मुख्य सचिव बैकुण्ठ अर्यालको पद धरापमा, को बन्ला नयाँ मुख्य सचिव ?
काठमाडौं । नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालको पद धरापमा परेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस सम्बन्धी काण्डमा पक्राउ परेका बिकल पौडेलमार्फत विभिन्न व्यक्तिका नाममा १४ लाख रुपैयाँ घुस रकम बुझेको तथ्य प्रहरीले फेला पारेसँगै अब मुख्यसचिव बैकुण्ठ अर्यालको पद समेत धरापमा परेको हो । बीमापोष्टलाई प्राप्त सूचनामा आगामी आइतबारसम्ममा मुख्य सचिवको पद रिक्त हुनेछ ।
हाल अख्तियारले नियन्त्रणमा लिई छानविन गरिरहेको बिकल पौडेलसँगको प्रमाणका आधारमा मुख्य सचिव बैकुण्ठ अर्याल पनि सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डमा मुछिन पुगेका छन् । जसका कारण उनको पद धरापमा परेको छ । उनले छिट्टै राजिनामा दिने सम्भावना रहेको बताइन्छ । मुख्य सचिव बैकुण्ठ अर्यालको पद धरापमा परेसँगै प्रधानमन्त्री कार्यालयमा नयाँ बन्ने मुख्य सचिवको चर्चा सुरु भएको छ । जसमा देव कुमारी गुरागाँई, गृह मन्त्रालयका सचिव दिनेश भट्टराई, श्रम सचिव केवल प्रसाद भण्डारी, शिक्षा सचिव सुरेश अधिकारी, एक नारायण अर्याल र कृष्णहरि पुस्कर मध्येबाट मुख्य सचिव सुरु भएको छ ।
सरकारले नयाँ मुख्यसचिव नियुक्त गरेको अवस्थामा बरिष्ठताको आधारमा हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेकी देव कुमारी गुरागाँई मुख्य सचिव हुनेछिन् भने अन्य अवस्थामा बरिष्ठतम् सचिवहरु मध्येबाट एक जना मुख्य सचिव बन्ने छन् । गुराँगाईलाई मुख्य सचिव बनाइएको अवस्थामा भने नेपालको इतिहासमा पहिलो पटक महिला मुख्य सचिव बनेर नयाँ इतिहास लेखिनेछ ।
उता, कामु मुख्य सचिवको जिम्मेवारी दिने निर्णय भएमा प्रधानमन्त्री कार्यालयका बरिष्ठ सचिव एक नारायण अर्यालले निमित्त मुख्य सचिवको जिम्मेवारी पाउने सम्भावना रहेको छ ।