ललितपुरको ढोलाहिटीबाट अपहरण, ८ घण्टा बन्धक, २० करोडको कागजमा ल्याप्चे
काठमाडौं । एक जना युवा विदेश जाने मोहले काठमाडौमा बन्धक बन्नु परेको घटना सेलाउन नपाउँदै ललितपुरको ढोलाहिटीमा अर्को अपहरण तथा बन्धकको घटना बाहिर आएको छ ।
अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर अवैध नेटवर्किङ तथा क्रिप्टो करेन्सीको कारोबार गर्दै आएका तथा आफुलाई गैरआवासीय नेपाली (एनआरएनए) बताउने ज्ञानेन्द्र खड्काले आफुलाई गणेश लामा र सहदेव कक्षपतिलगायतको समूहले अपहरण गरी ८ घण्टा बन्धक बनाएको घटना सार्वजनिक गरेका हुन् ।
खड्काले कुनै समय प्रहरीको गुण्डा नाइके सूचीमा रहेका काभ्रेका गणेश लामा र उनका सहयोगी सहदेव कक्षपतिले ललितपुरको ढोलाहिटी आदर्स टोलबाट आफुलाई अपहरण गरेर ८ घण्टा बन्धक बनाई सानेपास्थित लण्डन हाउस होटलमा धम्कीपूर्ण रुपमा २० करोड फिरौंती मागेको भन्दै विज्ञप्ति निकालेका छन् ।
लामाको समूहले करकापमा २० करोडको कागजमा ल्याप्चे लगाउन लगाएको समेत उनले उल्लेख गरेका छन् । तर, उनले लामाको गिरोह कै सहयोगमा नेपालबाट अवैध नेटवर्किङ तथा क्रिप्टो विट्क्वाइनको कारोबार गरिरहेको रहस्य खुलेको छ ।
उनले नेपालमा एक्सेलट्रिपको प्रवद्र्धन गर्दै आएका छन् । एक्सेलट्रिपले विट्क्वाइन अर्थात् क्रिप्टोमा कारोबार गर्दै आएको छ । नेपालमा नेटवर्किङ धन्दा कानून विपरीत मानिन्छ । ‘एक्सेल पे’वालेटको आवरणमा उनले नेपालमा अवैध नेटवर्किङ धन्दालाई प्रवद्र्धन गरिरहेका छन् भने क्रिप्टो कारोबार गरिरहेका छन् ।
उनको वक्तव्य आफैंमा विरोधाभाषपूर्ण छ । विज्ञप्तिमा उनले, ‘मेरो गाडी छेकी मास्क र टोपी लगाएर मलाई त्यहाँबाट अपहरण गरी सानेपास्थित लण्डन हाउस होटलको रुममा लगेर ८ घण्टा बन्धक राती त सँग २०० देखि ३०० करोड पैसा उठाउनु छ, हामीसँग सीआईबी सब मिलेको छ सम्म भनेर धम्की दिएर तर्साइ तसँग क्रिप्टो विट्क्वाइन छ भनेर मेरो मोबाइल ल्यापटप हेरेर पनि कहीँ केही नभेटिसकेपछि जबर्जस्ती करकापमा २० करोडको कागज गराइएको हो’ भनेका छन् ।
उनले आफुलाई योजनावद्ध रुपमा अपहरण गरिएको भने पनि आफुलाई ज्यानको सुरक्षा महत्वपूर्ण भएकाले समयमा यो कुरा सार्वजनिक नगरिएको भनी दोहोरो कुरा गरेका छन् । लामा समूह निकटस्थका अनुसार यो आफु भाग्न वा लुक्न रचिएको नाटक मात्रै हो ।