बेलायत पठाइदिन्छु भनी ७६ लाख ठग्ने युवक पक्राउ
११ फाल्गुन २०८०, शुक्रबार १५:३३
काठमाडौं । बेलायत पठाइदिने भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङ्गको बडिगाड गाउँपालिका–९ घर भएका युद्ध बहादुर केसी उर्फ पाण्डप हुन् ।
३६ वर्षीय युद्ध बहादुरले ३ जनाबाट ७६ लाख ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रवीन्द्र रेग्मीले बताएका छन् ।
काठमाडौं महानगरपालिका–२८ स्थित बागबजार बस्ने युद्ध बहादुरले वैदेशिक रोजगारीमा बेलायत पठाउँछु र त्यहाँ पुगेपछि ‘केयर गिभर’मा १० लाख ५० हजार रुपैयाँ तलब आउने आश्वासन दिने गरेका बताइएको छ ।
प्रतिव्यक्ति २६ लाख लाग्छ भनेर ३ जनासँग ७६ लाख लिएपछि उनी सम्पर्कविहीन भएका थिए । आरोपीलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी रेग्मीले बताएका छन् ।