ठमेलमा छमबहादुरलाई मार्न खोज्ने ‘गुण्डा नाइके’ सानुभाइ समूहका दुई जना धरौटीमा छुटे
काठमाडौं । प्रहरीले गुण्डा नाइके सूचीमा राखेका युवराज गुरुङ उर्फ सानुभाइ गिरोहका दुई जना धरौटीमा छुटेका छन् । ज्यान मार्ने उद्योगमा पक्राउ परेर मुद्दा चलेका थाते तथा विश्व भनेर चिनिने बिसु तामाङ र मार्सल भनिने शैलेन्द्र तामाङ धरौटीमा छुटेका हुन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले उनीहरु दुबैसँगै धरौटी माग गरेको थियो । अदालतले तोकेको धरौटी बुझाएपछि उनीहरु दुबै जना रिहा भएको प्रहरी वृत्त दरबारमार्गका डीएसपी गोविन्द थापाले बताए ।
ठमलेस्थित छाया सेन्टरको प्लेब्वाई क्लबको पार्किङमा सानुभाइ समूहले एक युवामाथि आक्रमण गरेको थियो । घटनामा ७ जना संलग्न भएको भनिएपनि २ जना मात्रै पक्राउ परेका थिए । सानुभाइसहित पाँच जना फरार छन् ।
छाया सेन्टरको पार्किङ क्षेत्रमा सानुभाइ समेतको समूहले आक्रमण गरेको भन्दै छमबहादुर पुनले प्रहरी वृत्त दरबारमार्गमा उजुरी हालेका थिए । जाहेरी पश्चात् प्रहरी वृत्त दरबारमार्गले सानुभाइ समूहका बिसु तामाङलाई पक्राउ गरेको थियो । केही दिनपछि शैलेन्द्र तामाङ पनि पक्राउ परेका थिए ।
सानुभाइसहित नुवाकोटका कमल तामाङ, शेरलाल पौडेल, विनोद तामाङ र रघु तामाङ अहिलेसम्म फरार छन् । यी पाँच जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।
सीसीटीभीमा सानुभाइसमेत देखिएको आक्रमणमा छमबहादुरको हातको कान्छी औंला भाँचिएको थियो । दाहिने आँखामा चोट लागेको थियो । सानुभाइको समूहले धम्की दिँदै सीसी क्यामेरा कैद नगर्ने ठाउँमा लगेर फलामको नक, हेल्मेटले आक्रमण गरेको पीडितले बताएका थिए ।
सातै जना प्रतिवादीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दायर गरिएकामा पक्राउ परेकाहरु धरौटीमा छुटेका हुन् । ज्यान मार्ने उद्योगको कसुर गरेमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।