बीमा कम्पनीहरुको कुल लगानी पौने सात खर्ब

रिना खत्री
१३ फाल्गुन २०८०, आईतवार १८:३८

काठमाडौं । बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिकाको प्रावधान अनुसार हाल संचालनमा रहेका बीमा कम्पनीहरुले पौने सात खर्ब रुपैयाँ रकम लगानी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिका बमोजिम हाल संचालनमा रहेका १४ जीवन र ,१४ निर्जिवन गरी २८ बीमा कम्पनीहरुले बैंक तथा वित्तिय संस्थाको मुद्वती निक्षेप सहित विभिन्न पूर्वधारको क्षेत्रमा लगानीको दायरा थप विस्तार गरेका छन् ।

बीमा कम्पनीहरुको कूल लगानी छ खर्ब ८६ अर्बभन्दा बढि रहेको छ । जीवन र निर्जीवन बीमा कम्पनीहरुले खडा गरेको जीवन बीमा कोष, बीमा कोष, जगेडा कोष, महाविपत्ति कोष र पुँजि समेत गरी कूल लगानी सवा छ खर्बभन्दा बढि पुगेको हो । यो रकम नेपालको कूल बजेटको करिब आधा हिस्सा हो ।

जीवन बीमा कम्पनीहरुले बैंक तथा वित्तिय संस्था सहित विविध क्षेत्रमा ६ खर्ब २२ अर्ब रुपैयाँ लगानी गर्न सफल भएको छ। निर्जिवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अवधिसम्म्मा ६३ अर्ब ६४ करोड रुपैयाँ कुल रकम बैंक तथा वित्तिय संस्था सहित विभिन्न क्षेत्रमा लगानी गरेको कम्पनीहरुले प्रकाशन गरेको तथ्यांकले देखाएको छ।

बीमा कम्पनीहरुको लगानीको मुख्य हिस्सा नेपालका बैंकहरुमा मुद्दती निक्षेपको रुपमा जम्मा हुने गरेको देखिएको छ । हालसम्म झण्डै चार खर्ब रुपैयाँ बीमा कम्पनीहरुले बैंकमा निक्षेपको रुपमा रकम लगानी गरेको देखिएको छ ।

प्राधिकरणले लगानी निर्देशिका जारी गरेको नौ वर्ष भइसक्दा पनि बीमा कम्पनीहरुले लगानी निर्देशिका अनुसार आफ्नो लगानी योग्य रकमलाई विविधिकरण गर्न सकेका छैनन् । बीमा कम्पनीहरुले सुरक्षा र जोखिमलाई विश्लेषण गरेर अन्य क्षेत्रमा लगानी गर्दा जोखिम रहेकोले बैंकको मुद्दति निक्षेपमा धेरै रकम थन्किएको हो ।

निर्देशका अनुसार बीमा कम्पनीहरूले नेपाल सरकारको बचतपत्र वा ऋणपत्रमा न्यूनतम २० प्रतिशत, क वर्गको बैंक तथा नेपाल पूर्वाधार बैंक लिमिटेडको मुद्दती निक्षेपमा न्यूनतम ३० प्रतिशत, खर ग वर्गको बैंकमा बढीमा १० प्रतिशत, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा १० प्रतिशत, घर जग्गा व्यवसायमा १० प्रतिशत, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा १० प्रतिशत, ‘क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा २० प्रतिशत, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको सुरक्षित डिबेन्चरमा २० प्रतिशत, कृषि, पर्यटन, जलस्रोत लगायतका पूर्वाधारमा १० प्रतिशत, म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ५ प्रतिशत, इन्भेष्टमेन्ट कम्पनीमा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था रहेको छ।

निर्देशिकामा लगानीको लागि क्षेत्र तोकिएको भएपनि बीमा कम्पनीहरुले ठूलो रकम ‘क’ वर्गका वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेका छन् । वाणिज्य बैंकको मुद्दती निक्षेप बाहेक कुनै पनि क्षेत्रमा बीमा कम्पनीहरुले लगानी निर्देशिका अनुसार सीमा पुर्याएका छैनन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरूले आव २०८०÷८१ को अन्त्यसम्ममा ६ खर्ब ८६ अर्ब रुपैयाँ लगानी गरेका छन्
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमा कम्पनीहरूले प्राधिकरणले जारी गरेको लगानी निर्देशिका अनुसार बिस्तारै काम गरिरहेको बताँउछन् ।
‘बीमा कम्पनीहरूले लगानी निर्देशिका बमोजिम नै लगानी गरिरहेका छन् । तर, धेरैजसो कम्पनीहरूले मुद्दती निक्षेपमा नै लगानी गरिरहेको पाइन्छ,’ उनले भने, ‘कम्पनीहरूले भौतिक पूर्वाधार, विकास निर्माण, पर्यटन, कृषिलगायत क्षेत्रमा कम लगानी भएको देखिन्छ ।
बीमा कम्पनीहरुले उक्त क्षेत्रमा पनि आफनो दायरा विस्तार गर्ने क्रमममा रहेको उनको भनाई छ । पछिल्लो समय बीमा कम्पनीहरूले एयरलाइन्स, कृषिलगायत क्षेत्रमा लगानी शुरू गरेका छन् । उचित प्रतिफल आउने कम्पनीहरुमा बिश्लेषण गरेर मात्रै लगानी गर्नु कम्पनीको लागि उचित रहेको पौडेल बताँउछन् ।
जीवन बीमा कम्पनी
जीवन बीमा कम्पनीहरूले आव २०८०/८१ को दोस्रो त्रैमासको अवधिसम्म्मा कुल ६ खर्ब २२ अर्ब ४१ करोड ३२ लाख रुपैयाँ बैंक तथा विविध क्षेत्रमा लगानी गरेका छन् ।जीवन बीमा कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ८८ प्रतिशत लगानी गरेका छन् ।

जीवन बीमा कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंकको मुद्धती निक्षेपमा मात्रै ४ खर्ब ८४ अर्ब रुपैयाँ लगानी गरेका छन् । भने प्राधिकरणले छुटाएको लगानी निर्देशिका बमोजिम १ खर्ब ३८ अर्ब रुपैयाँ अन्य विविध क्षेत्रमा लगानी गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले सबैभन्दा धेरै क वर्गको बैंकको मुद्धती निक्षेपमा पैसा राखेको छ। कम्पनीहरुले दोस्रो त्रैमासको अवधिसम्मा ४ खर्ब ३२ अर्ब रुपैयाँ राखेको छ ।

दोस्रोमा र्बैंकको अग्राधिकार शेयर, बण्ड, डिभेन्ञ्चर र ऋणपत्रमा ४५ अर्ब रुपैयाँ, ख वर्गको बैंकमा ४० अर्ब ३० करोड रुपैयाँ, अन्य लगानीमा ३५ अर्ब ८३ लाख रुपैयाँ लगानी गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले सबैभन्दा थोरै पूर्वधार बैंकको मुद्धती निक्षेप, सूचीकृत नभएका कम्पनी र इन्भेष्टमेन्ट कम्पनीमा गरेका छन् ।

निर्जिवन बीमा कम्पनी

निर्जीवन बीमा कम्पनीहरूले आव २०८०/८१ को दोस्रोत्रैमाससम्ममा बैंक तथा वित्तिय संस्था मुद्धती निक्षेप सहित विभिन्न क्षेत्रमा ६३ अर्ब ६४ करोड रुपैयाँ लगानी गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ८० प्रतिशत लगानी गरेका छन्।

निर्जिवन बीमा कम्पनीहरुमध्ये क, ख र ग वर्गको बैंकको मुद्धती निक्षेपमा ४८ अर्ब २८ करोड रुपैयाँ रकम संञ्चि रहेको छ। निर्जिवन बीमा कम्पनीहरुले क वर्गको बैंक तथा वित्तिय संस्थामा ४ अर्ब ३४ करोड रुपैयाँ रकम संञ्चिती राखेको छ।
त्यस्तै, ख वर्गको बैंकमा १ अर्ब १० करोड रुपैयाँ र ग वर्गको बैंकमा ३ अर्ब ४७ करोड रुपैयाँ मुद्धती निक्षेपमा राखेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*