भीम उपाध्यायपछि मेलम्चीमा भ्रष्टाचार गर्ने अध्यागमन विभागका बहालवाला महानिर्देशक तामाङविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

६ फाल्गुन २०८०, आईतवार १७:५७

काठमाडौं । मेलम्ची खानेपानी परियोजनामा हुँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

अख्तियारले तीन जना पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गर्दा बहालवाला महानिर्देशकविरुद्ध समेत अभियोगपत्र दर्ता गरेको हो । अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले तामाङसँग ११ करोड ९ लाख १७ हजार ४ सय ५८ रुपैयाँ विगो मागदाबी गरेको छ । मेलम्ची खानेपानी विकास समितिको तत्कालीन बोर्ड सदस्यको रुपमा तामाङको संलग्नता देखिएको दाबी अभियोगपत्रमा छ ।

भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैयाँमा मेलम्चीको ठेक्का सम्झौता गर्दा कानुनले तोकेभन्दा बढी पेश्की मोबिलाइजेशन गरेको अख्तियारको दाबी छ । अख्तियारले पछिल्लो समय अवकाशपछि सामाजिक सञ्जालमा सक्रीय रहेका पूर्वसचिव भीम उपाध्यायविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले मेलम्ची खानेपनी विकास समितिको अध्यक्ष तथा नेपाल सरकारको विशिष्ट श्रेणीका सचिव पदमा रही उक्त भ्रष्टाचारमा संलग्न रहेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुनुपर्ने अभियोगपत्रमा उल्लेख छ ।

अख्तियारले मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष एवम् तत्कालीन सचिवहरू शर्मा, उपाध्याय र गजेन्द्रकुमार ठाकुरविरुद्ध आयोगले क्रमशः ६ करोड ९७ लाख ८३ हजार एक सय ७८ रुपैयाँ ९६ पैसा, चार करोड ११ लाख ३४ हजार दुई सय ७९ रुपैयाँ ९२ पैसा र ६० करोड ४९ लाख १९ हजार ८ सय ८४ रुपैयाँ ३१ पैसा विगोसहित मागदाबी गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*