सर्वाेत्तम सिमेन्टको आईपीओ आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?

१३ फाल्गुन २०८०, आईतवार ०८:१७

काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडले आज (फागुन १३ गते) देखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाडँफाँड गरेपश्चात् अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

यस कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो । बुक बिल्डिङ विधिबाट निर्धारण भएको कम्पनीको शेयर प्रतिकित्ता ३६०.९० रुपैयाँ रहेको छ ।

लगानीकर्ताले यसमा फागुन १६ गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र सबै शेयर बिक्री नभएमा फागुन २७ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला रहनेछ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । यस शेयरमा न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । यसमा ५० कित्ता शेयरमा आवेदन दिनका लागि १८ हजार ४५ रुपैयाँ लाग्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको आईपीओलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ त्रिपल बी’ प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्ने मध्यस्तरको क्षमता रहेको संकेत गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*