तीन जना मन्त्रीको जागिर धरापमा, संसदमै ‘रन्किए’ प्रधानमन्त्री प्रचण्ड

६ फाल्गुन २०८०, आईतवार १८:४०

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाबारे छानविन समितिले दिएको प्रतिवेदन अध्ययनपछि आवश्यक कारबाही प्रतिवद्धता जनाएसँगै तीन जना मन्त्रीको पद धरापमा परेको छ ।

प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन अध्ययन गरिसकेपछि आफुले तुरुन्त एक्सन लिने प्रतिवद्धता जनाएसँगै तीन जना मन्त्रीको पद धरापमा परेको हो । प्रधानमन्त्री प्रचण्डले सरकारले दश लाख दियो, त्यसपछि चुप लाग्यो भन्ने कुरा सही नभएको समेत बताए ।

प्रतिवेदन अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बालकुमारी घटनामा दोषी देखिएको ठहर भएको छ । प्रधानमन्त्रीले कारबाही अघि बढाए सबैभन्दा पहिले ज्वालाको जागिर जानेछ भने उनीसँगै असाध्य विवादमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको समेत जागिर जाने पक्का छ ।

प्रमुख प्रतिपक्ष एमालेसहित विपक्षीहरुले समेत यी तीन जना मन्त्रीको राजीनामा मागेका छन् । गएको पुस १३ गते ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी भएको घटनामा भौतिक मन्त्री ज्वाला दोषी देखिएकाले राजीनामा दिनुपर्ने माग गरे। स्वास्थ्यमन्त्री माथि अख्तियारले छानबिन गरेको भन्दै एमालेले उनको राजीनामा मागेको छ ।

सरकारका मन्त्री दोषी भनेर किटान गरेको ३० घन्टा बित्दा समेत पदमै बहाल रहनुले शंका उब्जाएको भन्दै एमाले सचेतक महेश बर्तौलाले प्रतिनिधि सभा मै आपत्ति जनाए ।

सांसद बर्तौलाले स्वास्थ्यमन्त्री बस्नेत पनि केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएकाले उनले पनि पदबाट राजीनामा दिनुपर्ने बताए ।

रामग्राम क्षेत्रमा निजी कम्पनी खडा गरेर ९९ वर्षका लागि लिजमा दिने प्रयत्न गरिएको भन्दै त्यसको जिम्मेवारी पर्यटनमन्त्री किराँतीले लिनुपर्ने र उनले पनि पदबाट राजीनामा दिनुपर्ने सांसद बर्तौलाको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*