बैकिङ कसुरसम्बन्धी विधेयकमा संशोधन दर्ता गर्ने समय खुला, अर्थमन्त्रीले भने-‘विधेयकलाई थप समृद्ध बनाउन सकिन्छ’
काठमाडौं । प्रतिनिधि सभामा प्रस्तुत बैकिङ कसुर तथा सजाय सम्बन्धी विधेयकमा संशोधन दर्ता गराउनका लागि समय खुला भएको छ ।
आइतबार प्रतिनिधि सभाले विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ । योसँगै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यले ७२ घण्टाभित्र विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न सक्ने जानकारी दिएका छन् ।
सांसदहरुले संशोधन प्रस्ताव दर्ता गरेपछि प्रतिनिधिसभा बैठकले यो विधेयकमाथि सदनमै छलफल गर्ने वा संसदीय विषयगत समितिमा दफावार छलफल चलाउने भनी निर्णय लिने बताइएको छ ।
अर्थ मन्त्रालयका अनुसार चेक अनादर सम्बन्धी विषयलाई सम्बोधन गर्न यो विधेयक ल्याइएको हो । १० लाख रुपैयाँ भन्दा बढी रकम बैंकमा जम्मा गर्दा स्रोत खोजी हुने भएकाले यो विधेयक सम्पत्ति शुद्धीकरणसँग समेत जोडिने भन्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले सबै दृष्टिकोणबाट हेरिनुपर्ने बताए ।
रास्वपा सांसद विराजभक्त श्रेष्ठले वित्तीय सुशासन मुलुककै प्राथमिकतामा पर्नुपर्ने बताए । बैकिङ कसुर भनेको चेक अनादर मात्रै हो भन्ने झैँ गरी विधेयक आएको भन्दै उनले थपे, ‘साँघुरो गरी विधेयक आएको छ । जटिल समस्याहरुको समस्या सम्बोधन गर्नेगरी आएको छैन । चेक बाउन्सको मात्रै कुरा गरेर वित्तीय सुशासन हुँदैन ।’
सांसदहरुले उठाएका विषयका जवाफ दिँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रविधिको विषय पनि विधेयकमा समेटिएको बताए । दफावार छलफलमा विधेयकलाई थप समृद्ध बनाउन सकिने अर्थमन्त्री महतको भनाइ छ ।