आगामी वर्ष साढे १२ खर्ब कर उठाइने, आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत
काठमाडौं । आगामी आर्थिक वर्ष साढे १२ खर्ब कर उठाउने लक्ष्य राखिएको छ । राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गर्दा १२ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको कर उठाउने अनुमान गरीएको हो ।
सरकारले चालु आवको बजेटका लागि १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ बराबरको आन्तरिक कर उठ्नेगरी स्रोत देखाएको थियो । चालु आवको सुरुवाती लक्ष्यभन्दा आगामी आवको कर संकलनको अनुमान करिब तीन अर्ब रुपैयाँले कम हो ।
त्यस्तै, राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारण गर्दा समितिले आगामी तीन आर्थिक वर्षको आर्थिक वृद्धिदरको पनि अनुमान गरेको छ । आव २०८२।०८३ मा साढे ६ प्रतिशत तथा आव २०८३।०८४ मा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।
समितिले आव २०८२।०८३ का लागि २१ खर्ब तथा आव २०८३।०८४ का लागि २४ खर्ब ५५ अर्ब रुपैयाँ बरारबको खर्च सीमा निर्धारण गरेको छ । आव २०८२।०८३ को २१ खर्बको बजेटका लागि १४ खर्ब ५३ अर्ब आन्तरिक राजस्व, तीन खर्ब १२ अर्ब वैदेशिक सहायता र तीन खर्ब ३५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने अनुमान गरेको छ ।
आव २०८३।०८४ का लागि २४ खर्ब ५५ अर्बको बजेट ल्याउँदा १७ खर्ब तीन अर्ब आन्तरिक राजस्व उठाउने, तीन खर्ब ७४ अर्ब वैदेशिक सहायता लिने र तीन खर्ब ७७ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने लक्ष्य राखिएको छ ।
सरकारले चालु आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । बजेटको अर्धवार्षिक समीक्षाद्धारा स्रोत तथा खर्चको अनुमान संशोधन गर्दै १५ खर्ब ३० अर्ब २६ करोड रुपैयाँ कायम गरिएको थियो । गत जेठमा बजेट ल्याउदा तय गरिएको आम्दानी तथा खर्चको प्रक्षेपण माघ मसान्तसम्ममा करिब सवा दुई खर्ब रुपैयाँले आकार घटेको छ । अर्धवार्षिक समीक्षालगत्तै तयार पारिएको बजेट सिलिङ १८ खर्ब रुपैयाँको छ ।
आगामी आवमा दुई खर्ब ६० अर्ब रुपैयाँबराबरको वैदेशिक सहायता लिने लक्ष्य राखिएको छ भने आन्तरिक ऋणको सीमा दुई खर्ब ९५ अर्ब रुपैयाँ निर्धारण गरिएको छ । चालु आवको बजेटमा दुई खर्ब ४० अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने भनिएको छ ।
आगामी तीन वर्षमा मुद्रास्फीति समान साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने अनुमान गरिएको छ । त्यस्तै, आगामी आवमा कर वृद्धिदर १६.४, आव २०८२।०८३ मा १६.८ र आव २०८३।०८४ मा १७.३ प्रतिशतको लक्ष्य तोकिएको छ ।