लघुवित्तको योगदान धेरै छ, विरोध मात्रै नगरौं– वार्ताद्धारा नै समाधान दिनुपर्छः अध्यक्ष यादव
काठमाडौँ । पछिल्लो समय लघुवित्त विरुद्धका आन्दोलन चर्की रहेको छ । गाउँ घर तथा दूर दजारसम्मका गरिबलाई बिना धितो ऋण दिदै आइरहेका लघुवित्त संस्था विरुद्ध पछिल्लो समय सडक आन्दोलन भइरहेको छ। आम सर्वसाधारणको जीवन स्तर माथि उठाउनको लागि ठुलो योगदान दिदै आइरहेका माइक्रोफाइनान्स बिरुद्धका आन्दोलनले कर्मचारी देखि संचालकलाई मार परेको छ । बजारमा चलिरहेको ऋण मिनाहाको आन्दोलनले सरकार संयन्त्र समेत मौन छ । लघुवित्त संस्थाहरूको नाफामा सङ्कुचन देखिएको छ । यता, खराब कर्जा समेत निरन्तर वृद्धि भइरहेको हो ।
कम्पनीहरूलाई ऋणको सावा र ब्याज उठाउन निकै चुनौती रहेको छ । लगानीयोग्य वातावरण नहुँदा ऋणीहरूलाई ऋण तिर्ने सकस परि रहेको छ । अर्थतन्त्र मै आर्थिक मन्दीको र ऋणहरू आफ्नो क्षमता भन्दा बढी कर्जाको भार ऋण तिर्ने सकी रहेको अवस्था छैन। माइक्रोफाइनान्स प्रतिको नकारात्मक आन्दोलनले लिएको कर्जा मिनाहा हुन्छ भनेर ग्राहकहरूमा भ्रम छरिएको छ।
के अब लघुवित्त सङ्कटमा परेको अवस्था हो त ? के छ लघुवित्त पछिल्लो अवस्था ? यिनी कुरामा नै रहेर बीमा पोष्ट डटकमका लागि संवाददाता दिपक विष्टले लघुवित्त बैंकर्स सङ्घका अध्यक्ष तथा नेशनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रामबहादुर यादवसँग गरेको कुराकानीको अशः
पछिल्लो समय लघुवित्त विरुद्धका आन्दोलन चर्किँदै गएको छ नि किन हो ?
लघुवित्त विरुद्धको आन्दोलनमा अराजक तत्त्व हाबी भएको छ । यो व्यक्तिगत स्वार्थको हिसाबमा आन्दोलन अघि बढेको छ । हामीले बेला बेला लघुवित्तका ग्राहकहरूलाई परेको समस्या छलफल गरौँ । धेरै कुरा सुधार भइसकेको छ । राष्ट्र बैङ्कले ऋण दिन समय थप गर्छौ भनी सकेको अवस्था छ । अझै पनि जुन अराजक गतिविधि भइरहेको छ यो आन्दोलन व्यक्तिगतमा स्वार्थ छ भन्ने प्रस्ट हुन्छ ।
व्यक्तिगत स्वार्थका साथै आन्दोलनमा राजनीति स्वार्थ समेत जोडिएको छ । आर्थिक लाभ लाभ लिन हिसाबले पनि यो आन्दोलन बढी रहेको छ । यो आन्दोलन वास्तविक आन्दोलन नभई राजनीति हिसाबमा मोडिन खोजेको छ । समस्या परेका ग्राहकहरूलाई के समस्या भएको हो । केन्द्रीय बैङ्कले बेला बेला भनी रहेको छ के समस्या भएको छ ? उजुरी दिनुहोस् । हामी आफै पनि भनी रहेका छौ ग्राहकहरूको समस्या छ भने छलफलमा गरेर समस्यालाई निचोड दिऊ ।
गरिब जनताको जीवन स्तर सुधारमा ठुलो भुमिका खेलेका लघुवित्तको नकारात्मक कुरा गरेर मात्र हुँदैछ । योगदान समेत ठुलो छ । समस्याको समाधान वार्ताबाट हुन्छ । छलफलमा आउनुहोस् । हामी विकल्प दिन्छौं ।
यहाँ ग्राहकहरू मार्कामा प¥यो भनी रहेको अवस्था छ । तर, लोन लिने मान्छे आन्दोलनमा जाने दिन मान्छेलाई गलत काम भयो भन्ने भाष्य निर्माण भएको छ ।
वास्तविक पीडितहरूले त ऋण मिनाहा गर्नु पर्छ भनेकै छैन भन्छन् उनीहरू त ऋण माग्न जाँदा अराजक शैली अपनाए भन्ने गुनासो गर्दै आइरहेका छन् नि ?
वास्तविक पीडितको समस्या लघुवित्तले बुझेको छ । अहिले ऋण तिर्ने नकस्नु भनेको आर्थिक मन्दी र कर्जाको भार क्षमता भन्दा बढी हुनु हो । मन्दी र कर्जाको भार भएर कर्जा तिर्ने नसकेको हो भने हामीले हाम्रो सम्पर्क आउन आव्हान गरेका छौँ । यस्ता पीडितहरूलाई थप समय दिएर वा नयाँ व्यवसाय गर्ने कर्जा दिएर समस्याको समाधान गर्ने तिर हामी तयार छौँ । २/३ कम्पनीबाट कर्जा लिँदा भार भएको भए एकै ठाउँमा ल्याएर किस्ता तिर्ने व्यवस्था मिलाउन तिर समेत हामी तयार छौँ । यसरी किस्ताको भार कम हुन्छ ।
तर, म पैसा नै तिर्दैन कुनै हालतमा म पैसा दिँदैन मेरो ऋण मिनाहा गर्नु पर्छ भन्नेहरूको हकमा लघुवित्तले केही गर्ने सक्ने अवस्था छैन । ऋण नर्तिने भन्ने कुराको विकल्प छैन ।
वास्तविक पीडितहरूलाई माइक्रोफाइनान्सले नै खोजी रहेको छ । वास्तविक पीडितको घरमा खानेकुरा छैन आर्थिक स्थिति कमजोर छ भने हामीले पैसा दिनुहोस् भनेर कुरै गरेका छैनौँ । अझ बालबालिका लगायत परिवारको आधारभूत आवश्यकता पुरा गरी दिनको लागि हाम्रो तर्फबाट के गर्ने सक्छौ त्यो हामी गर्छौ । हामीसँग सम्पर्कमा आउनु होस् लघुवित्त तपाईँहरूको नै सारथि हो । अहिले तत्काल पैसा तिर्नु पर्छ भन्ने छैन यदि गारो अवस्था छ भने छलफल गरौँ उपाय खोजौँ । यो तयारीकाबाट माइक्रोफाइनान्स अघि बढी रहेको छ ।
साँझ बिहान एक छाक खाना समेत नखाई सडकमा रात बिताइ रहेका लघुवित्त पीडितको माग जायज नभएको हो र ?
लघुवित्त सघर्ष समितिको माग अराजक छ । अवैधानिक सर्घष समिति अराजक गतिविधि अगाडि बढाइरहेको छ । कर्जा मिनाहाको सम्भावना छ त ? यो देशमा कर्जा मिनाहा भयो भने त्यसको प्रभाव बैंकिङ्ग क्षेत्रमा के हुन्छ ? कर्जा अनुशासनमा यसको प्रभाव के पर्छ ? मान्छेको दिमागमा के प्रभाव पर्छ ? यो माग पुरा हुनै नसक्ने माग हो ।
लघुवित्त संस्था खारेज पनि सम्भव नहुने कुरा हो । माइक्रोफाइनान्सको विकल्प के हुन्छ ? यति धेरै लघुवित्तहरूले ६० लाख गाउँ घर दूर दराजमा ४ खर्ब ३२ अर्ब रुपैयाँ विना धितो प्रवाह गरेको छ । बिना धितो विश्वासको आधारमा, इमान्दारको आधारमा, प्रयोजनाको आधारमा पैसा दिएको छ यो मिनाहा कुनै सम्भव नभएको कुरा हो । संस्था खारेज भन्ने कुरा एकदमै अराजक माग हो ।
काम अनुसारको दाम दिने भन्ने अर्का माग रहेको छ । जुन लघुवित्तसँग सम्बन्धी रहेको कुरा नै हैन । समाजवाद निर्माण गर्नु पर्ने भन्ने कुरा पनि लघुवित्त भन्दा निकै परको कुरा हो । यस कारण सघर्ष समितिको माग हेर्दा खेरी कस्तो आन्दोलन हो अचम्म लाग्छ । उद्देश्य बिनाको यात्रामा अहिले लघुवित्त पीडितको आन्दोलन रहेको छ । यस्ता माग समाधान हुन सक्दैन । वास्तविक समस्या हो भने समाधानका आधार दिन सकिन्छ।
लघुवित्तको नाफा हेर्दा त निकै सङ्कुचन भएका छन् । खराब कर्जा कै कारण हो कि अरू पनि कारण छ ?
लघुवित्तको नाफामा आएको गिरावटको प्रमुख कारण नै खराब कर्जा बढ्नु नै हो । अर्का कुरा भनेको राष्ट्र बैङ्कले लाभांशमा लगाएको क्याप हो । क्यापले नाफा घट्नुमा ठुलो भूमिका खेलेको छ।
बचतमा ब्याज वृद्धि गर्ने राष्ट्र बैङ्कको व्यवस्थाले समेत लघुवित्त धरापमा परेको अवस्था हो । साढे ७ भन्दा जति प्रतिशत कर्जामा ब्याज लिएको त्यसको ५० प्रतिशत बचतमा दिनु पर्ने । त्यसले समेत लघुवित्तमा असर गरेको छ । नाफा घट्नुको मुख्य कारण नै कर्जा मिनाहा र सडकमा भइरहेको अराजक गतिविधि नै हो । माइक्रोफाइनान्सले १५ प्रतिशत भन्दा एक प्रतिशत भन्दा बढी ब्याज कहिले लिएको छैन । हामी नियामक निकायको घेरामा बसेर काम गरी रहेका छौ । बजारमा चलाइएका हावादारी कुराले ग्राहकलाई अन्यौल राखेर केही मान्छे व्यक्तिगत स्वार्थमा लागि रहेका छन्।
सहकारी र लघुवित्तको समस्या एउटै भन्ने भाष्य निर्माण भएको छ यसलाई चाहिँ कसरी चिर्नु हुन्छ ?
यो भनेको नबुझेको कुरा हो । सहकारी र लघुवित्त भने आकाश पाताल जस्तै फरक छ । सहकारीको समस्या भनेको बोर्डले पैसा खाएको भन्ने हो । यो भने ग्राहकले राखेको पैसा हिनामिना भएको हो । माइक्रोफाइनान्सको समस्या भनेको ग्राहकलाई दिएको समस्या नतिर्ने भन्ने हो । सहकारी र लघुवित्त एउटैमा जोडेर बल्झाउने काम मात्र हो।
सहकारीले भने बचतको आधारमा कर्जा लगानी गर्छ । तर, माइक्रोफाइनान्समा बचतको कुरा आउँदैन । लघुवित्तमा भने कर्जाबाट सुरुवात हुन्छ बचतबाट होइन । सहकारीको ग्राहक धनी गरिब जो पनि हुन सक्छ । तर, माइक्रोफाइनान्सका ग्राहक भनेको गरिब हो । जसले बिना धितो कर्जा प्रवाह गर्ने काम गरी रहेको छ । लघुवित्त विश्वास र इमान्दारिताका आधारमा कर्जा प्रवाह गरी रहेको हुन्छ।
अब नियामकले कस्तो कदम चाले चाहिँ समाधानको बिन्दु बन्न सक्ला त ?
पछिल्लो समय सडकमा भइरहेका अराजक गतिविधि तत्काल रोक्नु पर्छ । यसमा सरकारको ठुलो भूमिका चाहिन्छ । शान्ति सुरक्षा दिने काम सरकारको हो । बैङ्किङ क्षेत्र संवेदनशील छ । बैङ्किङ क्षेत्र बिग्रियो भने मुलुकको अर्थतन्त्रले के हुन्छ यसमा सरकारले सोच्नु पर्ने हो । मुख्य दायित्व सरकारको छ।
तर, लघुवित्त विरुद्धको आन्दोलन सडकमा आउँदा सरकारको भूमिका कमजोर रहेको छ । सरकार अहिले मूकदर्शक बनेको छ । जुन हिसाबबाट भूमिका हुनुपर्ने हो जुन हिसाबमा अराजक गतिविधि रोक्नु पर्ने हो । सरकार चुकेको अवस्था छ।
केन्द्रीय बैङ्कले नीतिगत व्यवस्था समय आपेक्षिक बनाउनु पर्छ । सबै क्षेत्रलाई हेरेर नीतिगत व्यवस्था ल्याउनु पर्छ । तत्काल राष्ट्र बैङ्कले तत्काल गर्नु पर्ने काम भनेको १५ प्रतिशतको क्याप हटाउनु पर्छ । यो क्यापले गर्दा माइक्रोफाइनान्स चलायमान हुन सकेको छैन।
सहुलियत कर्जामा समेत राष्ट्र बैङ्कले ध्यान दिनु पर्ने छ । जम्मा लोनमा ५० प्रतिशत लोन कृषिमा गएको छ । सहुलियत कर्जा ए, बि, सी ले पाउने तर माइक्रोफाइनान्सले नपाउने भएको छ । यो भनेको गरिबले सहुलियत नपाउने र धनिले मात्र सहुलियत पाउने अवस्था रहेको छ । यस्तो सहुलियत कर्जा माइक्रोफाइनान्समा ल्याइयो भने किसानहरूले यो सुविधा पाउनेछन्।
स्थानीय तहको भत्ता बाँड्ने र पेन्सन दिने काम वाणिज्य बैङ्क भन्दा माइक्रोफाइनान्सबाट हुनु जरुरी छ । माइक्रोफाइनान्सको पहुँच गाउँघरसम्म रहेको छ । हामीले घर घर मै गएर पैसा दिन सक्छौँ ।