हवाई यातायात सम्बन्धी बीमा विधेयक पर्यटन मन्त्रालयमा, मृतक यात्रुले पाउने रकम बढाउने तयारी
काठमाडौं । सरकारले ‘हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्ने विधेयक’ बनाउने भएको छ ।सो विधेयकमा आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुलाई सवा करोड रुपैयाँ रकम दिने व्यवस्था गर्न लागेको छ । सो विधेयकको प्रारम्भिक मस्यौदा तयार पारेर पर्यटन मन्त्रालयले मन्त्रिपरिषदमा दर्ता गराएको छ ।
मन्त्रिपरिषदले उक्त विधेयकको मस्यौदालाई स्वीकृत गराएको अवस्थामा आश्यक प्रक्रिया पूरा गरेर अगाडि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी रामकृष्ण श्रेष्ठले बताएका छन् ।
यो विधेयक स्वीकृत भएर आएपछि आन्तरिक उडानमा ज्यान गुमाउने यात्रुले हाल पाउँदै आएको बीमा रकम ५ गुणाले बढ्ने छ ।
हाल आन्तरिक उडानका जहाज दुर्घटना भएर ज्यान गुमाउने यात्रुले २० हजार डलर पाउँछन् भने मन्त्रायले तयारी गरेको उक्त विधेयक स्वीकृत भएर आएपछि १ लाख डलर अर्थात अहिलेकै डलर सटहीको दरअनुसार पनि १ करोड ३० लाख रुपैयाँभन्दा बढी रकम सम्बन्धित यात्रुका परिवारले पाउँछन् ।
सहसचिव लामिछानेका अनुसार, सरकारले आन्तरिक हवाई दुर्घटनामा यात्रुले पाउने क्षतिपूर्ति बढाउन खोजिएको हो ।
‘हाल अन्तर्राष्ट्रिय उडानमा यस्तो बिमा रकम १ लाख ६० हजार डलर छ । सोही अनुसार बनाउन नसकिए पनि १ लाख डलर बनाउन गरी कानुनको मस्यौदा तयार पारिसकेको छ,’ उनले भने, ‘उक्त मस्यौदालाई मन्त्रिपरिषदले स्वीकृत दिएपछि अन्तिम खाका बनाएर पुनः पेस हुने छ । त्यसपछि संसदबाट स्वीकृत भएर ऐन बनेपछि मात्रै आन्तरिक उडानका यात्रुले पाउने बीमारकम बढ्छ ।
यो विधेयक तयार पार्न यस अघि २०७७ चैत १२ मै सरकारले सहसचिव लामिछाने नेतृत्वको ९ सदस्यीय कार्यदललाई जिम्मा दिएको थियो । उक्त कार्यदलले तयार पारेको मस्यौदालाई मन्त्रिपरिषदमा आइतबार पेस गरिएको हो ।
‘हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्ने विधेयक’को प्रारम्भिक मस्यौदा अनुसार आन्तरिक हवाई उडानमा समेत अब मन्ट्रियल महासन्धी १९९९ का प्रावधान लागु गर्न खोजिएको हो ।
यो महासन्धिले हवाई दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको निकटको परिवारले १ लाख डलर क्षर्तिपूर्ति पाउँछन् । यो क्षतिपूर्ति हाल अन्तर्राष्ट्रिय उडानका वायुसेवाको हकमा मात्रै नेपालमा पनि लागु छ ।
नेपालले सन् २०१८ को अक्टोर १६ मा महासन्धिलाई अनुमोदन गरेर सोही वर्षको डिसेम्बर १५ बाट लागु गरेको हो । यही महासन्धि अनुसार ऐन बनाएर आन्तरिक उडानमा पनि यात्रुले पाउने बिीमा दाबी, ब्यागेजको क्षतिपूर्ति, जहाज डिले हुँदा पनि क्षतिपूर्ति दाबी गर्न सक्ने व्यवस्था गर्न खोजिएको पर्यटन मन्त्रालयको भनाइ छ । बीमा रकम बढाउँदा प्रिमियम पनि बढ्ने भएकोले कम्पनीहरुलाई मार नपर्ने गरी १ लाख डलरमात्रै प्रस्ताव गर्न खोजिएको पनि मन्त्रालयको भनाइ छ ।
पर्यटन मन्त्रालयले तयार पारेको हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्ने विधेयकको मस्यौदा अनुसार नेपालले आन्तरिक उडानमा वार्सा कन्भेन्सन १९२९ को प्रावधानलाई लागु गरिरहेको छ ।
यो प्रावधानअनुसार अहिले कुनै पनि आन्तरिक उडानका जहाज दुर्घटन हुँदा यात्रुले ज्यान गुमाएको अवस्थामा बिीमा कम्पनीबाट २० हजार डलर क्षतिपूर्ति पाउछन् । यसको लागि सम्बन्धित जहाज र बीमा कम्पनीले सहजीकरण गर्ने भएकोले बीमा रकम यात्रुलाई दिन गाह्रो नभएको आन्तरिक वायुसेवा कम्पनीको भनाइ छ ।
यात्रुलाई यात्राको क्रममा चोटपटक मात्रै लागेपछि बिमा दाबी गर्न सकिन्छ । यसका लागि सोको उपचार तथा क्षतिवापतको रकम दाबी गर्न सम्बन्धित वायुसेवा कम्पनी हुँदै बिमा कम्पनी पुग्नुपर्छ । यसको लागि प्रमाण पु¥याएर ६० दिनभित्र बीमा रकम दाबी गर्न सकिन्छ । दाबी परेको ६० दिनभित्र सम्बन्धित वायुसेवा कम्पनीले क्षतिपूर्तिका सम्बन्धमा निर्णय दिने गरेका छन् ।