एनसेलका एजेन्टलाई दुरसञ्चार प्राधिकरणको अध्यक्ष बनाइयो, मन्त्री शर्माको भूमिका शंकास्पद, के होला एनसेलमाथिको कारवाही ?

७ फाल्गुन २०८०, सोमबार ०७:१३

काठमाडौं । हिजो बसेको मन्त्रिपरिषदको बैठकले नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा दाङका भुपेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तो निर्णयसँगै अब एनसेलमाथिको कारवाही फुकुवा हुने र शेयर खरिद बिक्रीको सेटिङ प्रक्रिया छिट्टै टुंगिने देखिएको छ । दुरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ती र एक्जियटाले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न एकैदिन निर्देशन दिएकोले पनि अब उक्त काण्डका दोषीहरुले उन्मुक्ति पाउने निश्चित देखिएको छ ।

हिजो बसेको मन्त्रिपरिषदको बैठकले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी छानविन प्रतिवेदन कारवाही गर्न सम्बन्धित निकाय (दुरसञ्चार प्रािधकरण) मा पठाउने निर्णय गरेकोले अब एनसेलमाथि झनै कारवाही नहुने निश्चित देखिएको छ । दुरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ती र एनसेल काण्डमा सञ्चार मन्त्री रेखा शर्माको भूमिका शंकास्पद देखिएको छ ।

मन्त्री शर्माले दुरसञ्चार प्राधिकरणमा एनसेलकै पूर्व सल्लाहकार भुपेन्द्र भण्डारीलाई नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्ष बनाएकी छिन् । भण्डारी हाल सञ्चार मन्त्री रेखा शर्माका सल्लाहकार छन् । आफ्नै सल्लाहकारलाई मन्त्री शर्माले नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा नियुक्ती गर्ने निर्णय मन्त्रिपरिषदबाट गराउन सफल भएकी छिन् ।

भण्डारी लामो समय बुरुण्डीस्थित स्मार्ट बुरुण्डी नामक कम्पनीमा काम गरेका थिए । भण्डारी काम गरेको बुरुण्डीको सो कम्पनी जुलाई २८, २०२२ बाट बन्द भइसकेको छ । चरम घोटाला भ्रष्टाचारको कारण १५ वर्षे अवधीको लाइसेन्सको म्याद सकिएपछि नविकरण गर्नै नसकी बन्द भएको थियो । हाल प्राधिकरणको अध्यक्षमा नियुक्त भएका भण्डारी सो कम्पनीमा सन् २००७ देखि २०१५ सम्म सिईओ भएर काम गरेका थिए । त्यसयता, उनी एक्जियटासँग विशेष सम्बन्ध बनाएर एनसेलको सल्लाहकार भएर काम गर्दै आएका थिए । एनसेलकै सल्लाहकार भइरकेका बेला शेयर खरिद बिक्री सम्बन्धी विवाद आएपछि उनी एनसेलको सल्लाहकार छोडेर सञ्चार मन्त्री रेखा शर्माको सल्लाहकार बन्न आएका थिए । भण्डारीलाई २०८० असार ५ गते बसेको मन्त्रिपरिषदको बैठकले सञ्चार मन्त्रीको सल्लाहकारमा नियुक्त गरेको थियो ।

उता, सरकारले हिजै एनसेल घोटाला सम्बन्धमा टंकमणि शर्माको संयोजकत्वमा गठित छानविन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न प्राधिकरणलाई जिम्मा दिने निर्णय गरेको छ । तर, दुरसञ्चार प्राधिकरणमा एनसेलकै एजेन्टलाई नियुक्त गरिएका कारण शर्मा आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन भन्दा पनि सेटिङ गर्ने काम हुने विश्वास गरिएको छ । एनसेलमा तत्कालिन गिरिजा प्रसाद कोइरालाको पालामा घटाइएको लाउडा काण्ड भन्दा ४८० गुणा ठूलो अर्बौ रुपैयाँ घोटाला काण्ड मच्चाइएको आरोप यसअघिदेखि नै लाग्दै आएको थियो । सो काण्डमा अब सञ्चार मन्त्री रेखा शर्मा पनि जोडिन पुगेकी छिन् भने एनसेलको सो घोटाला काण्ड छानविन हुने र दोषीमाथि कारवाही हुनेमा शंका उत्पन्न भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*