर्ब माथि कर्जा प्रवाह गर्न सफल भएका छन् ।गत आर्थिक वर्षको आठ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा सेयर कर्जा १२.३ प्रतिशतले बढेको हो ।गत आर्थिक वर्षको आठ महिनामा सेयर कर्जाको वृद्धिदर ६.६ प्रतिशतले ऋणात्मक थियो।
गत वर्षको माघ फागुनतिर सेयर कर्जा मात्र होइन, सेयर बजार पनि घटिरहेको थियो । तर यस आर्थिक वर्षका प्रायः महिनामा सेयर कर्जाको वृद्धिदर सकारात्मक छ भने गत माघदेखि दोहोरो अंकले बढिरहेको नेपाल राष्ट्र बैंकको मासिक तथ्याकले देखाउँछ ।
नेप्से घटिरहेका बेला सेयर कर्जा पनि घट्नु स्वाभाविक मानिए पनि सेयर कर्जा लगातार बढिरहँदा सेयर बजार बढ्न नसक्नुलाई आश्चर्यका रूपमा हेरिएको छ । चालु आर्थिक वर्षको सुरुका महिनादेखि नै वित्तीय प्रणालीमा पर्याप्त तरलता छ । ब्याजदर निरन्तर घटिरहेको छ भने कर्जा माग निकै कम छ ।
यसकारण पनि अहिले बैंकले सेयर लगानीकर्तालाई कर्जा लिन आग्रह गरिरहेका छन्।राष्ट्र बैंकको तथ्यांकले साना लगानीकर्ताले पनि बैंकबाट कर्जा लिएको देखाउँछ । तर पनि बजार किन बढ्न सकेन भन्ने प्रश्नको जिज्ञासामा स्टक बोक्ररहरुको पनि रहेको छ। शेयर लगानीकर्ता हार्दिक ब्रजाचार्यले भने, ‘बजार बढ्नका लागि अहिले चाहिएको सकारात्मक संकेत (समाचार) मार्फत लगानीकर्ताको आत्मविश्वास वृद्धि हो ।
पछिल्ला दिनमा सेयर बजारमा कारोबारको प्रकृति हेर्दा लगानीकर्ताले लगानी बढाएको देखिन्छ । तर लामो समयदेखि घटिरहेको बजारमा लगानीकर्ताले सकारात्मक आशाको संकेत देखेका छैनन् ।’सरकारको गठबन्धन परिवर्तन पनि सरकार र राष्ट्र बैंकका नीतिहरूमा परिमार्जन भएका छैनन् । यसकारण मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामार्फत राष्ट्र बैंकले सेयर बजारका लागि केही खुकुलो नीतिगत व्यवस्था गर्ने लगानीकर्ताको अपेक्षा छ ।
‘सेयर बजार बढ्नका लागि आवश्यक धेरैजसो आधार तयार छन् । जस्तो– तरलता पर्याप्त छ, ब्याजदर घटिरहेको छ ।सेयर बजारमा थप गिरावट नहुँदा बैंकबाट मार्जिन कल आएको छैन,’ उनी भन्छन्, ‘तर, नयाँ सरकारका मन्त्रीहरूले सेयर बजार आफ्नो प्राथमिकतामा रहेको बताउँदै आएका छन् । उनीहरूको वक्तव्यअनुसार नीतिगत सुधार भएको छैन ।’
यसकारण अहिले बजार वृद्धिका लागि सकारात्मक उत्प्रेरणा चाहिएको उनले बताए ।‘यस्तो उत्प्रेरणाका लागि ठूलै नीतिगत परिवर्तन नहुन पनि सक्छ, सकारात्मक सन्देश दिने खालका नीतिगत परिमार्जन हुन सक्छन्,’ उनी भन्छन् ।
यसअघि ०७८ भदौमा राष्ट्र बैंकले ४ करोड र १२ करोडको सीमा लगाएपछि घट्न थालेको सेयर कर्जा त्यसपछिका प्रायः सबै महिनामा घटिरहेको थियो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ४ करोडको सीमा हटाएर १२ करोड मात्र कायम गरेको थियो ।
त्यति बेला राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको सेयर कर्जामा जोखिम भार घटाएर एक सय प्रतिशत बनाएको थियो । यसअघि २५ लाख रुपैयाँसम्मको सेयर कर्जाको जोखिमभार मात्र एक सय प्रतिशत र त्योभन्दा बढी सबै कर्जाको एक सय ५० प्रतिशत थियो ।
.उक्त नीतिगत परिवर्तनले पनि सेयर लगानीकर्तालाई उत्साहित गर्न सकेको थिएन । त्यसपछि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले (गत असोजमा) सेयर कर्जाको सीमा बढाएर व्यक्तिगत लगानीकर्ताले बढीमा १५ करोड रुपैयाँसम्म र संस्थागत लगानीकर्ताले २० करोड रुपैयाँसम्म सेयर कर्जा लिन पाउने व्यवस्था गरेको छ । यस्तो व्यवस्थापछि सेयर बजारमा सकारात्मक प्रभाव पर्ने नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूले दाबी गरेका थिए । तर बजारले त्यो संकेत देखाएन ।
राज्यको नीतिगत व्यवस्थाले सेयर बजार प्रभावित हुने र पछिल्ला वर्षमा कसिला नीति आएकाले सेयर कारोबार मापक नेप्से परिसूचक बढ्न नसकेको अर्का एक सेयर ब्रोकरले बताए । नयाँ आर्थिक वर्ष सुरु भएपछि तरलता अवस्था सहज भएकाले बैंक तथा वित्तीय संस्थाले साना ठूला सेयर कर्जामा विभिन्न अफर ल्याइरहेका छन् । तर, शिथिल अर्थतन्त्र, अपेक्षाअनुरूप बढ्न नसकेको सेयर बजारलगायत कारण लगानीकर्ता कर्जा लिएर सेयरमा लगानी गर्ने हिम्मत धेरै लगानीकर्तामा आइनसकेको ती अधिकारीले जनाए ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत फागुनसम्म २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर कर्जा ८.८ र २५ लाख रुपैयाँभन्दा कमको कर्जा १.८ प्रतिशतले बढेको छ । तर सोही अवधिमा एक करोड रुपैयाँभन्दा बढीको कर्जा १७.४ प्रतिशतले बढेको छ ।
उल्लिखित तथ्यांकले सेयरका साना कर्जाको न्यून दरले बढ्दा ठूला कर्जा उच्च दरले बढेको देखाउँछ । यस्तै गत फागुनसम्म ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा भने ३.१ प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । ०७९ फागुनसम्म २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर कर्जा १७.१ र एक करोडभन्दा माथिको कर्जा ५.३ र २५ लाख रुपैयाँभन्दा कमको कर्जा १७.१ प्रतिशतले घटेको थियो । सोही अवधिमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा भने १० प्रतिशतले बढेको थियो ।