लघु निर्जीवन बीमा कम्पनीको लगानी करिब साढे १ अर्ब, कुन क्षेत्रमा कति ?

१३ फाल्गुन २०८०, आईतवार १७:४४

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघु निर्जीवन बीमा कम्पनीहरुले करिब साढे १ अर्ब लगानी गरेका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार ३ लघु निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा १ अर्ब ४१ करोड ७० लाख रुपैयाँ लगानी गरेका छन् ।

लघुबीमा कम्पनीहरू अहिले शुरुआती अवस्थामै भएकाले बिजनेश भइसकेको अवस्था छैन । बजारमा आफ्नो प्रभुत्व कायम राख्न कम्पनीहरुलाई केहि सकस नै परी रहेको छ । अहिले व्यवसाय र सेवा विस्तारमै केन्द्रित रहेका छन् ।

लघु निर्जीवन बीमा कम्पनीहरुले क वर्गको बैंकको मुद्दती निक्षेपमा ९४ करोड रुपैयाँ लगानी गरेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघु बीमा कम्पनीले ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ७० लाख रुपैयाँ लगानी गरेका छन् । यता, ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २५ लाख रुपैयाँ लगानी गरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख गरीएको छ ।

यस अवधिमा नेपाल माइक्रोले जम्मा ४७ करोड ४५ लाख, प्रोटेक्भि माइक्रोले ४७ करोड ३५ लाख र स्टार माइक्रोले ४६ करोड ९० लाख रुपैयाँ लगानी गरेका हुन् ।

निर्जीवन लघुबीमा कम्पनीले नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार वा नेपाल राष्ट्र बैंकको वचत पत्र वा ऋणपत्र बचतपत्रमा न्यूनतम २५ प्रतिशत, नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गको बैंक तथा वित्तिय संथाको अग्राधिकार सेयर (साधारण सेयरमा परिणत नहुने), बन्ड, डिबेन्चर र ऋणपत्रमा बढीमा ३० प्रतिशत लगानी गर्ने पाउँछन् ।

सूचीकृत पब्लिक लिमिटेड कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा बढीमा २० प्रतिशत, नागरिक लगानी कोष तथा म्युचुअल फण्डमा बढीमा ५ प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशत लगानी गर्ने पाउँछन् । तर, भर्खर आएका लघुबीमा बैंक तथा वित्तीय क्षेत्रमा मात्र लगानी गरी रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*